आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

यसकारण स्वतन्त्र उम्मेदवारले पाए भोट

बिहीबार, १९ जेठ २०७९, १७ : २३
बिहीबार, १९ जेठ २०७९

 भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी केही स्वतन्त्र उम्मेद्वारहरुले सिंगो राष्ट्रिय राजनीतिमा सनसनी पैदा गरेका छन् । विशेषतः काठमाडौं र धरान लगायतका पालिकाहरुमा आएको अनपेक्षित परिणामले सवैको ध्यान खिचेको छ । यसरी अस्वभाविक परिणाम आउनुमा सवैले आ–आफ्नै दृष्टिकोण र बुझाइएको स्तर, सिमा र झुकाव बमोजिम टीका–टिप्पणी गरिरहेका छन् । अधिकांशको नजरमा यो पार्टी र नेताहरुप्रतिको असन्तुष्टी र वितृष्णाकै उपज हो भन्ने छ । कतिपयले उनीहरुको निरन्तर अभियान, आश्वासन, भिजन र प्रतिवद्धताहरु माथिको निरपेक्ष अधिविश्वासको मानक मानेका छन् । साथै मनोवल, साहस र लगावको मूल्याङ्कन ठानेका छन् । तर रुपमा यो देखिए पनि सारमा अन्य प्राथमिक कारणहरु जिम्मेवार रहेको देखिन्छ, यो लेख सोहीबारे केन्द्रीत रहेको छ ।

विचारधारा 
कुनै पनि खास समाजको दिशानिर्देशन निश्चित सिद्धान्त र विचारले गर्नै पर्दछ । मानव समाजलाई कहाँ पुर्याउने र कस्तो बनाउने भन्ने कुरा राजनैतिक विचार दर्शनको मूलभूत चरित्रमा निर्भर छ । यसकारण विचारधारात्मक पक्ष सर्वाधिक निर्णायक सवाल हो । तर विचारद्वारा सुसज्जित समाज कसैको बनीबनाउ चाहना र भावनाकै भरमा स्थापित हुँदैन । यसको लागि कठिन, कष्टसाध्य र वलिदानीपूर्ण लामो निरन्तर आन्दोलनको प्रक्रिया अङ्गीकार गर्नु पर्दछ । 
मानव समाजको सम्पूर्ण सत्ताहरु ऐतिहासिक भौतिकवादी प्रस्थापना अनुरुप विकास, विस्तार र सुदृढ हुँदै आएको जगजाहेरै छ । सवैको सैद्धान्तिक–वैचारिक, शारीरिक, वौद्धिक, प्राविधिक तथा सिर्जनशील क्षमता र प्रतिभाहरुको एकीकृत, केन्द्रीकृत र संगठित पहलबाट मात्र समाजको गतिशील चरित्रलाई भौतिकवादी ढंगले स्थापित गर्न सकिन्छ । मानव समाज विकासको सार्वभौम नियम नै यही हो ।

वस्तुतः पछिल्लो समय नेपाली समाजलाई कुन राजनैतिक दृष्टिकोणद्वारा निर्देशित गर्ने भन्ने वैचारिक स्पष्टता देखिदैन । समाजवादी, पुँजीवादी र पश्चगामी शक्तिहरु सबै एउटै कार्यदिशा बोकेर एकल संसदीय चुनावी मोर्चामा लागिरहेका छन् । यसले साधरण जनतामा कुन पार्टी असली रुपमा समाजवादी हो भन्नेमा गम्भीर विभ्रम पैदा गरिदिएको छ । किनकि सवैको चुनावी नारा एउटै छ । प्रतिवद्धता, भाषण र वक्तव्यवाजी उस्तै छ । यहाँसम्म कि पुँजीवादीहरुले मात्र होइन पश्चगामी शक्तिहरु पनि समाजवादको ढोंग गर्दै चुनावी दिग्भ्रम छरिरहेका छन् । उनीहरु पनि समाजवादी ट्याग भिरेर चुनावी अभियानमा लागेको देख्दा संसारको आठौं आश्चर्यको अनुभूति गराइरहेको छ । जनतालाई यो वास्तविकता थाहा छैन कि कुन पार्टीको आधारभूत सिद्धान्त समाजवाद हो र कुन कुन पार्टीले केवल चुनावमा भोट व्ल्याकमेलिङ गर्न मात्र उक्त लोकप्रिय नारा उछाली रहेको छ ।

यस्तो वस्तुगत अर्थ–राजनैतिक धरातलमा सम्पूर्ण राजनैतिक पार्टीहरु नितान्त औसत कर्मकाण्डी मात्र हुन्छन् । उनीहरु वैचारिक आधारले पनि उस्तै जस्तो देखिन्छ । उनीहरु जसरी पनि चुनाव जित्ने एकल स्वार्थको गोलचक्करमा घुमिरहेका हुन्छन् । सवै पार्टीहरुले उस्तै प्रतिवद्धता र नाराहरु लिएर आइरहँदा जनतामा ठिक यही पार्टी नै सही हो भन्ने वैचारिक स्पष्टता हुँदैन । सवै पार्टीहरुको एउटै शैली, भाव, भजनजन्य नारा र प्रतिवद्धता सुन्दा–सुन्दा वाक्क–दिक्क भएका छन् । उनीहरु कुनै निश्चित राजनैतिक विचार र उद्देश्यद्वारा निर्देशित, प्रशिक्षित र नियन्त्रित छैनन् । उनीहरुलाई केवल औसत स्वार्थजन्य माहौल र रुपवादी सौन्दर्य मात्र पढाइएको छ । विचारधारात्मक आयाम अस्पष्ट र रक्षात्मक हुँदा उनीहरु सामान्य मुद्धा र भावनामा तरङ्गित हुँदै नराम्ररी भड्किन पुग्दछन् । यही आवेगात्मक भड्कावमा मतदाताहरुको गुनासो विसाउने चौतारी स्वतन्त्र उम्मेदवार वन्न पुगेको देखिन्छ । 

एजेण्डा
नेपाली राष्ट्रिय राजनीतिमा गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक र धर्मनिरपेक्षता लगायतका तमाम अग्रगामी एजेण्डाहरु स्थापित भएको छ । यसको खातिर उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गहरुले लामो संघर्षको प्रक्रिया गुजार्नु परेको जीवन्त इतिहास कसैमा छिपेको छैन । वहुसंख्यक जनता प्राप्त एजेण्डागत उपलव्धिहरुको जगमा टेकेर निरन्तर अघि वढ्ने सिलसिलामा अझ उन्नत समाज निर्माण गर्न सकिन्छ भन्नेमा पूर्ण आशावादी छन् । निरन्तर आन्दोलनको लामो प्रक्रियाबाट समाजवादमा पुग्न सकिन्छ भन्नेमा विश्वस्त छन् । 

आन्दोलनको कष्टसाध्य प्रक्रियाबाट प्राप्त तमाम् राजनैतिक एजेण्डाहरु नयाँ संविधानमा निर्दिष्ट गरी राज्यसत्ताको सवै शाखा अन्तरगत अभ्यासमा पनि रहेको छ । तर यस्ता एजेण्डाहरुप्रति सबै राजनैतिक पार्टीको समान धारणा थिएन र छैन । लतारिएर र घिसारिएर दवावमुलक वाध्यतामा स्वीकार्नु एउटा कुरा हो । चुनावमा जनअभिमत पाइँदैन भनेर स्वार्थजन्य त्रासमा सहमत हुने पार्टी र जन्मजातै त्यही एजेण्डाको लागि लड्ने पार्टीहरुबिच एजेण्डा कार्यान्वयन गर्ने सन्दर्भमा समान दृष्टिकोण, जिम्मेवारीवोध, ईच्छाशक्ति, गाम्भीर्यता र ईमान्दारिता हुँदैन । तब एजेण्डाहरु वेवारिसे वन्दछन् ।

वस्तुतः यस्ता एजेण्डाहरुको वस्तुवादी कार्यान्वयनको लागि जसको एजेण्डा उसैको नेतृत्व वा सरकार हुनु अनिवार्य हुन्छ । तर अहिलेसम्म त्यो अवसर प्राप्त भएको छैन । यसो भएपछि एजेण्डाहरुको इमान्दारीका साथ व्यवहारिक र वस्तुवादी कार्यान्वयन हुँदैन । यसरी कार्यान्वयन पक्ष कमजोर भएसँगै एजेण्डाहरु भद्रगोल भएसँगै यसप्रतिको मोह भङ्ग हुँदै जान्छ । अर्थात् जनतासँग जोडिने रसायनहरु कमजोर हुँदै जान्छ । मोह तोडिनु भनेको जनताका अग्रगामी र उन्नत राजनैतिक चाहना र आकाङ्क्षा पराजित हुनु हो । न्याय र समानता सहितको उन्नत समाज निर्णाण गर्ने मर्म र भावनाहरु कुण्ठित हुनु हो । तव एजेण्डाकै राप, ताप, चाप वा स्कुलिङमा हुर्किएका जनतामा एक खालको निराशावादी मनोविज्ञानले घर गर्दछ । अर्थात् एजेण्डा ल्याएर पनि केही परिवर्तन भएन भन्ने आम नकारात्मक भाष्य बन्छ वा बनाइन्छ । एजेण्डामै विश्वास गर्ने जनमत पनि वितृष्णाको भावनामा छचल्किन, पोखिन र बहकिन थाल्छ । तब उनीहरुको वैकल्पिक छनौटमा स्वतन्त्र उम्मेदवारहरु पर्दछन् । 

उत्तरआधुनिक सँस्कृति
आजको विश्व–अर्थराजनीतिमा उत्तरआधुनिकतावादी सँस्कृति हावी भइरहेको देखिन्छ । यो पुँजीवादी आधुनिकताको उत्कर्षमा पैदा भएको साँस्कृतिक दर्शन हो । यसले आजसम्मको इतिहास, दर्शन, राजनीति, अर्थतन्त्र, सँस्कृृति, धर्म र मूल्यमान्यताहरुको अन्त्य मात्र देख्दछ । तल्लो जगमा टेकेर माथि चढ्ने द्वन्द्वात्मक नियमलाई इन्कार गर्दछ, अनि केवल निषेध र विनिर्माणको वकालत गर्दछ । आधुनिक सँस्कृति सैद्धान्तिक, वस्तुवादी र विश्लेषणात्मक हुन्छ भने उत्तरआधुनिक सँस्कृतिले आत्मगत पक्षको मात्र वकालत गर्दछ । यसमा तार्किकता, वस्तुनिष्ठता र सार्वभौमिक सत्यलाई इन्कार गरिन्छ । विज्ञान र प्रविधिलाई मानव विकासको चालक तत्व मानिदैन । साथै कारण र तर्कलाई स्वीकारिदैन । समग्रलाई नजरअन्दाज गर्दै अंशमा समाधान खोजिन्छ । अघिल्लोलाई निषेध गर्दै निरपेक्ष नयाँ, कलात्मक र फेशनेवल सौन्दर्यको पक्षपोषण गरिन्छ । अर्थात् परिपक्व, शालीन र गम्भीर भन्दा नयाँ गेटअप, हाउभाउ र माहौललाई रुचाइन्छ । 

मूलतः सचेत विचारभन्दा भावना, दीर्घकालिकभन्दा क्षणिक अनि समग्रभन्दा अंशजन्य गतिविधिमा रमाउने गरिन्छ । सिर्जनशील विवेकभन्दा लम्पट उपभोगवादी मनोविज्ञानले सिंगो सामाजिक सत्तामा नियन्त्रण कायम गर्दछ । तुलनात्मक रुपमा युवा पिढीमा उत्तरआधुनिक साँस्कृतिक सौन्दर्य निकै वढी देखिन्छ । यसमा दर्शन, विचार, विज्ञान, राजनीति र ईतिहास जस्ता पहलुबारे अध्ययन गर्ने पाठ्यक्रम नै हुँदैन । उनीहरु गैर–राजनीतिक उपभोगवादी स्वच्छन्द रङ्गीन संसारमा देखे जति र चाहे जति उपभोग गर्दै रमाउन लालायित हुन्छन् । तब समग्र राजनीतिलाई नजरअन्दाज गर्दै रातारात अंशगत भावनामा सफलता देख्ने निरपेक्ष आत्मरतिगत भाष्य वन्दछ । सार भन्दा रुप अनि विचार भन्दा भावनामा सलल वगेर गन्तव्यमा पुग्ने कल्पना गरिन्छ । तव वस्तुवादी आधार विना नै कमलो भावना, व्यग्र चाहना अनि उपभोगवादी वासनाका प्यासी युवा मनहरुमा स्वतन्त्र उम्मेदवारहरुको स्वादिलो नारा, गेटअप र हाउभाउ रोजाईमा पर्दछ ।

असन्तुष्टि
स्वतन्त्र उम्मेदवार विजयी हुनुमा विभिन्न पार्टी, नेता र कार्यकर्ताहरुप्रति वढ्दो असन्तुष्टि र वितृष्णा जिम्मेवार रहेको छ । चुनावको वेला सबै पार्टी र उम्मेदवारहरुले अवस्तुवादी, असंभव र अव्यवहारिक प्रतिवद्धताहरु जाहेर गर्दछन् । यो गर्छु, त्यो गर्छु । अनि यो दिन्छु र त्यो दिन्छु जस्ता अनगिन्ती मनगढन्ते र उडन्ते सपना बाँडिन्छ । चुनाव जित्ने निहीत स्वार्थमा सारै सस्तो, सजिलो र गुलियो वाचा कसम खाइन्छ । तर व्यवहारतः उनीहरुले भने जसरी काम हँदैन । तब त्यही सस्तो वाचाहरू नै गलपासो बन्न पुग्दछ । यस अतिरिक्त पार्टी तथा नेताहरु भ्रष्ट र आपराधिक मनोवृत्तमा लिप्त हुँदै जानु अनि उनीहरुमा जनमैत्री जीवनशैली, कार्यशैली, सोंच र औसत उठवस नहुनु आदि कारणले गर्दा आज उनीहरु विरुद्ध तीव्र असन्तुष्टि, वितृष्णा र निराशा बढिरहेको छ । यही यथार्थ पृष्ठभूमिमा मतदाताहरुले स्वतन्त्र उम्मेदवारहरुलाई असन्तुष्टिको भारी अड्याउने टेकोको रुपमा स्वीकार्न वाध्य भएको देखिन्छ । 

उम्मेदवार चयन
     कतिपय पार्टीहरुले वस्तुगत धरातलमा नटेकी मनोगत रुपमा उम्मेदवार छनौट गर्दा धेरै मतदाताहरू विचलित भएको देखिन्छ । पछिल्लो समय नेतालाई स्वार्थजन्य दुष्प्रभावमा पारेर जस्केलाबाट टिकट लिने क्रम निकै बढेको छ । नेतृत्व र विभिन्न स्वार्थ समूहहरूको यस्तो हर्कतदेखि जनता पनि रुष्ट छन् । अर्थात्, लोकप्रिय नेतालाई टिकट नदिनु, जातीय अनि क्षेत्रीय सन्तुलन मिलाउन नसक्नु अनि पार्टीभित्र जनवादी अभ्यास नहुँदा पार्टीकै संगठित मतदाताहरु स्वतन्त्र उम्मेदवार रोज्न वाध्य भएको देखिन्छ । 
मेयरमा स्वतन्त्र उम्मेदवारलाई अनि अन्य पदमा भने आफ्नै पार्टीका उम्मेदवारलाई मतदान गरेको भोटिङ प्याट्रनलाई नियाल्दा पनि पकेट भोट नराम्ररी भड्किएको देखिन्छ । त्यसैले आफूले चाहेको उम्मेदवार चयन नहुँदा बदलास्वरुप संगठित मतदाताहरु स्वतन्त्र उम्मेदवारलाई जिताएको प्रष्टै देखिन्छ ।  

अन्तरघात
वस्तुतः हाम्रो समग्र अर्थराजनीति स्वार्थद्वारा निर्देशित रहेको छ । यस्तो समाजमा सम्पूर्ण सामाजिक सत्ताहरु आ–आफ्नै स्वार्थमा परिचालित हुने गर्दछन् । यो शास्वत नियम हो । सिंगो समाज विभिन्न स्वार्थ समूहहरुमा विभाजित हुन्छ । त्यसको असर राजनैतिक दलमा पनि स्वतः पर्दछ । यसमा पनि गुटगत स्वार्थ उत्कर्षमा पुग्दछ । उनीहरुबीच विचार राजनीतिमा नभएर स्वार्थ वा अवसरमा अन्तरविरोध पैदा हुन्छ । यता चुनावमा टिकट बाँड्ने सन्दर्भमा झनै गुटगत झगडा तीव्र हुन्छ ।  एउटा स्वार्थ समूहले अर्को स्वार्थ समूहको उम्मेदवारलाई पूर्ण सहयोग गर्दैनन् । तब उनीहरु गुटगत आवेगसँगै पार्टीको आधिकारिक उम्मेदवारलाई छाडेर  स्वतन्त्रलाई जिताउने दोस्रो बाटो रोज्दछन् ।

गठबन्धन
पछिल्लो समय राजनीतिमा चुनावी र सरकारी गठबन्धन सँस्कृति बढिरहेको छ । कहिले एउटासँग कहिले अर्कोसँग गठवन्धन गर्दा आम दलीय मतदाताहरु आजित मात्र छैनन्, अन्यौलमा पनि परिरहेका छन् । आप्mनो दलीय चुनाव चिन्हमा मतदान गर्दै आएको मतदाताको लागि अमूक दलको चुनाव चिन्हमा मतदान गर्नु पक्कै पनि सहज हुँदैन । यो राजनैतिक वाध्यता र आवश्यक्ता वुभ्mनेहरुको लागि सामान्य भएपनि साधारण मतदाताहरुलाई असहज नै हुन्छ । तब उनीहरुको लागि पार्टी इतर चिन्हमा मतदान गर्नु भन्दा एकाएक चर्चामा आइरहेको स्वतन्त्र उम्मेदवारहरु रोजाईमा परेको देखिन्छ । 

निश्कर्ष
वस्तुतः स्वतन्त्र उम्मेदवार विजयी हुनुको कारण दलहरुप्रतिको असन्तुष्टि वा वितृष्णा मात्रै होइन । उनीहरुको चमत्कारिक क्षमता, नाटकीय आश्वासन र गुलियो प्रतिवद्धताकै कारण जस्तो पनि लाग्दैन । यसको पछाडि लुकेको मूलभूत कारण हाम्रो समाज सही सिद्धान्त र राजनीतिद्वारा निर्देशित नहुनु हो । समाजमा असरल्ल भएका एजेण्डाहरुको वस्तुवादी कार्यान्वयन नहुनु हो । अर्थात् समाजलाई एजेण्डाले नेतृत्व गर्न नसक्नु हो । अंश, भावना र उपभोगमा आधारित उत्तरआधुनिकतावादी सँस्कृति हावी हुनु हो, जसले समग्र राजनीतिलाई नजरअन्दाज गर्दै आंशिक भावना अन्तरगत नयाँ साजसज्जा र अनुहारहरूमा समाधान देख्ने गर्दछ । यस अतिरिक्त पार्टी प्रतिको वितृष्णा, गलत उम्मेदवार चयन गर्नु, अन्तर्घात हुनु अनि गठवन्धन सँस्कृतिको कारण स्वतन्त्र उम्मेदवारले सुनौलो अवसर पाएको देखिन्छ । यसले दलहरुलाई पनि राम्रो सबक सिकाएको छ ।  

तसर्थ, स्वतन्त्र उम्मेदवार वितृृष्णाको बह पोख्ने खाली पन्ना, असन्तुष्टिको भारी बिसाउने चौतारी अनि अवसर वा स्वार्थको प्यास मेटाउने साउने मूल मात्रै हो । यो वस्तुवादी र वैज्ञानिक हल होइन । किनकि अर्थराजनीतिक सत्ताको फर्मा एकातिर स्वतन्त्र उम्मेदवारको मनोगत भावना अर्कोतिर भएपछि समाधान होइन राजनीति झनै चक्रव्यूहमा फँस्दछ । मूलतः राजनीतिमा देखिएको समस्या राजनीतिबाट मात्रै समाधन गर्न सकिन्छ । विकृत र भ्रष्ट भए रुपान्तरण वा सच्चिएर हल यसैमा खोज्नुको विकल्प छैन । स्वतन्त्र उम्मेदवारहरुले मौकामा पुनः चुनाव जित्लान्, स्वाद पनि फेर्लान् । नयाँ अनुहारहरु आउलान् अनि पालो पनि पाउलान् । सनसनी चर्चा कमाउलान्, सार्वजनिक फिगर बनाउलान् । तर हामी समस्या भोगाइबाट उन्मुक्ति पाइहाल्ने बलियो आधार देखिदैन । सवैले यो वस्तुगत सच्चाइ बुझ्न जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराती
राजेन्द्र किराती
लेखकबाट थप