बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

चिनियाँ सेनाले ताइवान वरपर ‘युद्ध तयारी गस्ती’ को पूर्वाभ्यास गर्‍यो

बुधबार, १८ जेठ २०७९, २१ : ५९
बुधबार, १८ जेठ २०७९

चीनको सेनाले ताइवान वरपरको समुन्द्र र आकाशमा ‘युद्ध तयारी गस्ती’ पूर्वाभ्यास गरेको छ । चिनियाँ जनमुक्त सेनाको पूर्वी कमाण्डले जारी गरेको वक्तव्यमा सैन्य अभ्यास भर्खरै सञ्चालन भएको र ‘अमेरिका–ताइवानको साँठगाँठ’को परिपेक्षमा अभ्यासलाई ‘अत्यावश्यक कदम’ उल्लेख गरेको छ ।

‘हालैका दिनमा अमेरिकाले ताइवानको विषयलाई गिजोलिरहेको छ । उ एउटा कुरा भनिरहेको हुन्छ र काम गर्ने अर्कै गरिरहेको हुन्छ । उसका कामले ताइवान स्वतन्त्रता पक्षधर शक्तिलाई सघाइरहेको छ, जसले ताइवानको हित गर्दैन,’ चीनको सेनाको पूर्वी कमाण्डले बुधबार जारी गरेको वक्तव्यमा भनिएको छ । 

यही साता ताइवानले उसको हवाई प्रतिरक्षा पहिचान क्षेत्रमा जनवरी यताकै सबैभन्दा ठूलो चिनिया वायुयानको घुसपैठ भएको बताएको थियो । ​घुसपैठमा ३० जहाज संलग्न रहेको र अधिकांश लडाकु विमान रहेको उसले जानकारी गराएको थियो ।  

मुलभूमि चीनको तटबाट १६१ किमी टाढा रहेको ताइवानमा सन् १९४९ को गृहयुद्धमा कम्युनिष्टहरुसँग हारेपछि चिनियाँ राष्ट्रवादीहरू भागेर शासन गर्न थालेका थिए । त्यस यता टापुमा बेइजिङको शासन छैन । तथापि चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा मान्छ । 

ताइवानमा आधार बनाएपछि पनि राष्ट्रवादीले आफूलाई सम्पूर्ण चीनको वास्तविक शासक दाबी गरिरहे । सन् १९७१ सम्म संयुक्त राष्ट्र संघमा पनि ताइवानस्थित सरकारले चीनको प्रतिनिधित्व गर्थ्यो । तर सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले चीन भ्रमण गरेपछि अमेरिका लगायत अधिकांश मुलुकले बेइजिङस्थित सरकारलाई ‘चीन’को मान्यता दिन थालेका हुन् ।  

त्यसयता ताइवानसँगको अमेरिकी सम्बन्धलाई ‘ताइवान रिलेसन एक्ट’ ले निर्धारित गर्ने गरेको छ । एक्टले अमेरिकी नागरिक र ताइवानी नागरिकबीच घनिष्ठ तथा मैत्रीपूर्ण व्यापारिक, सांस्कृतिक र अन्य सम्बन्ध प्रवर्द्धन गर्ने बताएको छ । एकल चीन नीतिप्रति प्रतिबद्ध बताउने चीनले ताइवानलाई हालसम्म अलग मुलुकको मान्यता भने दिएको छैन ।

अल जजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप