मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मलद्वारमा लौरो घुसाउँदा मृत्यु प्रकरण : गीताको शव उठ्यो, छोरीले गरिन् बाबुविरुद्ध उजुरी

बुधबार, १८ जेठ २०७९, ०६ : ५१
बुधबार, १८ जेठ २०७९

श्रीमान्‍ले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएकी पूर्वी चितवनको खैरहनी नगरपालिका–१० की गीता माझीको शव उठेको छ । उनको सोमबार राति साढे ११ बजेको समयमा भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

शवको पोस्टमार्टमपछि खैरहनी नगरपालिकाले गीताको शव उठाएको हो । उनको दाहसंस्कार पनि नगरपालिकाले नै गर्ने भएको छ । शवलाई अहिले उनको घरमा लगिएको छ । शवको जिम्मा लिने व्यक्ति नभएपछि स्थानीय सरकारले दाहसंस्कार गर्ने गरी जिम्मा लिएको खैरहनी नगरपालिकाकी उपमेयर कविता उप्रेतीले जानकारी दिइन् ।

आरोपित रामचन्द्र माझीविरुद्ध उनकै छोरी पुष्पा माझीले उजुरी दर्ता गरेकी हुन् । हिरासतमा रहेका रामचन्द्रविरुद्ध प्रहरीले यसअघि नै ज्यानसम्बन्धी र बलात्कारको मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ । घटना भएको पाँच दिनपछि छोरीले बाबुविरुद्ध लिखित उजुरी दिएकी हुन् ।

गीताका १५ र १३ वर्षका दुई छोरी छन् । उनीहरूको जिम्मा स्थानीय अधिकारकर्मीहरूले लिने भएका छन् । त्यस्तै, किरिया खर्चका लागि अधिकारकर्मीहरूले सहयोग सङ्कलन पनि गरेका छन् । 

किरिया खर्चका लागि जिल्ला बाल कल्याण समितिले १० हजार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले १५ हजार, बागमती प्रदेश सांसद रीना गुरुङले पाँच हजार रुपैयाँ र विभिन्न व्यक्ति तथा संस्थाले स्वैच्छिक रूपमा ३१ हजार रुपैयाँ उपमेयर उप्रेतीमार्फत छोरी पुष्पा माझीलाई हस्तान्तरण गरेका छन् ।

न्यायिक प्रक्रिया अघि बढ्दै जाँदा बाबुविरुद्ध उजुरी दिने छोरीको मन फेरिन सक्ने भएकाले चितवन प्रहरीले अधिकारकर्मीहरूको सहयोग लिएको छ । बयान र साक्षीलगायतको सहयोगका लागि चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जनप्रतिनिधि र अधिकारकर्मीसँग सहयोग मागेका हुन् ।

एसपी अधिकारीले भने, ‘महिलाका संवेदनशील घटनामा पीडित वा पीडित पक्षका व्यक्ति होस्टाइल भइदिँदा न्यायिक प्रक्रियामा समस्या आउने भएकाले जनप्रतिनिधि र अधिकारकर्मीसँग सहयोग मागेका हौँ ।’ न्यायिक प्रक्रियाका लागि आफूहरूले सहयोग गर्ने उनीहरुले अधिकारकर्मीहरूले प्रतिबद्धता पनि जनाएका छन् /न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप