पौडेलको प्रश्न : सामाजिक सुरक्षा भत्ता ५ हजार किन पारिएन ?
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा सांसद विष्णु पौडेलले सरकारले बजेटमार्फत सामाजिक सुरक्षा भत्ता ४ हजारबाट पाँच हजार किन नबनाएको भनेर प्रश्न गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बजेटमाथि सुरु भएको सैद्धान्तिक छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले बजेटमा १५ प्रतिशत तलब वृद्धि गरिएको ठिकै भए पनि यो तलब वृद्धिले न्यून तलब हुनेहरूलाई त्यसले न्याय गर्छ भन्दै प्रश्न समेत गरे । सरकारले ल्याएको बजेटलाई वितरणमुखी बजेटको संज्ञा दिँदै पौडेलले कार्यक्रम पनि वितरणमुखी भएको टिप्पणी गरे ।
‘तर यति धेरै वितरणमुखी बजेट ल्याउन सक्ने अवस्था हो भने सामाजिक सुरक्षा भत्ता ५ हजार किन नपुर्याएको ?’ पौडेलले सभामुखमार्फत सरकारलाई प्रश्न गरे । उनले हिजो एमाले र माओवादीको संयुक्त सरकारले सामाजिक सुरक्षा भत्ता ५ हजार बनाउने भनेर भनिएको भन्दै त्यही बेला पनि हालका अर्थमन्त्री त्यस बेलाको सरकारमा रहेको भन्दै अहिले त्यो कुरा किन बेवास्ता गरिएको भनेर प्रश्न गरे । उनले प्रधानमन्त्रीले केही समय पहिले वृद्ध भत्ता पाउने उमेर ६५ मा झार्ने भनेर भनिएको कुरा सञ्चारमाध्यममा पढ्न पाएको तर बजेटमा ६८ राखिएको भन्दै प्रधानमन्त्री अव ६५ बाट ६८ तिर बढ्नुभएको हो भनेर प्रश्न गरे ।