बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कात्तिकमा संसदीय निर्वाचन गर्न सत्ता गठबन्धनमा छलफल

बुधबार, १८ जेठ २०७९, १६ : ३१
बुधबार, १८ जेठ २०७९

सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मितिबारे छलफल प्रवेश भएको छ । सोमबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कहिले गर्दा उपयुक्त हुन्छ ? भन्ने विषयले प्रवेश पाएको हो । त्यसक्रममा केही दलका नेताहरुले कात्तिक अन्तिम साता गर्दा उपयुक्त हुने भन्दै मिति प्रस्ताव गरेका थिए भने केहीले मंसिर अन्तिम सातामा गर्दा पनि हुने धारणा राखेका थिए । 

मैले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कात्तिक अन्तिम साता गर्दा उपयुक्त हुन्छ भन्ने धारणा राखेको हो । कतिपयले मंसिर अन्तिम साता गर्दा पनि हुन्छ भन्ने कुरा गरेका थिए’ गठबन्धनका एक नेताले रातोपाटीसँग भने, ‘मंसिरमा पुर्याउँदा हिमाली जिल्लामा जाडो बढ्छ र निर्वाचन गर्न कठिन हुन्छ ।’

ती नेताका अनुसार दलहरुबीच सहमति जुटाएर निर्वाचन आयोगसँगको परामर्शमा सरकारले मिति तोक्ने छ । ‘दलहरुबीच एकसरो छलफल भयो, अब निर्वाचन आयोगसँग पनि परामर्श गरेर मिति टुङ्गिन्छ’, उनले संविधानअनुसार मंसिरमा कार्यकाल सकिने भएपनि मंसिरमा मौसमका कारण बाधा पुग्ने भएकाले कात्तिक अन्तिम साता नै उपयुक्त हुनेमा लगभग दलहरुबीच एकमत रहेको बताए । उनले एक वा दुई चरणमा निर्वाचन गर्ने भन्नेमा दलहरुबीच ठोस निर्णय भइनसकेको बताए । ‘एकै चरणमा गर्ने भए कात्तिक महिनामै गर्नुपर्छ । दुई चरणमा गर्दा मंसिरमा पनि हुनसक्छ । तर एकै चरणमा गर्दा राम्रो हुन्छ’, उनले भने । 

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे एकसरो छलफल भएको पुष्टि गरे । ‘एकसरो छलफल भएको हो’, खनालले रातोपाटीसँग भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप