शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडा उपमहानगर कार्यपालिकामा गठबन्धन अल्पमतमा, एमालेको एकल बहुमत

मङ्गलबार, १७ जेठ २०७९, ११ : १५
मङ्गलबार, १७ जेठ २०७९

हेटौंडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा जित निकालेको सत्तारुढ गठबन्धन कार्यपालिकामा भने अल्पमतमा छ । हेटौंडाको नगरसभा र कार्यपालिकामा एमालेको एकल बहुमत छ । सबै वडाध्यक्ष स्वतः कार्यपालिका सदस्य हुने कानुनी प्रावधान छ । सम्बन्धित पालिकाको सभाले महिला वडा सदस्यबाट पाँच जना र सोही नगरमा बसोबास गर्ने दलित वा अल्पसंख्यक समुदायबाट तीन जना निर्वाचित गरेपछि कार्यपालिकाले पूर्णता पाउँछ ।

हेटौंडा उपमहानगरको कार्यपालिकामा एक प्रमुख, एक उपप्रमुख, १९ वडाका अध्यक्ष (सदस्य), पाँच महिला सदस्य र तीन दलित वा अल्पसंख्यक सदस्य गरी जम्मा २९ सदस्य रहन्छन् । हेटौंडा नगर कार्यपालिकामा एमालेको ९ वडा अध्यक्ष, ५ महिला सदस्य र ३ दलित र अल्पसंख्यक सदस्य गरी १७ जनाको प्रतिनिधित्वसहित ५९ प्रतिशत उपस्थिति छ ।

नगर कार्यपालिकामा काँग्रेसको एक उपमेयर र ८ जना वडा अध्यक्षसहित ९ जनाको प्रतिनिधित्व छ । प्रतिशतका हिसाबले नगर कार्यपालिकामा काँग्रेसको उपस्थिति ३१ प्रतिशत छ । नगर कार्यपालिकामा माओवादी केन्द्रका एक जनाको मात्र प्रतिनिधित्व छ । प्रतिशतका हिसाबले यो ३ प्रतिशतमात्र हो । यस्तै, एकीकृत समाजवादीको एक मेयर र एक वडा अध्यक्षसहित नगर कार्यपालिकामा २ जनाले प्रतिनिधित्व गर्दछन् । कार्यपालिकामा एकीकृत समाजवादीको ७ प्रतिशत प्रतिनिधित्व छ ।

१०० सदस्यीय नगरसभामा एमालेका ९ वडाध्यक्ष, ४१ वडा सदस्य र ३ जना कार्यपालिका सदस्य गरी ५३ सदस्य छन् । यस्तै काँग्रेसको एक उपमेयर, ८ वडाध्यक्ष र ३३ जना वडा सदस्य छन् । नगरसभामा माओवादी केन्द्रको एक वडाअध्यक्षमात्र छ भने एकीकृत समाजवादीको एक मेयरसहित एक वडा अध्यक्ष र ४ सदस्य छन् ।

यस्तो छ हेटौंडाको राजनीतिक समीकरण

मेयर र उपमेयर दुवै पदमा हार व्यहोरे पनि हेटौंडा उपमहानगरमा एमाले नै पहिलो पार्टीका रुपमा स्थापित छ । अघिल्लो निर्वाचनमा हेटौंडाको मेयर र उपमेयरसहित १३ वटा वडा अध्यक्ष र बहुमत सदस्य जितेको एमालेले मेयर, उपमेयरसहित ९ वडाध्यक्ष र केही सदस्य गुमाएको छ ।

गठबन्धनको भागबण्डामा मेयर पद गुमाएको काँग्रेसले विगतको तुलनामा हेटौंडाको उपमेयरसहित ३ वडाध्यक्ष र केही सदस्य थपेको छ । २०७४ को निर्वाचनमा काँग्रेस ५ वटा वडाको वडा अध्यक्ष र केही सदस्यमा सीमित थियो । काँग्रेसले हाल उपमेयरसहित ८ वटा वडा अध्यक्ष र केही सदस्य जितेर मत र पद दुवै थप्न सफल भएको छ ।

माओवादी केन्द्रले हेटौंडा–१२ को वडा अध्यक्ष पदमा मात्र जित हात पारेको छ । विगतको निर्वाचनको तुलनामा माओवादी केन्द्र खुम्चिएको छ । विगतको निर्वाचनमा २ वडा अध्यक्ष र केही सदस्य पदमा माओवादी केन्द्रले जितेको थियो ।

त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले हेटौंडाको मेयर र एक वडा अध्यक्षसहित ४ जना सदस्य पदमा जित निकालेको छ । पहिलो पटक निर्वाचनमा होमिएको एकीकृत समाजवादीले गठबन्धनमा हेटौंडाको मेयरसहित एउटा वडाको अध्यक्ष र ४ सदस्यमा भाग पाएको थियो । एकीकृत समाजवादीले हेटौंडा–९ को वडा अध्यक्षसहित सेट नै जितेको छ । सो वडाको वडाध्यक्षसहित एकीकृत समाजवादीले २ खुल्ला सदस्य, एक महिला सदस्य र एक दलित महिला सदस्य पदमा जित हात पारेको हो ।

हेटौंडाको मेयरमा नेकपा एकीकृत समाजवादी पार्टीकी मीना कुमारी लामाले २३ हजार ७५ मत ल्याए निर्वाचित भइन् भने उपमेयरमा नेपाली काँग्रेसका राजेश बानियाँले ३२ हजार ५९३ मत सहित जित हात पारेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप