शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लेखराज नहुँदा हामी झन् बलियो भएका छौँ : खगराज भट्ट

‘देउवासँग लज्जास्पद रुपमा म हारेको छैन’
बिहीबार, १९ जेठ २०७९, १० : २७
बिहीबार, १९ जेठ २०७९

कुनैबेला सुदूरपश्चिम प्रदेशमा माओवादी भनेकै लेखराज भट्ट र लेखराज भनेकै माओवादीजस्तै थियो । एमाले र माओवादीबीच एकता भएर बनेको नेकपा सर्वोच्च अदालतको फैसलासँगै खारेज भएपछि लेखराज भट्ट एमालेतिर लागे । त्यसपछि माओवादीमा सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी लिएर खगराज भट्ट मैदानमा उत्रिए ।

२०७४ सालको चुनावमा माओवादीले सुदूरपश्चिमका १० स्थानीय तह जितेको थियो । तर खगराज नेतृत्वमा आएपछि सुदूरपश्चिममा माओवादीले १४ स्थानीय तह जितेको छ । लेखराज नेतृत्वमा हुनुभन्दा आफू नेतृत्वमा आएपछि पार्टी संगठन बलियो भएको खगराजको दाबी छ । स्थानीय चुनावमा सुदूरपश्चिमको परिणाम, चुनावी गठबन्धन र पार्टी संगठनका विषयमा खगराज भट्टसँग रातोपाटीकर्मी वीरेन्द्र ओलीले गरेको कुराकानीको सम्पादित अंशः
 
सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनमा माओवादीले ल्याएको नतिजालाई कसरी लिनु भएको छ ?

समग्रमा हेर्दा हिजोको भन्दा राम्रो भएको छ । हामी खुसी छौँ तर, हामीले जे जति अपेक्षा गरेका थियौँ, त्योभन्दा कम भएकाले धेरै उत्साहित भएका छैनौँ । हामीले २० देखि २५ स्थानीय तह जित्छौँ भन्ने अपेक्षा थियो । त्यसमा गठबन्धन धेरै ठाउँमा हुन सकेन । गठबन्धन भएका ठाउँमा इमानदारिता नहुँदा सोचेजस्तो नतिजा आएन ।

केही हाम्रा साथीहरूका गलत फिल्ड रिपोर्टिङले हामी जितिहाल्छौँ भन्ने भएपछि हामीलाई मनोगत बनायो । हामीले निर्वाचनको जसरी तयारी गर्न पाउनु पर्थ्यो, त्यसरी पार्टी कमिटीलाई व्यवस्थित गर्न नपाउँदै चुनावको सामना गर्नुपर्‍यो ।  त्यसो हुँदा ८/१० पालिका काँग्रेस–एमाले गठबन्धन भइदिएर हारेका छौँ ।

केन्द्रमा काँग्रेस, माओवादी सहितको गठबन्धन भनेको छ । फिल्डमा काँग्रेस र एमालेको गठबन्धन हुँदा हामीलाई घाटा भयो । कहीँ हाम्रै साथीहरूको अस्वस्थ प्रतिस्पर्धाले क्षति पुगेको छ । धेरै कारणले यस्तो परिणाम आयो । यसबाट हामीले धेरै ठुलो पाठ सिक्ने मौका पायौँ । यसअघि १० पालिका जितेका थियौँ तर अहिले १४ पालिका जितेका छौँ । त्यसलाई बढाएर गुणात्मक सुधार गर्दै जाने आधार बनेको छ ।
 
तपाईंले यसअघिको भन्दा बढी पालिका जित्यौँ भन्नुभयो तर, यो त गठबन्धन भएर जितेको हो नि, हैन ?
 
पहिलो कुरा सुदूरपश्चिममा धेरै ठाउँमा गठबन्धन भएन । दार्चुला, बझाङ, अछामको एक पालिकामा भयो । थोरै कैलालीमा भयो । बैतडीमा छिटफुट ठाउँमा भयो । त्यो बाहेक अन्त गठबन्धन भएन । अधिकांश जति पालिका जितेका छौँ, त्यो हामीले एकल रुपमा जितेका छौँ । जस्तै, बैतडीको मेलौली, डढेलधुराको आलीताल, अजयमेरु, कञ्चनपुरको बेलौरी हामीले एक्लै जित्या हो । अरु थुप्रै पालिका एक्लै जितेका छौँ । जहाँ हामीले हारेका छौँ, त्यहाँ धेरै सम्मानजक मतका साथ हारेका छौँ । गठबन्धन भएकै कारण माओवादी ठुलो पार्टी भयो भन्ने कुरा होइन । गठबन्धनका साइड इफेक्टहरू हामीले गम्भीर रुपमै भोगका छौँ ।
 
अपेक्षाकृत नतिजा नआउनुका कारणहरू के के हुन् ?

मैले अघि नै भनिसकेँ । एउटा कारण, गठबन्धनलाई ठिक ढंगले लग्न सक्नुपर्थ्यो, त्यसरी लग्न सकेनौँ । भोलि ‘नोमिनेसन’ छ, त्यसको बिहानसम्म यो पालिका र वडा हामीले लिने हो कि अर्कालाई छोड्ने भन्ने टुङ्गो लाग्न सकेको थिएन । त्यसले पनि समयमै निर्वाचनको वातावरण बनाउन सकेनौँ । दोस्रो कुरा, गठबन्धन हुँदै गर्दा कतिपय स्थानीय तह छोड्नु पर्ने अवस्था आयो । त्यस्तो अवस्थामा हाम्रा उम्मेदवारी छाडेकाले मिलाउन  सकिएन, कमी रह्यो ।

गठबन्धन दलहरूले एउटा समझदारी गरेका थियौँ– गठबन्धन दलहरूबीच मात्रै गठबन्धन गर्ने । यदि गठबन्धन हुन नसकेमा मित्रवत प्रतिस्पर्धा गर्ने तर गठबन्धन दलभन्दा बाहिर कसैले गठबन्धन नगर्ने निर्णय भयो । यस्तो सहमति भए पनि गठबन्धनकै दलहरूबाट हामीलाई धोका भयो र एमालेसँग काँग्रेसले तालमेल गर्न पुग्यो ।

हामीले जितेका पालिकामा हाम्रा जनप्रतिनिधि र जनताबीच राम्रो सम्बन्ध हुनुपर्ने हो तर, उनीहरूबीच अन्तरविरोध भएको आकलन गर्न सकेनौँ । त्यसले पनि हामीलाई घाटा भयो । कतिपय पालिकामा उम्मेदवार चयन गर्ने प्रक्रियामा ‘राईट म्यान, राईट प्लेस’ चयन गर्न सकेनौँ । यति हुँदाहुँदै पनि हिजोको भन्दा पालिका बढेको छ । भोट र जनमत बढेको छ । त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।
 
सुदूरपश्चिममा पार्टीले सोचेजति नतिजा ल्याउन नसक्नुमा गुटबन्दी पनि कारण हो भन्छन् नि ?

हरेक पार्टीमा गुटबन्दीका समस्या हुन्छन् । त्यो माओवादीमा मुख्य भएर आएको होइन ।
 
तपाईंले राम्रो नतिजा ल्यायौँ भनेर खुसी व्यक्त गर्नुभयो तर, जति गरे पनि सुदूरपश्चिममा माओवादी तेस्रो नै रहेछ त ?
 
पहिलो कुरा, हाम्रो लक्ष्य कति थियो भन्ने हो । हामीले हाम्रो लक्ष्यको आकलनबाट हेर्नुपर्छ । हामीले धेरै अपेक्षा राखेर गरेका थिएनौँ । हामीले २० देखि २५ पालिकाको अपेक्षा गरेका थियौँ त्यसमा १४ पालिका जितियो ।

मैले चुनाव अघि दिएको अन्तर्वार्ता हेर्नुभयो भने २० देखि २५ भन्दा बढी पालिका दाबी गरेकै थिएन । त्यो भन्दा हामीले पहिलो, दोस्रो र तेस्रो पार्टी हुन्छौँ भन्ने थिएन तर, हामीले अपेक्षा गरेकोभन्दा ८/१० पालिका कम आयो । हामी हिजोभन्दा माइनसमा छैनौँ । जसरी हामी मधेस प्रदेशमा माइनसमा गयौँ, अन्य प्रदेशमा पनि संख्या घट्यो । तपाईंले अंकका दृष्टिकोणले हेर्नुभयो भने सुदूरपश्चिममा ‘प्लस’मै छौँ । अपेक्षाको दृष्टिकोणले हेर्नुहुन्छ भने माइनसमा छौँ ।
 
सुदूरपश्चिममा लेखराज भट्ट एमालेमा प्रवेश गरेपछि खगराज भट्टले खाडल भर्न सक्दैनन् भन्ने थियो, त्यो खाडल भरियो कि यथावत छ ?
 
तपाईंले देख्नु भएको छ । हामीले हिजो भन्दा अहिले धेरै पालिका जितेका छौँ । हिजो १० पालिका जितेका थियौँ भने अहिले १४ पालिका जितियो । उपप्रमुख पनि धेरै जितेका छौँ । अरु वडा अध्यक्ष र सदस्य सबैलाई जोड्ने हो भने हिजोको भन्दा दोब्बर जितेका छौँ ।

हामीले अहिले नतिजा जुन गुणात्मक बनाउन खोजेका थियौँ, त्यसमा निर्वाचन सम्बन्धी रणनीति, कार्यनीति र योजना बनाउन काँचा रहेछौँ । दोस्रो, हामीले हिजो जितेका पालिकालाई अधिक विश्वास गर्‍यौँ । सत्तामा गएपछि जनसम्बन्ध कस्तो रह्यो भनेर आकलन गर्न सकेनौँ । यसले गर्दा पनि क्षति पुगेको छ ।

तुलना नै गर्नुहुन्छ भने लेखराजजीको कार्यकाल भन्दा हरेक क्षेत्रमा उत्कृष्ट अवस्थामा छौँ । कैलाली र कञ्चनपुरमा तुलनात्मक रुपमा कम जिते पनि पहाडी जिल्लामा धेरै जितेका छौँ । पहाडको तुलनामा कैलाली र कञ्चनपुरको नतिजा भने अनपेक्षित भयो ।
 
लेखराज नहुँदा माओवादी झन् बलियो छ भन्न खोज्नु भएको हो ?

अहिलेको जनमत, निर्वाचित जनप्रतिनिधि र पराजित उम्मेदवारको मत अन्तर हेर्नुहुन्छ भने कुनै शंकै छैन । हिजो भन्दा हामी बलियो छौँ र बलियो हुने क्रममा छौँ ।
 
त्यसो भए अब माओवादीमा लेखराजको अभाव खड्किँदैन ?

मलाई लाग्दैन कि माओवादीमा लिडरशिपदेखि तलसम्मको पार्टी पंक्तिले त्यो खालको अभाव महसुुस गरोस् । बरु लेखराजजीको गृह पालिका गोदावरी नगरपालिकामा उहाँकै भाइ एमालेबाट मेयरमा लड्नु भएको थियो, उहाँले हार्नुभयो । त्यही पालिकामा उपमेयर एमालेबाटै जित्नु भयो । एमाले अलोकप्रिय थियो भने उपमेयर कसरी जित्यो ? एमाले लोकप्रिय थियो भने प्रमुख कसरी हार्नुभयो ? उहाँको व्यक्तित्व उहाँकै नगरपालिबाट एक ढंगले मापन गर्न सकिन्छ । त्यसैले उहाँलाई भित्र्याएर एमालेमा के के नै पायौँ भन्ने थियो, त्यो मूल्याङ्कनमा एमालेका साथीहरू पुनर्विचार गर्ने ठाउँमा पुगेको देख्छु ।
 
तपाईंकै आलोचकहरूले खगराजले पहिलेभन्दा धेरै पालिका जिताए तर, आफै डडेलधुराबाट चुनाव जित्न सक्दैनन् भनिरहेका छन् नि ?
 
शेरबहादुर देउवासँगै चुनाव लडेर जित्ने कुरा सबैको अपेक्षाको कुरा हो कि होइन, तपाईंले नै अनुमान गर्न सक्नुहुन्छ । मैले जो पायो त्यहीसँग हार्दै गर्ने नै विम्ब र पहिचान भएको भन्ने भए तपाईंले भनेको कुरा ठिक हो । देशको पाँच पटक प्रधानमन्त्री भएको, पार्टी सभापति भएकासँग म पराजित भएको छु । अर्को कुरा, मेरो देउवासँग लज्जास्पद पराजय भएको छैन । देउवाजीले २८ हजार ल्याउँदा मैले २०/२२ हजार ल्याउने गरेको छु । त्यो २०६४ साल, ०७० साल र ०७४ साल गरी सबै चुनावमा हारको अन्तर हेर्न सक्नुहुन्छ । देउवासँग लज्जास्पद रुपमा म हारेको छैन । देउवासँग जो पहिला प्रतिस्पर्धा गर्नुहुन्थ्यो, त्यतिबेला धेरै ठुलो मत अन्तरले पराजित हुनुहुन्थ्यो । तुलात्मक रुपमा म देउवासँग थोरै मत अन्तरले पराजित हुने गरेको छु । म जित्न सक्छु कि सक्दिन भन्ने कुरा पालिकामा हेर्न सकिन्छ । तपाईंलाई थाहा छ । ७५३ पालिकामध्येमा मेरो गृह पालिका अजयमेरु एक नम्बर भयो । खगराज भट्टले त्योभन्दा बढी के गर्ने हो आफ्नो पालिकामा ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप