बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

श्रीलङ्काका बढ्दै छ यौन धन्धा : एक श्रीलङ्काली कमान्डो जिगोलो बनेको कहानी

बिहीबार, १९ जेठ २०७९, १३ : २६
बिहीबार, १९ जेठ २०७९

यो कोलम्बो हो, राजधानी कोलम्बो... जताततै पुलिस । खाली सडक । हतियारधारी आँखाले आउँदै जाँदै गरेका  हरेक सवारीसाधनलाई शंकास्पद नजरले हेरिरहेका छन् ।

श्रीलङ्काको सुन्दर संसद भवनभन्दा चार किलोमिटर टाढा थालावाथुगोडा इलाकासम्मको छोटो यात्रा केही लामो नै भइरहेको थियो ।

खाली पेट्रोल पम्प । पैदल हिँडिरहेका उदास अनुहार । श्रीलङ्कामा जताततै अवस्था बिग्रँदै गएको संकेत देखिएको छ ।

श्रीलङ्कामा पेट्रोलको अभावका कारण सडकमा सवारी साधन कम चलेका छन् । ग्यास अभावका कारण जनताले दुई छाकको खाना बनाउन सक्ने स्थिति छैन र यी सबैको असर बेरोजगारीमा पनि परिरहेको छ ।  

राजधानी कोलम्बोमा मसँगै बस्ने चालक दिनमा एकपटक मात्रै खाना खान्थे । मैले उनलाई बारम्बार सँगै खाऔँ न भन्ने आग्रहलाई उनले प्रत्येक पल्ट अस्वीकार गर्दथे ।

मैले कर नै गरेर सोध्दा उनले भने, ‘देशको स्थिति बिग्रिएदेखि नै म एक छाक मात्रै खान्छु । अब त बारम्बार भोक लाग्न पनि छाडेको छ । ’

स्पाको आडमा यौन कार्य

म दुई दिनदेखि श्रीलङ्काको थलाइवादुगोडा क्षेत्रमा यी चालकसँग पछिल्लो दुईदेखि घुमिरहेको थिएँ । कोलम्बोको यो क्षेत्र स्पाको लागि प्रसिद्ध छ ।

यहाँ दर्जनौं स्पा छन् र यी स्पाको आडमा यौनकार्य चल्छ । यद्यपि,  श्रीलङ्कामा यौन कार्य गैरकानुनी छ । कुनै रेड लाइट एरिया तोकिएको छैन ।

यस क्षेत्रमा यति धेरै स्पा देखेर प्रश्न उठ्यो कि श्रीलङ्कामा सबै बन्द हुँदा यी स्पा कसरी चलिरहेका छन्  ? यहाँ उत्साह थियो । मान्छेहरुको आवतजावत बाक्लै थियो ।

दुई दिनको अनुसन्धानले मैले के थाहा पाएँ भने आर्थिक अवस्थाले मानिसलाई यौन व्यवसायमा लाग्न बाध्य पारेको छ । यसमा महिला–पुरुष दुबैको संलग्नता छ । पढाइको खर्च धान्न यो काममा लागेका युवायुवतीहरु धेरै छन् ।

खराब अवस्थाले नै यौन कर्मलाई बढाइदियो...

म एक यौनकर्मीको दृष्टिकोणबाट श्रीलङ्काको अवस्था बुझ्न चाहन्थेँ । करिब दुई दर्जन स्पामा धाएँ  । मधुरो प्रकाशमा ऐनाको पछाडि छोटो कपडा लगाएर बसेका सुन्दर केटीहरु र आफूलाई मनपरेको केटी छान्दै गरेका ग्राहक...

सुरुमा श्रीलङ्काको आर्थिक अवस्थाले स्पा व्यवसायमा कुनै असर नगरेको जस्तो लागे पनि दुई दिनको अनुसन्धानपछि आर्थिक अवस्थाले पहिलेको तुलनामा यौन व्यवसाय बढेको स्पष्ट भयो ।

पत्रकार भएर परिचय दिएपछि कोही बोल्न तयार भएनन् । स्पामा काम गर्ने एकजना पुरुष मुश्किलले तयार भए । नाम( शान र काम( गिगोलोको । उनैले भनेपछि यहाँ नाम परिवर्तन गरिएको छ ।

पैसा कमाउनका लागि जिगोलो बनेँ

शान श्रीलङ्काली सेनामा कमाण्डो थिए । सेनाको जागिर छोडेपछि उनी धेरै देशमा बसे । कोरोनाको बेला घर फर्किनु पर्यो । देशको बिग्रिएको अवस्थाले शानलाई यौन कार्यमा धकेल्यो । अरु देशमा गएर काम गर्नका लागि उनले पैसा जम्मा गरिरहेका छन् ।

तोकिएको समयमा भोलिपल्ट म स्पा जाँदा शान फ्रन्ट अफिस सम्हालिरहेका थिए । उनलाई हामीसँग कुरा गर्न डर लागिरहेको थियो तर श्रीलङ्काको अवस्था कस्तो छ भनेर मानिसहरुले थाहा पाउन् भन्ने पनि उनको चाहना थियो ।

कुरा सुरु गर्नुअघि उनले भने, ‘तिमी असाध्यै आँटिलो लाग्यो, केटी भएर पनि तिमी यहाँसम्म आयौ । सायद तिमीलाई थाहा छैन कि यो धन्धाको तार कहाँकहाँसम्म जोडिएको छ ।’

त्यसपछिको ४५ मिनेटसम्म शानसँग जे जति कुरा भयो, त्यसबाट मैले कोलम्बोको पश इलाकामा चलिरहेको यौनकर्मको धन्धा कहाँसम्म पुगेको छ भन्ने अलिकलि अनुमान गर्न सकेँ ।

सेनाको अनुशासन ३८ वर्षियको शानमा प्रष्ट देखिन्थ्यो । उनले अझै पनि कमाण्डोलाई आफ्नो शरीरबाट बाहिर निस्कन दिएका छैनन् । श्रीलङ्काको अवस्था बताउँदै कमाण्डोबाट गिगोलो बनेको कहानी अब उनकै शब्दमा

पैसा चाहिन्थ्यो, त्यसैले यो काम सहज लाग्यो...

‘केही महिनाअघि मात्रै यो व्यवसायमा आएको हुँ । श्रीलङ्कामा बस्न महँगो हुँदै गयो । मलाई पैसाको खाँचो थियो । यो सजिलो काम होइन । यो धेरै गाह्रो र असुरक्षित काम हो । यहाँ कहिले के हुन्छ, के कहिले हुन्छ ।

म श्रीलङ्काको सेनामा मध्यम श्रेणीमा थिएँ । कमान्डो पनि भएँ तर तलब खासै धेरै थिएन । बढी कमाउँदा ४५ हजार कमाउन सक्थेँ ।

त्यसपछि मैले जागिर छाडेँ र मध्यपूर्वमा गएँ । कोरोना फैलिँदा फर्किएँ । त्यतिबेलादेखि यहाँको स्थिति थप खराब हुँदै गयो ।

म तीन छोराछोरीा बुबा हुँ । मेरो परिवारलाई म के काम गर्छु भन्ने थाहा छैन । समाजमा मानिसले सम्मान गर्छन् तर परिवारलाई सम्मानजनक जीवन प्रदान गर्नका लागि त्यति धेरै पैसा कमाउन सकिनँ । परिवारको जिम्मेवारी सम्हाल्नका लागि मैले यो काम गर्नुपर्यो ।

अहिले सेनाको जागिरभन्दा यहाँ धेरै कमाउँछु । म आफ्नो परिवार चलाउन सक्षम छु र केही पैसा जोगाउने प्रयास पनि गरिरहेको छु ताकि म मध्यपूर्वमा फर्केर जागिर पाउन सकूँ ।

परिवारले स्वीकार गर्छ गर्दैन थाहा छैन

मलाई थाहा छ मेरो परिवारले यो काम बारे थाहा पाएमा मलाई स्वीकार्ने छैनन् । यो काम कहिलेसम्म गर्ने हो पनि थाहा छैन । सायद भोलि नै पो छोडनु पर्ने हो कि । तर अहिले मेरो अवस्था यस्तो छ कि म यो काम छोड्न सक्दिनँ ।

यो पेशामा आउनुमा कोरोना पनि ठूलो कारण हो । धेरै काम गर्न खोजेँ, तर सबै बन्द भए । जागिर गुम्यो । त्यसपछि यहाँको बिग्रिएको अवस्थाले जीवन झनै कष्टकर बन्यो । छोराछोरीलाई खुवाउन पनि गाह्रो भयो ।

मेरो अगाडि यस्तो स्थिति सिर्जना भयो कि म जे गरिरहेको छु, त्यो सही हो वा होइन । घरमा बच्चा भोको छन् भने सही–गलतको फरक छुट्याउन सकिँदैन । म यहाँ जिगोलो पनि हुँ र म्यानेजर पनि । यस्तोमा मैले आफ्ना केटीहरुको पनि ख्याल राख्नुपर्छ ।

यहाँ महिलाहरु खुशीको खोजीमा आउँछन्

यहाँ सबै प्रकारका मानिस आउँछन् । केटीहरूले पुरुषलाई जे गर्छन्, म महिलालाई त्यहि गर्छु । यहाँ महिलाहरु खुसीको खोजीमा आउँछन् । उनहिरुको देशको स्थितिमा चिन्तित छन्, पारिवारिक अवस्थाले पनि तनावमा छन् । केही महिलाले मसाज मात्रै गराउँछन् र धेरै नै कुरा गर्छन् । कसैलाई यौन सम्बन्ध स्थापित गर्न मन परिरहेको हुन्छ । केहीले विभिन्न तरिकाले आफूलाई खुसी पार्न चाहन्छन् ।

म जब उनीहरुसँग हुन्छ तब मेरो मनमा एउटै मात्रै कुरा खेलिरहेको हुन्छ कि यहाँ ‘ह्याप्पी एन्डिङ’ होस् वा उनीहरु यहाँबाट खुसी भएर जाउन् ।

यहाँ म भएठाउँ आउने धेरैजसो महिला प्रोफेशनल हुन्, उनीहरु काम गर्छन् । केही आफ्नो पारिवारिक झगडाका कारण तनावमा हुन्छन् । कोहीसँग आफ्नो मनको कुरा खोल्ने कोही हुँदैनन् ।

श्रीलङ्काको वर्तमान अवस्थाले सबैलाई चिन्तित बनाएको छ । मानिसहरु डिप्रेसनमा छन्, खुसी खोजिरहेका छन् । कहिलेकाहीँ धेरै मिहिनेत गरेर पनि खुशी पाउँदैनन् । त्यही खुशीको खोजीमा उनीहरु यहाँ आउँछन् ।

केही समयका लागि नै भएपनि जीवनमा रङ भर्दैछु...

राजधानी कोलम्बोमा टाढाबाट आएका मानिसहरू बसोबास गर्छन् । उनीहरुको परिवार टाढा हुन्छन् । दिनरात मिहिनेत गर्छन् तर सुख पाउँदैनन् । जीवनका सुन्दर रङ देख्दैनन् । केही समयको लागि मात्रै किन नहोस् म उनीहरुको जीवनमा रङ भरिरहेको छु ।

मकहाँ आउने अधिकांश महिला तनावमुक्त हुन चाहन्छन् । उनीहरुले मलाई ४५ मिनेटका लागि मलाई बुक गर्ने गर्छन् ।  यस अवधिमा, म उनीहरुको धेरै नै प्रशंसा गर्छु, किनकि मलाई थाहा छ कि उनीहरु आफ्नो जीवनको समस्याबाट मुक्त हुन यहाँ आएका हुन् ।

म उनीहरुलाई एन्जल, ब्युटीफुल, स्विटहार्ट भन्दा उनीहरुको अनुहारमा मुस्कान आउँछ । त्यसपछि उनीहरु लजाउँदै भन्छन्, ‘पहिला यस्तो कसैले पनि भनेका थिएनन् ।’

थुप्रै महिलाले मलाई उनीहरुको श्रीमान्ले उनीहरुको तारिफ नै नगर्ने बताउँछन्, उनीहरुमा रुची पनि नदेखाउने बताउँछन् । उनीहरुले मलाई यहाँ पाउने माया आफूले जीवनमा नपाइरहेको पनि बताउँछन् ।

प्रत्येक सेवाको रेट फरक

हामीसँग हाम्रा सेवाहरूको लागि फरक मूल्य निर्धारण गरेका छौँ । मसाजकै पनि भिन्न रेट छन्, यदि कोही सेक्स गर्न चाहन्छन् भने यसका लागि मूल्य फरक  छ । कसैलाई त्यो भन्दा पनि बढी चाहिन्छ, यसको पनि मूल्य भिन्न हुन्छ ।

हाम्रा प्याकेजहरू ३५ सयबाट  सुरु भएर ८ हजारसम्म पुग्छ । केही ग्राहकहरू यति खुसी हुन्छन् कि उनीहरूले यसमा पनि थपेर दिन्छन् ।

धेरै महिलाहरू पनि मसँग भावनात्मक सम्बन्ध पनि राख्न चाहन्छन् । मैले उनीहरुको जीवनको समस्यालाई बुझेर उनीहरुलाई समर्थन गरुन् भन्ने केहीको चाहना हुन्छ । यहाँको यो मधुरो

प्रकाशमा उनीहरु श्रीलङ्काको वर्तमान अवस्थालाई बिर्सन चाहन्छन् ।

मेरा थुप्रै नियमित ग्राहक छन् जो महिनामा दुईपटक सम्म आउने गर्छन् । उनीहरुले मसँग त्यस्तो कुरा पनि गर्छन् जुन उनीहरुले आफूसँग असाध्यै मिल्ने साथीहरुसँग पनि गर्न सकिरहेका हुँदैनन् ।

दुर्भाग्यवश, श्रीलङ्का यस्तो अवस्थामा फस्यो ...

श्रीलङ्कामा आजकाल सबैजना निराश छन् । मैले आफ्नो कामबाट उनीहरुको समस्यालाई अलिकति कम गरिरहेको छु जस्तो लाग्छ । म मेरो देशलाई धेरै माया गर्छु ।

श्रीलङ्का धेरै सुन्दर देश हो । यहाँ जताततै हरियाली मात्र छ । दुर्भाग्यवश, हामी यस्तो अवस्थामा फसेका छौँ ।

यदि यस्तो नभएको भए म यो काममा कहिल्यै आउने थिइनँ । मलाई थाहा छैन यो कामलाई मानिसहरूले कसरी हेर्छन्, तर म यसलाई अहिले सम्मानजनक तरिकाले हेर्छु किनभने मैले निराशामा फसेकाहरूलाई खुसी दिन्छु । यतिबेला श्रीलङ्काका निराश जनतालाई सबैभन्दा बढी खुसीको आवश्यकता छ ।

पुनम काैशल / दैनिक भास्करबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप