शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

टेकु अस्पतालमा सर्पदंशका बिरामी बढ्दै, सर्पको टोकाइबाट कसरी जोगिने ?

बिहीबार, १९ जेठ २०७९, १६ : २४
बिहीबार, १९ जेठ २०७९

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । अस्पतालका डा. श्रवणकुमार मण्डलका अनुसार  बर्खा लागेसँगै उक्त अस्पतालमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । बैशाख महिना यता अस्पतालमा प्रत्येक दिनजसो सर्पदंशका बिरामी आइरहेका छन् । कहिलेकाहिँ एकै दिन सात जनासम्म सर्पदंशका बिरामी उपचारका लागि अस्पताल पुगेको देखिन्छ ।

अस्पताल पुग्न ढिलाई नगरौं

डा. मण्डलका अनुसार सर्पदंशका बिरामी उपचारका लागि अस्पताल ढिलो पुग्ने गरेका छन् । यसले स्वास्थ्यमा जटिल समस्या आउनुका साथै ज्यानैसमेत जान सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । सर्पले टोकेपछि परम्परागत उपचार गरी घरमै बस्ने वा ढिला अस्पताल पुग्ने प्रवृत्ति कायम रहेको उनले बताए ।  डा. मण्डल भन्छन्, ‘समुदायमा अझै पनि सर्पले टोकिसकेपछि कुनै आयुर्वेदिक औषधि लगाएर बस्ने, गोवर लगाउने, टोकेको ठाउँ ब्लेडले काटेर घाउ बनाइ मासु फाल्नेहरु पनि छन् ।’

सर्पले टोकेपछि सुन्नमा आएको कुरामा विश्वास मानेर यी कार्य गर्दा स्वास्थ्यमा झन् गम्भीर खालको असर पर्न सक्ने उनले बताए । अझै पनि केही बिरामी सर्पले टोकिसकेपछि अस्पताल आइपुग्दा टोकेको ठाउँ भन्दा अलिकति माथि मज्जाले डोरी वा लुगाको सलले कसेर बाँधेर पुग्ने गरेको उनले बताए ।

डा. मण्डलका अनुसार पछिल्लो समय अस्पतालमा सर्पले टोकेको शंका लागेर उपचारका लागि पनि पुग्नेहरु छन् । सर्पले टोक्ने वित्तिकै तुरुन्तै अस्पताल पुग्नुपर्छ । सर्पले टोकिकेपछि जडिबुटीजन्य औषधि लगाएर बस्दा उपचारको लागि ढिला हुने उनको जिकिर छ ।

धैर्य राख्न जरुरी

सर्पले टोकेपछि मानिसहरु आत्तिदा झन बिरामी पर्ने चिकित्सकहरु बताउँछन् । सर्पले टोक्दैमा धेरै नआत्तिई थप उपचारका लागि अस्पताल पुग्न उनको सुझाव छ । डा. मण्डलका अनुसार सर्पको टोकाइ दुई थरीको हुन्छ । एक थरी टोकाइले रक्तसञ्चारमा नै असर पुर्याउँछ । अर्को थरि टोकाइ भनेको नशासँगै दिमागमा पनि असर पुर्याउने गर्छ ।

विषालु सर्पले टोकेको छ भने आधा घण्टादेखि एक घण्टामै रक्तसञ्चारलाई अवरुद्ध गराउँछ । साथै सर्पले तोकेको आधा, एक घण्टामा शरीरमा विभिन्न भागमा विमिरा आउने, नाक र गिजाबाट रगत बग्ने समस्या देखा पर्ने डा. मण्डल बताउँछन् । विषालु सर्पले टोक्दा क्रमशः आँखा देख्न छाड्ने, बिस्तारै एउटै मान्छेलाई दुई वटा देख्ने त्यसपछि दिमाग शुन्य हुँदै जाने उनको भनाइ छ । 

सर्पले टोक्यो भने आत्तिनु हुँदैन । टोक्ने सबै सर्प विषालु हुन्छन् भन्ने हुँदैन । विषालु सर्पले टोक्दा पनि धेरै विष छाड्छ भन्ने निश्चित नहुने डा. मण्डल बताउँछन् । यदि सर्पले टोकेमा  नआत्तिई टोकेको भागलाई नचलाई सिधै अस्पताल लैजानु पर्छ ।

सर्पको टोकाइबाट कसरी जोगिने ?

सर्पको टोकाइबाट जोगिन सर्प लुक्न सक्ने दुलोहरु घरभित्र र वरिपरि हुन दिनु हुन्न । सर्प लुक्न सक्ने दुलोमा हात नराख्ने, घर वरिपरि  नियमित सरसफाइ गर्ने, खेतबारीमा कम गर्दा लट्ठी लिएर हिँड्नु पर्छ । साथै जुत्ता, पञ्जा लगाएर खेतवारीको काम गर्ने, काट्नुपर्ने घाँस बाक्लो लामो भई झाडी भएमा पहिले लठ्ठीले झाडीमा हानी अनि मात्रै घाँस काट्नु पर्छ । त्यस्तै, सर्पबाट जोगिन राती सुत्ने खाटमा झुल टाँगेर सुत्नुपर्छ ।

गाउँघरमा मात्रै होइन, सहरमा समेत सर्प देख्ने वित्तिकै मार्न खोजेको देखिन्छ । सबै सर्प हानीकारक नहुने हुँदा सर्प देखेमा मार्ने काम गर्नु हुँदैन । आफूले मार्न खोज्दा सर्पले उल्टै डस्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप