बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आयात घटाएर राजस्व वृद्धि गर्न सकिन्न :  ज्ञवाली

बिहीबार, १९ जेठ २०७९, १२ : ४७
बिहीबार, १९ जेठ २०७९

नेकपा(एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले आयात घटाएर राजस्वमा वृद्धि गर्न नसकिने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा आ.व. २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद ज्ञवालीले सरकारले आगामी आर्थिक वर्षमा आयात घटाएर राजस्व बढाउन नसक्ने बताए ।

राजस्वको ठुलो हिस्सा आयातमा निर्भर भएको हुनाले आयात घटाएर राजस्व बढाउन नसकिने उनले बताए । उनले सेनेटरी प्याड र विद्युतिय सवारी साधनको आयातमा ठुला व्यापारिक घरानालाई फाइदा हुनेगरी व्यवस्था गरेको उल्लेख गरे । सांसद ज्ञवालीले शिक्षामा अर्बौ रुपैयाँ देश बाहिर गएको भन्दै त्यसलाई रोक्ने कुनै पनि कार्यक्रम बजेटले ल्याउन नसकेको बताए ।

उनले भने– ‘एकातिर आयात घटाउँछु भन्नुहुन्छ, अर्कोतिर राजस्व बढाउँछु भन्नुहुन्छ । जबकी हाम्रो राजस्वको अत्याधिक ठुलो हिस्सा आयातमाथि निर्भर छ । कयौँ चिजहरू यस्तो छ, जहाँ निश्चित व्यापारिक घरानालाई फाइदा हुनेगरी ल्याउनुभएको देखिन्छ । सेनेटरी प्याडको, विद्युतीय सवारी साधनको बारेमा जेजस्ता कुराहरु आइरहेका छन् यसअघि नै रेकर्ड भइसकेको हुनाले म दोहोर्याउन चाहन्न । पूँजीगत खर्च घटाउनुभएको छ । करिब २१ प्रतिशत छ । २१ प्रतिशत पूँजीगत खर्च गरेर ८ प्रतिशत आर्थिक वृद्धि यसको लागि त नयाँ आडम स्मिथ खोज्नुपर्ने हो कि ? नयाँ मार्क्स खोज्नुपर्ने हो कि ? हाम्रो सोझो अर्थतन्त्रको हिसाबले त यो कुरा कहीँ हुन्छ जस्तो मलाई लाग्दैन । सेवामा समेत हाम्रो ठुलो पैसा बाहिरिएको छ । यो वर्ष मात्रै झण्डै ४४ अर्ब रुपैयाँ शिक्षामा हाम्रो बाहिरियो । त्यसलाई रोक्न खोइ हामीसँग कार्यक्रम ? त्यसको आधा मात्रै यहाँ देशभित्र शिक्षामा लगानी गर्ने हो भने हाम्रो सेवामा बाहिरिइरहेको पैसा त रोक्न सकिन्थ्यो । यस सम्बन्धी मैले कुनैपनि कार्यक्रमहरु देखिन ।’

सांसद ज्ञवालीले सरकारको क्रियाकलापले विदेशी लगानी भित्र्याउन नसकिने बताए । उनले विगतमा एमसीसीलाई गिजोलेजस्तै गरी अहिले बुढी गण्डकीलाई गिजोलिएको बताए । सरकारले विदेशी लगानीकर्तालाई विश्वासको सन्देश दिन नसकेको बताए ।

उनले भने– ‘विदेशी लगानी बढाउँछु भन्दै हुनुहुन्छ । तर तपाईंहरुको क्रियाकलापले विदेशी लगानीकर्तालाई त लगातार हतोत्साही गराइरहेको छ । हिजो गिजोल्नुसम्म गिजोलियो एमसीसी । कुरो त जहाँको त्यही छ तर एमसीसी पास गर्नुभयो । आज फेरि त्यसैगरी बुढी गण्डकी गिजोल्दै हुनुहुन्छ । यसले लगानीकर्तालाई बाह्य जगतलाई विश्वासको सन्देश दिँदैन । विश्वास भएन भने लगानी गर्दैन ।’ प्रस्तुत बजेटले अर्थतन्त्रको मूलभूत समस्यालाई समाधान गर्न नसक्ने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप