बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

सेनेटरी प्याड आयातमा भन्सार महसुल छुटप्रति स्वदेशी उत्पादकको आपत्ति

मङ्गलबार, १७ जेठ २०७९, २० : २०
मङ्गलबार, १७ जेठ २०७९

काठमाडौं । नेपाल सेनेटरी प्याड उत्पादक संघले आगामी आर्थिक वर्षको बजेटमा सेनेटरी प्याड आयातमा भन्सार महसुल ९० प्रतिशत छुटको व्यवस्था गरिएको भन्दै आपत्ति जनाएको छ । संघले नेपालमै ३५–४० वटा सेनेटरी प्याड उद्योग रहेको र ती उद्योगको उत्पादन नै मागको तुलनामा अत्यधिक रहेको भन्दै यस्तो अवस्थामा विदेशी प्याड आयातमा भन्सार छुट दिँदा स्वदेशी उद्योग धरासायी हुने जनाएको हो ।

नेपाली उद्योगले ९० करोड थान सेनेटरी प्याड उत्पादन क्षमता राख्ने प्रस्ट पार्दै संघले हाल नेपाली बजारमा सेनेटरी प्याडको माग भने ३० करोड थानमात्रै रहेको उल्लेख गरेको छ । संघले नेपालमा भएका विभिन्न उद्योगबाट उत्पादित सेनेटरी प्याडको गुणस्तर विश्वस्तरीय रहेको र स्वदेशी उत्पादनले नेपाल गणस्तर चिह्न पनि प्राप्त गरिसकेको जनाएको छ । ‘नेपाली उत्पादनहरुको मूल्य किफायती हुनका साथै विदेशी उत्पादनभन्दा निकै सस्तो र गुणस्तरयुक्त रहेको छ,’ संघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आयातित उत्पादनहरुको गुणस्तरको चेकजाँच भने कुनै निकायले गर्दैन ’

बजेट भाषणमा आयातित सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार महसुल छुटको घोषणा गरिएको सन्दर्भमा विदेशी सेनेटरी प्याडमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल अब १ दशमलव ५ प्रतिशतमात्र लागु हुने अवस्था देखिएको भन्दै संघले ध्यानाकर्षण गराएको छ । सेनेटरी प्याडको कच्चा पदार्थमा एक प्रतिशत भन्सार महसुलको घोषणा गरिएकोे तर केही कच्चा पदार्थ तथा  प्याकेजिङ मटेरियलमा लाग्ने ५ प्रतिशत अन्तःशुल्कबारे कुनै घोषणा नगरिएको संघको भनाइ छ ।

‘यसो हुँदा तयारी बस्तुभन्दा कच्चा पदार्थमा बढी कर तिर्नु पर्छ जबकि कच्चा पदार्थ तथा तयारी बस्तुको भन्सार महसुल कम्तीमा दुई तहको फरक हुनुपर्ने हो । यो कदमले स्वदेशी उद्योगहरु अप्रतिस्पर्धी भई बन्द हुनेछन् र डेढ अर्बको हालको आयात अत्याधिक बढेर ५ वर्षमा वार्षिक साढे सात अर्ब पुग्नेछ र व्यापार घाटाको डरलाग्दो घेराबाट हामी कहिल्यै उम्किन सक्ने छैनौँ,’ संघले विज्ञप्तिमा भनेको छ ।

आयातित उत्पादनलाई प्रोत्साहन दिई स्वदेशी उद्योग धरासायी हुने नीति गलत भएको भन्दै संघले बहुराष्ट्रीय कम्पनीका बहुचर्चित ब्राण्डका आयातित सेनेटरी प्याडसँग नेपाली ब्राण्डलाई प्रतिस्पर्धा गर्न सरकारको यो नीतिले गाह्रो बनाएको जनाएको छ । संघले आयात प्रतिस्थापन गर्ने उद्देश्यले स्थापित सेनेटरी प्याड जस्तो अत्यावश्यक उद्योगलाई संरक्षण गर्न सरकारलाई आह्वान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप