बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

साउथ एसिया फाउण्डेसनले जेलमा रहेका भारतीय फोटोग्राफरलाई कानुनी, प्रशासनिक र आर्थिक सहायता गर्ने

बुधबार, १८ जेठ २०७९, १३ : ५३
बुधबार, १८ जेठ २०७९

मुद्रासम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा रहेका भारतीय फोटोग्राफरलाई एक संस्थाले कानुनी, प्रशासनिक र आर्थिक सहायता गर्ने भएको छ । साउथ एसिया फाउण्डेसन नामक संस्थाले २४ वर्षीय फोटोग्राफर दुर्लभ रोय चौधरीका लागि कानुनी, प्रशासनिक र आर्थिक सहयोग गर्ने भएको हो । 

मंगलबार भारतीय फोटोग्राफर झापाको जेलमा रहेको समाचार रातोपाटीमा प्रकाशित भएलगत्तै साउथ एसिया फाउण्डेसनले दुर्लभको रिहाइका लागि आवश्वक सबै सहयोग गर्ने प्रतिवद्धता जनाएको हो । दक्षिण एसियामा मानवअधिकार र निम्न आय भएकाहरुको जीविकोपार्जनका लागि काम गरिरहेको संस्था साउथ एसिया फाउण्डेसनले दुर्लभको रिहाइका लागि सबै प्रकारको सहयोग गर्ने बताएको हो ।
फाउन्डेसनका महासचिव राहुल बरुवा रातोपाटीको कार्यालयमै आएर आफ्नो संस्थाले आवश्यक सबै सहायता गर्ने बताए । बरुवाले भने, ‘२४ वर्षीय फोटोग्राफर ७ महिनादेखि झापाको जेलमा रहेको कुरा रातोपाटी पढेर थाहा पाएँ, हामी उनको रिहाइका लागि कानुनी, प्रशासनिक र आर्थिक सहयोग गर्न तयार छौँ ।’

महासचिव बरुवाले २४ वर्षीय ब्लगर सामान्य मानवीय त्रुटीकै कारण जेलमा बस्नुपरेको भन्दै आपराधिक मनसाय नभएकाले उनको सफाइका लागि सहयोग गर्ने बताए । उनले भने, ‘भारतबाट आउनुपर्ने साक्षी नआएर बकपत्र नभएको पनि थाहा पायौँ, अर्को साक्षीले बकपत्रका लागि पैसा मागेको भन्ने रहेछ । हामी साक्षीलाई नेपाल ल्याउन आवश्यक प्रशासनिक तथा आर्थिक व्यवस्थापन गर्नेछौँ र उनलाई आवश्यक कानुनी सहायताका लागि काम गर्नेछौँ । साथै भारतबाटै पोलिस रिपोर्ट ल्याएर बुझाउने र निजले काम गरेको संस्थाको प्रमाणहरु ल्याउने काम गर्नेछौँ ।’

महासचिव बरुवाले २४ वर्षीय युवकलाई मनोसामाजिक परामर्शको समेत आवश्यक हुन सक्ने भन्दै त्यसका लागि पनि काम गर्ने बताए । आफू बिहीबार झापा पुगेर घटनाबारे थप बुझ्ने र भारतीय दूतावास, प्रधानमन्त्री कार्यालय र सीडीओ कार्यालयमा समेत कुरा गर्ने बताए । 

 

पर्यटन व्यवसायी पाण्डेले खर्च बेहोर्ने
त्यसैगरी पर्यटन व्यवसायी सुमन पाण्डेले ब्लगर दुर्लभको रिहाइका लागि आर्थिक सहयोग गर्ने भएका छन् । लामो समयदेखि पर्यटन व्यवसायमा रहेका पाण्डेले नेपालको पर्यटन विकासका लागि भिडियो ब्लग बनाउन आएका २४ वर्षीय ब्लगर जेलमा पुग्नु दुःखद रहेको भन्दै उनको रिहाइका लागि आवश्यक कार्य गर्न लाग्ने खर्च बेहोर्ने बताए । 

पाण्डेले भने, ‘पछिल्लो समय पर्यटन व्यवसायमा ब्लगरको भूमिका महत्वपूर्ण हुन्छ । कोरोनापछि बल्ल सुरु भएको पर्यटन व्यवसायमा यस्ता नकारात्मक समाचारले क्षति पुग्छ । कोही व्यक्ति नेपालको प्राकृतिक र सांस्कृतिक सौन्दर्य विश्वलाई देखाउन भिडियो ब्लग बनाउन आउँछ भने हामीले प्रोत्साहन गर्नुपर्छ । तर सानो मानवीय त्रुटी वा अन्जानमा भएको गल्तीलाई जघन्य अपराधमा परिणत गरिनु हुँदैन, त्यसका लागि विवेक प्रयोग गर्नुपर्ने हुन्छ । त्यसकारण मैले ती ब्लगरका लागि आवश्यक प्रशासनिक खर्च वा साक्षी झिकाउने लगायतका कामका लागि सहयोग गर्ने बताएको छु ।’

पाण्डेले अगाडि भने, ‘२४ वर्षीय ब्लगरको सम्बन्धमा रातोपाटीमा समाचार पढेपछि लाग्यो कि उनी परिस्थितिजन्य दुर्घटनामा परेका हुन् । परिस्थितिजन्य दुर्घटनाका कारण आइपरेको कानुनी जटिलतालाई अपराधीकरण गरिनुहुँदैन । विवेकपूर्ण न्याय प्राप्तिका लागि मैले आवश्यक सहयोग गर्छु ।’

भारतको कोलकाताबाट झापा हुँदै काठमाडौं आउने क्रममा भारतीय नागरिक २४ वर्षीय फोटोग्राफर दुर्लभ रोय चौधरीलाई अमेरिकी डलरजस्तो देखिने नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको थियो । सोही कसुरमा प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले झापा जिल्ला अदालतमा मुद्दा दायर गरेपछि उनी ७ महिनादेखि पुर्पक्षका लागि थुनामा छन् । 

यद्यपि दुर्लभले भने आफू नेशनल जिओग्राफी, टाइम्स अफ इण्डिया लगायतमा काम गर्ने फोटोग्राफर तथा ट्राभल ब्लगर रहेको र आफूले ती नोटहरु प्रयोग गर्ने उद्धेश्यले नभई डकुमेन्ट्री बनाउँदा उडाउने प्रयोजनले ल्याएको दाबी गरेका छन् । प्रहरीले झूटा बकपत्रमा हस्ताक्षर गराएको र फोटोग्राफीका लागि ल्याएको क्यामेरा, लेन्स लगायतका सामानसमेत बरामदी मुचुल्कामा नदेखाएर प्रहरीले फसाउन खोजेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप