शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मौसम पूर्वसूचना प्रणालीको आधारमा विमान उडान नगरे ठूलो दुर्घटनाको चेतावनी

मङ्गलबार, १७ जेठ २०७९, १७ : ४७
मङ्गलबार, १७ जेठ २०७९

मौसम पूर्वसूचना प्रणालीको आधारमा विमान उडान नगरे देशले ठूलो दुर्घटना भोग्नुपर्ने  भन्दै विज्ञहरुले चेतावनी दिएका छन् । जेठ १५ गते भएको तारा एयरको विमान दुर्घटना खराब मौसम हुँदाहुँदै उडान भरेको भन्ने तथ्यहरु सार्वजनिक भइरहेको र विगतका केही विमान दुर्घटना पनि पूर्वानुमान विपरित उडान गर्दा दुर्घटना भएको भन्दै विज्ञहरुले सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताएका हुन् । 

जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले कुनैपनि विमानहरु थ्रेसहोल्ड (सीमा) मा चल्छन् वा चल्दैनन् भन्ने कुरा राष्ट्रियरुपमा अनुगमन गर्न आवश्यक रहेको बताए । उनले विगतमा पनि अधिकांश विमान दुर्घटना मौसम प्रतिकुलमा चलाएका कारण भएको बताए ।  जलवायुको अवस्थालाई मध्यनजर गरी विमान उडाउने अन्तर्राष्ट्रिय अभ्यास भएको तर नेपालमा भने आन्तरिक उडानको क्रममा पूर्व सूचना प्रणालीलाई प्राथमिकता नदिएको टिप्पणी गरे । उनले आगामी दिनमा पूर्व सूचना प्रणाली कार्यान्वयन भए नभएको सुक्ष्म नियमन नगरे ठूलो जोखिम निम्तिने चेतावनी दिए । उनले जल तथा मौसम विज्ञान विभाग र निजी एयरलाइन्सबीचको तालमेल नमिल्दा पनि यस्तो दुर्घटना हुनसक्ने बताए । जलवायु विज्ञ उप्रेतीले  एयरलाइन्सले पाइलटलाई दबाव सिर्जना गरेर विमान उडाउन लगाएको हुन सक्नेतर्फ पनि सरकारले नियमन गर्नुपर्ने बताए । 

यता जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले विभागले तीन दिनको पूर्वानुमान सम्बन्धित सरोकारवाला निकायहरूलाई सही समयमा गराइरहेको बताए । उनले ग्राउन्डमा रहेका विभागका अवलोकनका नेटवर्कहरुबाट प्राप्त सूचनालाई सही समयमै सम्बन्धित निकायलाई हरेक दिन बिहान र बेलुका ६ बजे उपलब्ध गराइएको बताए । महानिर्देशक जोशीले कृषि, जलश्रोत विकास पूर्वाधार, पर्यटन र विपद् न्यूनीकरणको लागि सम्बन्धित निकायहरुमा पूर्व सूचना दिने गरेको बताए । 

महानिर्देशक जोशीले गत वर्षको मनसुनपछि पनि विभागले पूर्वानुमानको सूचना निकालेको तर पालना गर्न नसक्दा कृषिमा ठूलो क्षति भएको बताए । उनले अझै पनि आम नागरिकहरूमा मौसम पूर्वानुमानबारे बुझाईको कमी भएको बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप