शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् पुनर्गठनको चर्चा : के भन्छन् गठबन्धन घटकका नेताहरु ?

मङ्गलबार, १७ जेठ २०७९, २१ : ००
मङ्गलबार, १७ जेठ २०७९

गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचन अघि मन्त्रिपरिषद् पुनर्गठनको चर्चा सुरु भएको थियो । त्यतिबेला नेताहरुले स्थानीय निर्वाचन लगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए । चुनाव सकिएर जनप्रतिनिधिले शपथसमेत लिइसकेका छन् । त्यसैले मन्त्रिपरिषद् पुनर्गठनबारे चासो बढ्नु स्वाभाविक हो । तर, गठबन्धन घटकका नेताहरुले मन्त्रिपरिषद् पुनगर्ठनका विषयमा अहिले आ–आफ्नै तर्क गर्न थालेका छन् ।

नेकपा माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले तत्काल मन्त्री हेरफेरको सम्भावना नरहेको बताए । ‘अब कात्तिक अन्तिम वा मंसिर पहिलो साता प्रदेश र संघको चुनाव गर्नु छ । त्यो भनेको यस्तै ५÷६ महिनामात्रै बाँकी छ,’ रातोपाटीसँग कुरा गर्दै बस्नेतले भने, ‘मलाई लाग्छ अब मन्त्री हेरफेर हुँदैन होला । यही सेट नै अघि बढ्न सक्छ ।’

गठबन्धन दलको सरकार भएकाले मन्त्रिपरिषद् पुनर्गठन गरौं भन्ने भएमा हुन पनि सक्ने बस्नेतले बताए । यद्यपि चुनावपछि मन्त्रिपरिषद् हेरफेरका विषयमा कतै चर्चा भने नभएको उनले बताए । यस्तै, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले मन्त्री हेरफेरका विषयमा चर्चा नै नभएको दाबी गरे । ‘अहिलेसम्म मन्त्री हेरफेरका विषयमा गठबन्धन वा पार्टीभित्र कतै चर्चा भएको छैन,’ भुसालले भने, ‘यदि गठबन्धनमा सहमति भएमा हेरफेर हुन÷नहुन पनि सक्छ । अहिलै भन्न सकिएन ।’

तर, एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य मेटमणि चौधरीले मन्त्रिपरिषद् हेरफेर गर्ने विषयमा छलछल भइरहेको दाबी गरे । ‘गठबन्धन र पार्टीभित्रै मन्त्री हेरफेरको चर्चा भइरहेको छ,’ चौधरीले भने, ‘कहिले र कसरी मन्त्री हेरफेर गर्ने भन्ने टुङ्गो लागेको छैन । यो महिनाभित्रै मन्त्री हेरफेर हुन्छ ।’

जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले मन्त्रिपरिषद् हेरफेरका विषयमा कुनै जानकारी नभएको बताए । ‘स्थानीय चुनावमा आफ्नै क्षेत्रमा थिएँ । बल्ल काठमाडौं आएँ, के हुन्छ भन्ने बुझेरमात्रै भन्न सक्छु,’ राईले भने ।

सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रिपरिषद् हेरफेरका विषयमा छलफल नभएको काँग्रेस उपभापति पूर्णबहादुर खड्काले बताए । स्थानीय चुनावको समीक्षा, जिल्ला समन्वय समितिमा मिलेर जाने विषयमा छलफल भए पनि मन्त्री हेरफेरको विषयमा प्रवेश नै नभएको खड्काले बताए ।

यही गठबन्धन प्रदेश र संघको चुनावसम्म लग्ने विषयमा छलफल भएको र गठबन्धन सरकारले कात्तिक अन्तिम वा मंसिर पहिलो साता प्रदेश र संघको निर्वाचन गर्ने विषयमा भने छलफल भएको स्रोतले जनाएको छ । यद्यपि, निर्वाचनबारे ठोस निर्णय भने भइनसकेको स्रोतको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप