ad
x
बालसंसार

किन नालीमा गिर्नुपर्‍यो न्यायाधीशका बाबुआमा ?

person explore access_timeजेठ १८, २०७९ chat_bubble_outline0

धेरै पहिलेको कुरा हो । एउटा गाउँमा सुन्दर हाँसका जोडी बस्थे । उनीहरूका बीचमा गहिरो प्रेम थियो । दुवै मिलेर बस्थे, दिनभर पोखरीहरूमा घुम्न जान्थे, मीठामीठा कुरा गर्दै विभिन्न दृष्यहरू हेरी साँझ फर्कन्थे । समय बित्दै गयो । एक दिन साँझ उनीहरूका घरमा एउटा काग बास माग्न आयो ।


त्यतिबेलाका मानिस धर्मशास्त्रमा विश्वास गर्थे । बाबु, आमा, गुरु र अतिथिलाई देवता सरह मान्ने गर्थे । त्यसको प्रभाव पशुपक्षीमा पनि परेको थियो । उनीहरू पनि अतिथिलाई देवता सरह मान्थे । हाँस दम्पतीले पनि त्यस्तै गरे । घरमा भएको चीज प्रेमपूर्वक बनाई कागलाई खुवाए, राम्रोसँग सुत्ने व्यवस्था मिलाइदिए ।



कागहरू प्रायः छट्टु नै हुन्छन् । त्यसमा पनि त्यो काग अलि बढी नै छट्टु थियो । उसले सोच्यो यस हाँस दम्पती कति सुखी छन् । घर छ, परिवार छ, त्योभन्दा बढी आपसमा प्रेम छ तर मेरो त केही पनि छैन । न रूप राम्रो छ न जीवन साथी नै छ । अहिलेसम्म एउटै कागिनीले पत्याएकी छैन । यस्तो जीवन पनि के जीवन । बरू यही हंसिनीलाई पट्याउनुपर्छ क्या हो । यस्तैयस्तै सोच्दासोच्दै उज्यालो भयो । त्यति बेलासम्म हंसिनी हत्याउने निर्णय गरिसकेकाले हिँड्ने बेला हंसिनीलाई घिसार्न लाग्यो ।

पहिले त हाँसले कुरै बुझेन । के गर्दैछन् यी अतिथि भनेर हेरिरह्यो । जब हंसिनीले कर्के आँखाले हेरी तब मात्र कुरा बुझ्यो र ए पख कता लान खोज्दैछौ मेरो पोथीलाई भन्दै रोक्न आयो । हाँसको कुरा सुनेर कागले झर्किँदै भन्यो–

‘के गरेको देख्या छैनौ ? आफ्नो पोथीलाई लान लागेको ?’

कागको कुरा सुनेर हाँसले आश्चर्य मान्दै भन्यो–

‘यो त मेरी पोथी हो । कसरी तिम्री हुन्छे ? नपत्याए उसैलाई सोधन ।’

‘लाज छैन अर्काको पोथी मेरो भन्न ?’ कागले दुनो सोझ्याउने प्रयास गर्दै भन्यो–

‘किन सोध्नुप-यो यिनलाई ? तिमीले भन्दामा हुन्छ यी त मेरी पोथी हुन् । केही वर्ष अघि मलाई छाडेर हिँडेकी थिई बल्ल आज भेट्टाएँ ।’

यसै विषयलाई लिएर उनीहरूबीच लामै झगडा प-यो । काग मेरो भन्थ्यो, हाँस मेरो । जब सोझो औँलो घ्यु नआउने देख्यो तब कागले थप चलाखी गर्दै भन्यो–

‘यदि त्यसै हो भने कुनै न्यायाधीश नियुक्त गरी सोधौँ न, अहिलेको अहिल्यै दूधको दूध पानीको पानी भइहाल्छ नि, मन्जुरी छ ?’

‘किन नहुने ? सोझो हाँसले सोझै पारामा भन्यो–

‘सत्य कुरामा किन डराउने ? तर न्यायाधीश पो कसलाई बनाउने खोइ ।’

‘किन चिन्ता गर्छौ ? म छदै छु नि ।’

‘तिमीले भन्दैमा कसले मान्छन् र ?’

‘किन मान्दैनन् ? बुद्धि चाहिन्छ, बुद्धि । भन्छौ भने अहिले नै त्यसको व्यवस्था गरेर आउँछु ।’

हाँस सज्जन थियो । कागको धुत्र्याईँ बुझ्न सकेन र सहमति जनायो । त्यसपछि ऊ एक घुस्याहा न्यायाधीश कहाँ गएर आफ्नो प्रस्ताव राख्यो । सज्जनले खोज्ने सज्जन नै हुन्छ, दुर्जनले खोज्ने दुर्जन नै । जसले पनि खोज्ने भनेको आफू जस्तै हो । यहाँ पनि त्यस्तै भएको थियो । काग दुर्जन थियो उसले त्यस्तै न्यायाधीश खोज्यो ।

कागको कुरा सुनेपछि न्ययाधीशले मुख मिठ्याउँदै भने–

‘हेर काग भाइ ! मामिला निकै निकै अप्ठ्यारो रहेछ । अर्काको स्वास्नीलाई कसरी तिम्रो भन्ने । यसको अर्थ भन्नै नसकिने भन्ने पनि होइन । गर्नैपर्छ भने गर्न पनि सकिन्छ तर पहिले यो त बताऊ यस वापत मलाई के दिन्छौ ?’

‘यस्तो चीज दिन सक्छु, जुन तपाईँले जिन्दगीभर तपस्या गरे पनि पाउन सक्नुहुन्न ।’

‘धत् त्यस्तो पनि हुन्छ ?’

‘किन हुन्न ?’

‘के हो त त्यो ?’

‘यही कि तपाईँका मरेका बाबु आमा कहाँ छन् र कसरी बसेका छन् देखाइदिन सक्छु ।’

‘कसरी देख्यौ तिमीले ?’

मेरो काम नै डुलिहिँडने हो । यही डुल्ने क्रममा नै उनीहरूलाई देखेको हुँ ।’

‘देखाउ न त ।’

‘पहिले हंसिनी दिलाई त दिनुस् ।’

त्यसपछि उनले कागले भनेबमोजिम हंसिनी कागकै स्वास्नी हो भनेर मुद्दा छिनिदिए । जब काग हंसिनीलाई घिच्याउन लाग्यो त्यसपछि न्यायाधीशले कड्किँदै भने–

‘खोइ त मेरो फिस ?’

‘ए फिस ? आउनुस् मेरो साथ ।’ यति भन्दै उसले न्यायाधीशलाई गुह्येनालीको कीरालाई देखाउँदै भन्यो–

‘लौ हेर्नुुस् यिनै हुन् तपाईँका बाबुआमा ।’

कागको कुरा सुनेर न्यायाधीशले हकार्दै भने–

‘के मलाई मूर्ख ठानेका छौ ?’

‘किन र श्रीमान् ?’

‘मेरा मातापिता यहाँ हुन सक्छन् ?’

‘किन सक्दैनन् ।’

‘किनकि उहाँहरू धर्मात्मा हुनुहुन्थ्यो । धेरै पुन्य कमाउनुभएको छ ।’

‘पुन्य कमाएर के भो त ?

‘किन भएन ?’

‘त्यही त भन्या के भो ?’

‘दानधर्म गर्ने मानिस स्वर्ग जान्छन् नि, थोरै नालीका कीरा हुन्छन् ?’

‘कसले भन्या ?’

‘धर्मशास्त्रले भन्या नि कसले भन्ने ?’

त्यसपछि कागले सम्झाउँदै भन्यो–

‘ठीकै छ धर्मशास्त्रले भनेको भए सही नै होला तर धर्मशास्त्रले जसका सन्तानले पाप गर्छ त्यसको फल उसको पितृले भोग्नुपर्छ पनि भनेको छ । यसमा चाहिँ के भन्नुहुन्छ नि ?’

‘के भन्न खोज्या हौ चाँडो भन ।’

‘यही कि जसको छोरा न्यायाधिकारी भएर पनि कसैको लोभनमा परेर एउटाको स्वास्नी अर्काको हो भन्दै मुद्दा छिन्ने काम गर्छ भने उसका बाबुआमा नालीको कीरा नभएर के हुन्छन् त ?’

बल्ल न्यायाधीशको आँखा खुल्यो । जीवनभर घुस खाएर गर्नु नगर्नु गरेकोप्रति पश्चात्ताप पनि गरे तर त्यतिबेलासम्म निकै अबेर भइसकेको थियो ।

भाइबहिनीहरूलाई कथा कस्तो लाग्यो साथीहरूलाई पनि बताउनु है ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।