सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

राकेशभक्त पौडेल हत्या प्रकरण : १९ दिन बितिसक्दा वास्तविकता बाहिर आउन सकेन

मङ्गलबार, १७ जेठ २०७९, २२ : ३३
मङ्गलबार, १७ जेठ २०७९

बाराको जीतपुर सिमरा उपमहानगरपालिका ६ का ३८ वर्षीय राकेशभक्त पौडेलको हत्या घटनामा प्रहरीको अनुसन्धान फितलो भएको भन्दै मृतक परिवारले गुनासो गरेका छन् । स्थानीय तह निर्वाचनको अघिल्लो दिन वैशाख २९ गते राती छिमेकी चित्रबहादुर केसीको घरमा पौडेलको हत्या भएको थियो । सुरुमा पौडेलको घरको छतबाट लडेर मृत्यु भएको भनिए पनि शव परीक्षण गर्दा टाउकोको पछाडि भागमा धारिलो हतियार प्रयोग भएको भेटिएपछि घटना शङ्कास्पद देखिएको हो । 

घटना भएको १९ दिन बितिसक्दा पनि प्रहरी प्रशासनले वास्तविकता भने अझै सार्वजनिक गर्न सकेको छैन । पछिल्लो समय चौतर्फी रूपमा दबाब सिर्जना भए पनि इलाका प्रहरी कार्यालय सिमराले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ईप्रका सिमराका अनुसार जीतपुर सिमरा वडा नं ६ का चित्रबहादुर खत्री, एक १६ वर्षीया किशोरी, वडा ३ का खगेन्द्र थापा (चित्रबहादुरका भतिज), सन्तोष खत्री (चित्रबहादुरका ज्वाइँ), उद्धव अधिकारी, वडा २ का केबी भनिने खगेन्द्र रिजाल गरी ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । 

घटना भएको दिन राति भाइको मृत्यु भइसक्दा छिमेकी र परिवारलाई कुनै जानकारी नदिनु, घटना भएलगत्तै रातारात घर धोइपखाली गर्नु र प्रहरी प्रशासनले पनि घटनास्थलमा  स्थलगत रूपमा कुनै अनुसन्धान नगर्नुले घटना नियोजित र शङ्कास्पद भएको मृतकका दाजु राजेशभक्त पौडेलले जनाएका छन् । ‘पोस्टमार्टम गर्दा नै डाक्टरले यो लडेर होइन हत्या भएको हो भनेर हामीलाई भन्नुभएको छ’ मृतका दाजु राजेशभक्तले भने ।

चुनावको अघिल्लो दिन राति चित्रबहादुर खत्रीको घरमा जमघट र भोजभतेर भइरहेको थियो,भोजभतेरकै क्रममा पौडेलको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दीपेन्द्र सिंह देउजाले सुरुमा घरको छतबाट लडेर मृत्यु भएको भनी सामान्य जाहेरी आएकोले प्रहरीले घटनालाई सोही ढङ्गले लिएको बताए । ‘जेठ ३ गते एक्कासि घटना शङ्कास्पद भन्दै पुनः जाहेरी आयो, फेरि ९ गते चित्रबहादुरको नाबालिग छोरीले घटना मैले गरेको भन्दै आइन्, वास्तविकता के हो भन्ने विषयमा हामीले  गम्भीर ढङ्गले अनुसन्धान गरिरहेका छौ’ प्रहरी उपरीक्षक देउजाले भने ‘हामीसँग भएको साधन श्रोत प्रयोग गरेर मसिनो गरी घटनाको अनुसन्धान गर्दैछौ केही भित्रमा सबै सार्वजनिक हुन्छ’ 

सोमबार सो घटनाको विषयमा बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको मधेश प्रदेशको टोली पनि आएको थियो भने प्रहरी अनुसन्धान ढिलाइ भएको भन्दै स्थानीयहरूले पनि दबाब दिन सुरु गरेका छन् । सोमवार सर्वदलीय बैठक मार्फत निर्वाचित जनप्रतिनिधि,दलका प्रतिनिधि, उद्योगी, व्यवसायी, शिक्षक सहितको टोलीले घटना भएको १९ दिन बितिसक्दा पनि दोषीलाई पहिचान गरेर कारबाहीको नभएको भन्दै  प्रहरी, प्रशासनको ध्यानाकर्षण जनाएका हुन् । आक्रोशित स्थानीयले यसअघि प्रहरी कार्यालय घेराउ समेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप