बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हार भो भनेर पिर नमान

बुधबार, १८ जेठ २०७९, १२ : ०४
बुधबार, १८ जेठ २०७९

‘हार भो भनेर पिर नमान ।’ यस वाक्यको सार्थकता यसैपल्टको चुनावबाट भयो । यस अर्थमा यो वाक्यांश प्रयोग भएको छ कि, यस पटकको चुनावमा जस्ता दृश्यहरू देखिए, ती निकै पृथक ठहरिए । हारबाट उम्मेदवारहरूले सिक्नुपर्छ भन्ने ज्ञान अघिल्लो पल्ट हारेका उम्मेदवारहरूले यस पटक हारेकाहरूलाई दिएको देखियो । जनतासँगको सम्बन्धमा परिवर्तन ल्याउन र जनताको आँखामा छाउन सकिन्छ भन्ने उपदेश दिएर गयो यस पटकको स्थानीय चुनाव । केही उम्मेदवारहरूले भोग्न परेको अघिल्लो पटकको हारलाई यसपटक भने जीतमा परिणत गरेका छन्, र यो नै अहिले थुप्रै उम्मेदवारहरूको निम्ति उत्साहको एक पाटो हुन सक्छ । 

अघिल्लो पटक स्थानीय उपनिर्वाचन २०७६ मा हारेका उम्मेदवार जस्तै धरानका हर्क राई, स्थानीय निर्वाचन २०७४ मा हारेका धनगढीका गोपाल हमाललगायत केही व्यक्तिहरूको यसपल्टको प्रगति र सकारात्मक नतिजालाई समीक्षा गर्नुपर्ने हुन्छ । यस अर्थमा कि, उनीहरूका विगत पाँच वर्ष कस्ता भए ? यही पाँच वर्षले नै जनतासँगको डोरीलाई मजबुत बनाएको हो भन्ने तर्क थुप्रै विश्लेषकहरूको छ । यद्यपि, विश्लेषकहरूको यो भनाइलाई नकार्न सकिन्न । किनभने जनताले मन पराएपछि नै उम्मेदवारले जित्ने हुन् । 

हर्क राई धरानका मेयर यो चुनावबाट भए पनि उनी धरानमा सामाजिक कुरीतिविरुद्ध आवाज उठाइरहेका प्रखर अभियन्ता भने पहिल्यैदेखि हुन् । त्यसै कारण नै अघिल्लो पटक केवल ४ सय २२ मतमा सीमित भएका राई यसपटक २० हजार ८ सय २१ मत ल्याउन सफल भए । उनको यो बहुआयामिक अस्तित्वसँग अवगत भएर नै जनताले यसपटक भने नयाँ नेतृत्वको रूपमा धरानमा राईलाई रोजे । राई आफैँमा पनि निकै साधारण रूपमा प्रस्तुत हुने गरेका छन् । 

मेयरमा निर्वाचित भएपछि एकाएक मिडियाको केन्द्रबिन्दु बनेका राई आफूलाई कसैभन्दा कम र कसैभन्दा बढीको कहिल्यै नठान्ने बताउँछन् । लोकतन्त्रको कुशल उदाहरणको रूपमा देखिएका हर्क राई भन्छन्, जनतासँग र आफैँ जनता भएर नै कुरीति विरुद्धको आवाज उठाउन म कहिल्यै पछि नहटेको देखेका जनताले मलाई यसपटक अनुमोदन गरेका हुन् । उनीहरू सँगै उभिएर हिजो जसरी नेतृत्वदायी भूमिकामा प्रश्न गरेँ, अब त्यही भूमिकामा रहेर काम गर्छु र उत्तर दिन्छु । मेरो प्रतिबद्धतालाई जनताले माया गरेका हुन् र अघिल्लो पटकको हारलाई भन्दा पनि म यसपटकको जीतलाई आत्मसात् गरेर मैदानमा उत्रिएको छु र यत्ति भन्छु कि जीत अघिको बाटो हार हो । त्यसैले स्वाभाविक हुन सिक्नु पर्छ । 

यसै गरी धनगढीका गोपाल हमालले पनि अघिल्लो पल्ट चुनाव हारेका थिए । अघिल्लो पल्ट स्थानीय निर्वाचन २०७४ मा ११ हजार ५ सय २७ मत ल्याएका हमालले नेपाली काँग्रेसका नृप बहादुर वडसँग १४ हजार ३ सय २४ मतको अघि हार व्यहोर्नु परेको थियो । यस पटक भने उनैसँग २६ हजार ८ सय ६५ मत ल्याएर १२ हजारको मतान्तरले जीत हासिल गरेका छन् । 

हर्क राईको हकमा एउटै प्रत्याशी नभए पनि हमालको हकमा भने प्रत्याशी पनि एकै हुन् । हमाल धनगढीमा व्यवसाय चलाएर बसेका स्थापित व्यक्ति हुन् र यसै कारण उनी सामाजिक कार्यमा निकै क्रियाशील पनि छन् । उनी पाँच वर्ष जनता समक्ष पनि निकै लोकप्रिय रहने धनगढीका जनताको प्रक्षेपण छ । हमालको निम्ति यो घटना निकै प्रिय भएर दैलोमा आइपुगेको छ । यद्यपि, यसलाई उनले कसरी आत्मसात् गर्छन् भन्ने कुरा समयले जरुर देखाउने छ ।

जनतालाई रिझाएर यी उम्मेदवारहरू उदाहरण बनेका छन् थुप्रैको निम्ति । जनतासँग नङ र मासुको सम्बन्ध बनाएर अघि बढ्न सकेको खण्डमा हार पुनः जीतमा परिवर्तन हुन सक्छ भन्ने एक बलियो उदाहरण हो यसपटकको स्थानीय चुनावका यी नतिजाहरू । यस पटक कर्मनिष्ठ र इमान्दार नियत बोकेर पनि हार व्यहोर्नु परेको थुप्रै व्यक्तिहरूको निम्ति यस किसिमका घटनाहरू प्रेरणा बन्न सक्छ । जनताको स्तर र अवस्था दलहरूले अनुमोदन गर्न नसक्दा यस किसिमका उदय स्वाभाविक हुन् र अझ स्थानीय निर्वाचनको हकमा त अझै स्वाभाविक हो भन्ने तर्क गर्छन्, राजनीतिक विश्लेषक लोकराज बराल । 

एकाएक हारबाट जीततर्फ उन्मुख भएका यी उम्मेदवारको हकमा बराल भन्छन्, हर्क राई र गोपाल हमालहरूले जनस्तरमा लगातार गरिरहेको कर्मको फल हो यो । र, सिद्धान्तको नारा मात्र लगाउने तर कुनै पनि किसिमको काम नगर्ने दलीय प्रवृत्ति प्रतिको वितृष्णाका कारण पनि यो सम्भव भएको हो । दलीय उम्मेदवारले उल्लेख्य काम नगर्नु र यी स्वतन्त्र उम्मेदवारहरू हारका बाबजुद पनि मैदानमा खटिरहनु नै यसको प्रमुख बिम्बको रूपमा लिनुपर्दछ, बराल थप्छन् । 

त्यसर्थ, जनभावना नै निर्वाचनमा प्रस्तुत हुने हो भन्ने कुराको बलियो सन्देश रह्यो यो निर्वाचन । त्यसैले हार भो भनेर पिर नमान, हर रात पछिको हेर बिहान ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अग्रिम अधिकारी
अग्रिम अधिकारी
लेखकबाट थप