समाजवादको व्याख्या गर्यो कि झगडा हुन्छ : हृदयेश त्रिपाठी
सांसद हृदयेश त्रिपाठीले बजेट सुन्निएर आएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा बुधबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिदै त्रिपाठीले भने, ‘बजेट मोटाएको सुन्निएको जस्तो छ । सुन्निनु रोगको लक्षण हो ।’
उनले कृषिका नाममा बजेट छुट्याइए पनि बर्षेनी किसानहरू पानी, मल र विउ नपाएर समस्या झेल्न बाध्य भएको बताए । ‘खेतीको समय छ तर मल अभाव छ । तर आकांक्षा हाम्रो ३० प्रतिशत आयात घटाउँछौ भन्ने छ’, उनले योगदानका आधारमा किसानलाई पेन्सन दिने सरकारको नीतिको पनि आलोचना गरे । ‘किसानलाई पेन्सन दिने भनेको के हो ? यो हावादारी कुरा हो’, उनले पेन्सन दिने मोडालिटी अस्पष्ट भएको भन्दै कृषिमाथिको लगानी र किसानमाथिको लगानी विडम्बना बनिरहेको बताए । ‘मन्त्रालयमा किन्ने गाडी घोडामा लगानी गरिन्छ’, पूर्वमन्त्री समेत रहेका त्रिपाठीले भने, ‘कृषि आयात घटाउने वित्तिकै राजश्व घट्छ त्यो कहाँबाट पूर्ति गर्ने ? त्यो देखाइएको छैन ।’
उनले समाजवादको व्याख्या नगरी ५ वर्ष बितेको पनि बताए । ‘समाजवादको व्याख्या नगरी ५ बर्ष बित्यो । काँग्रेसले बुझ्ने एउटा समाजवाद छ । कम्युनिस्टले बुझ्ने समाजवाद अर्को । व्याख्या गर्यो कि झगडा हुन्छ ।’ उनले १० करोडसम्म सहकारीलाई ठेक्का लगाउनु कुन समाजवाद हो भन्दै शब्दको दुरुपयोग भएको बताए । त्यस्तै उनले बजेटमा अनैतिक र पक्षपातपूर्ण व्यवहार झल्केको भन्दै अर्थतन्त्र संकटतर्फ जाँदै गरेकोमा आफ्नो चिन्ता मात्रै रहेकाले संकटका लागि तयार रहन आग्रह गरे ।