शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका १२ बुँदे व्याख्यात्मक घोषणाबारेमा केही बोलेन : नेता श्रेष्ठ

मङ्गलबार, १७ जेठ २०७९, १५ : ००
मङ्गलबार, १७ जेठ २०७९

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अमेरिकाले १२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा हालसम्म एक शब्द पनि नबोलेको दाबी गरेका छन् । मंगलवार राष्ट्रिय सभाको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटसम्बन्धी छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले लप्सीवेदी, रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर ४ सय केबीको प्रशारण लाइन निर्माण गर्ने कार्य अगाडि बढाइने कुरा बजेटमा प्रस्तुत भएको तर एमसीसी योजना अन्तर्गत हो वा एमसीसी खारेज भएको अर्थमा बुझेर अर्थमन्त्रीले आफैँले प्रस्ताव राखेको हो भन्ने बारेमा सरकारसँग जवाफ मागे । नेता श्रेष्ठले एमसीसी परियोजना अन्तर्गत १२ बुँदे कार्यान्वयन गर्ने कुरामा अमेरिकाले सहमति नजनाए त्यही दिन यो खारेज हुने उल्लेख गरिएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले प्रशारण लाइन निर्माण गर्ने कार्य अर्थमन्त्रीको व्यक्तिगत प्रस्ताव भएको खण्डमा सरकार र अर्थमन्त्री धन्यवादको पात्र रहेको बताए ।  

नेता श्रेष्ठले सरकारले प्रस्तुत गरेको बजेटमा असन्तुष्टि समेत रहेको बताए । उनले नेपालको विकासको निम्ति बढी महत्वको कुरा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन भएको तर बजेटमा राम्रोसँग खुल्न नसकेको बताए । नेता श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न नसके पूँजीगत खर्च कार्यान्वयन अघि बढ्न नसक्ने बताए । उनले बजेटमा सरकारले मितव्ययिता गुणात्मक ढंगको नीति लिन नसकेको आरोप लगाए । नेता श्रेष्ठले बजेटमा सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप