बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दुई सन्तानको जन्म तर जुम्ल्याहा होइनन् : ५ दिनमा दुईपटक गर्भवती भएकी थिइन् महिला

बुधबार, १८ जेठ २०७९, १५ : २२
बुधबार, १८ जेठ २०७९

एउटी आमाले तीनवटा गर्भपतनपछि एउटा चमत्कार महसुस गरिन् ।

३० वर्षकी कारा विनहोल्डले असाध्यै पीडादायी तीनवटा गर्भपतन सहिन् तर उनी पुनः गर्भवती भइन् । खुसीको सीमा रहेन । तर चमत्कार त्यतिबेला भयो जब उनी गर्भवती भएको एक हप्तापछि पुनः गर्भवती भइन् ।

उनको चमत्कारिक गर्भधारण एउटा निकै दुर्लभ घटना हो जसलाई सुपरफेटेशन भनिन्छ । सुपरफेटेशन त्यतिबेला हुन्छ जब गर्भावस्थाको सुरुवाती समयमा नै अर्को गर्भ बस्छ । यो पहिलो गर्भ बसेको केही दिन वा केही हप्ताको फरकमा बस्ने गर्दछ ।

‘मैले डाक्टरलाई ‘के भयो ?’ भनेर प्रश्न सोधेँ । मेरो अर्को बच्चा पहिलो पटक यूएसजी गर्दा थिएन, भएको चाहिँ के हो ? भनेर सोधेँ,’ विनहोल्डले साउथ वेस्ट न्युज सर्भिस (एसडब्ल्युएनएस) लाई भनिन् ।

न्युयोर्क पोस्टका अनुसार पूर्व शिक्षिकाले दोहोरो गर्भलाई ‘चमत्कार’ भनेकी थिइन् । सुरुमा उनले आफूले सम्भवतः दुईपटक ओभुलेसन गरेको जसका कारण दुईवटा अण्डा बनेको र यी दुई एक हप्ताको अन्तरालमा फर्टिलाइज भएको हुनसक्ने विश्वास गरेको एसडब्ल्युएनएसले बताएको छ ।

विनहोल्ड र उनका श्रीमान् ब्लेकले आफ्नो पहिलो सन्तान याटलाई सन् २०१८ मा जन्माएका थिए । पहिलो सन्तापछि उनीहरुलाई  आफ्नो परिवार थप बढाउन मन लाग्यो । तर काराले लगातार तीन गर्भपतन सहनु पर्यो ।

दोस्रो गर्भपतन थप भयानक भएको उनीहरु स्मरण गर्छन् । ‘मैले डाक्टरलाई फोन गरेर स्थिति सहज नभएको बताएँ । मेरा श्रीमान्ले म अस्पताल नै जानुपर्ने बताइरहेका थिए । म अस्पताल जाँदा मेरो रक्तचाप असाध्यै न्युन थियो,’ काराले एसडब्ल्युएनएसलाई भनेकी थिइन्, ‘त्यसपछि त म ब्ल्याक आउट नै भएँ । डाक्टरले मलाई मेरो बच्चा सर्भिक्समा अड्किएको बताए ।’

‘मेरो रक्तश्राव भइरहेको थियो, म यदि आधा घण्टामात्रै घरमा बसेको भएँ, म मरिसक्थेँ भनेर डाक्टरले भनेका थिए,’ उनले भनिन् ।

उनलाई दुईपटक रगत दिनुपर्यो, यस्तो भयानक अवस्थाबाट गुज्रिएपछि उनले थेरेपी नै गर्नुपर्यो ।

‘मलाई पुनः गर्भवती हुन डर लाग्थ्यो । तर मलाई थाहा थियो, मलाई अझै सन्तान चाहिएको छ,’ काराले भनिन् । ‘म निकै आशावादी थिएँ, कुनै दिन त हुन्छ भन्ने लाग्थ्यो । यो एक आमाको जीवनको यात्रा हो भन्ने पनि लाग्थ्यो । म हार मान्ने छैन भन्ने पनि लाग्थ्यो । थेरेपीले मलाई त्यो अवस्थाबाट बाहिर निस्कन निकै मद्दत गर्यो, जे भयो, त्यो मेरो गल्ती थिएन भन्ने लाग्थ्यो । यसका लागि धेरै समय लाग्थ्यो ।’

विनहोल्ड सन् २०२१ को फेब्रुअरीमा गर्भवती भइन्, त्यसपछि पुनः मार्चमा पनि भइन् । उनी र उनका पार्टनरलाई डाक्टरले उनीहरु एक होइन, दुई सन्तानको अभिभावक बन्न लागेको खबर दिए । काराले कोलसनलाई अक्टोबर २५, २०२१ मा बिहान ४ बजेलगत्तै जन्माइन् । त्यसपछि क्याडेनलाई ६ मिनेटपछि जन्माइन् ।

‘मलाई लाग्छ कि मैले गुमाएको दुई सन्तानलाई फिर्ता पाउने यो एउटा तरिका थियो,’ काराले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप