राजनीतिमा इमानको खोजी
समाज, जनता र राष्ट्र निर्माणका लागि गरिने विभिन्न क्रिया प्रक्रिया राजनीति हो । जसमा राष्ट्र, समाज र जनता केन्द्रभागमा रहनेछ । निस्वार्थ भावनाले समाज परिवर्तनका लागि गरिने कर्म नै राजनीति हो । जसमा व्यक्ति र स्वार्थभन्दा माथि उठेर कर्म गरिन्छ । यो विशुद्ध समाजिक कार्य हो । मानवसेवा, विकास र परिवर्तनका लागि गरिने कर्म नै राजनीति हो ।
समयको विकासक्रमसँगै मानवीय आवश्यकता परिपूर्तिका लागि विभिन्न माध्यामबाट नीति निर्माण, त्यसको सफल कार्यान्वयन गर्न गरिने मूल मानव सेवाको त्यो अनुपम कर्म निहितार्थ रहेको हुन्छ । जसको प्रत्यक्ष प्रभाव जनतामा रहने गर्दछ । विकास निर्माणको प्रक्रियामा सहजता थप्ने कर्म विभिन्न नीति र विधान मार्फत गर्ने गरिन्छ । त्यी सबैको समुच्चय नै राजनीति हो । यहि राजनीतिको सटिक शव्द भित्र आम मानव समुदायको भविश्य निर्धारण गरिएको हुन्छ ।
त्यो सव नीति निर्माण गर्ने तहमा रहने व्यक्तिको योग्ता, क्षमता, कार्यकुशलताले समाज निर्माण, विकास र आर्थिक उन्नती र सवलीकरणमा महत्वपुर्ण भुमिका खेल्ने गर्दछ । त्यसकारण पनि समाज, देश र जनता समृद्ध वन्ने र नवन्नेमा राजनीति गर्ने व्यक्तिको भूमिकाले निर्धारण गर्ने गर्दछ । व्यक्तिसँग जे र जति छ, त्यो र त्यति नै योगदान गर्ने हो । त्यसभन्दा माथि खोज्ने भनेको हाम्रो कमजोर मानसिकता शिवाय केही हुन सक्दैन । अतः राजनीति नै समाज परिवर्तन गर्ने, जनताको जीवनस्तर उकास्ने महत्वपूर्ण हतियार हो । यही महत्वपूर्ण कार्यका लागि दृष्टिकोण बोकेको, सबल, सक्षम र जनताप्रति उत्तरदायित्व भएको राजनीतिकर्मीको आवश्यकता पर्छ । जसको अभावले हामी आर्थिक रूपमा, शैक्षिक रूपमा र विकास निर्माणको क्षेत्रमा पछाडि पर्ने गर्दछाँै ।
अहिले नेपालमा भोकमरी अशिक्षा, अराजकता, बेरोजगारी, आर्थिक कमजोरी जुन देखा परेको छ । जुन राजनीतिकर्मीको अभावमा हामी आम नेपालीले भोगिरहेका छौँ ।
मानव विकासको पहिलो आवश्यकता भनेको नै मौलिक हक हो । जुन आम जनताले उपयोग गरेका छन् कि छैनन् । संविधानको पन्नामा लेखिएको मौलिक हकको परिभाषा र व्यवहारमा देखिएको अधिकारले धेरै ठूलो अन्तर देखाउँदछ । कुनै भागका जनता मात्र जनता होइनन् । नेपालको सम्पूर्ण सीमा क्षेत्रभित्र रहेको सम्पूर्ण जनताको आधारभूत आवश्यकता र अधिकारलाई नियाल्न सक्नुपर्दछ । देशमा पञ्चायत, राणाशासन, राजतन्त्रको समाप्तिपछि पनि देश सङ्घीय लोकतन्त्रमा प्रवेश गरिसके पनि देशका विभिन्न भागमा अझै पनि अशिक्षा, भोकमरी र विद्यमान छुवाछूत, कुरीतिको अन्त्य नहुनु, देश विकासभन्दा पनि विनासतर्फ नै केन्द्रित रहनु, देश र जनताको विकास र उत्थानका लागि राजनीति गरेको दाबी गर्ने राजनीतिज्ञहरू व्यक्तिगत स्वार्थ, लोभ, लालच र आसेपासेमा मात्र केन्द्रित रहनुभनेको राजनीतिकर्मीको असफलता शिवाय केही हुँदैन । यही असीमित राजनीतिज्ञका कारण हामी यति धेरै पछाडि परेका छौँ ।
कुनै नेता मात्र असक्षम र अदक्ष हुँदा देश र समाज धेरै पछाडि धकेलिने गर्दछ । त्यही शिकारमा हामी परेका छौँ । नेताको यही असमक्षता र अदक्षतामा नै यति धेरै आर्थिक तथा विकासमा पछाडि पार्न सक्ने अवस्थामा पनि हामी किन यति धेरै नेताभक्त ? असीमित प्रश्न जन्मिएका छन् । व्यक्तिगत स्वार्थतामा गरिने कर्म, व्यक्ति धनी हुने र आफ्नो मान्छेका लागि गरिने कर्म राजनीति हुन सक्दैन । यो त लाजनीति हो । जुन कर्म समाज र जनताप्रति होइन, व्यक्तिमा मात्र केन्द्रित रहने गर्दछ । समाज परिवर्तनका नाममा गरिने यो कुकृत्य हत्कण्डा गरिने यो सौदाबाजी लाजनीति शिवाय केही हुँदैन । न कुनै जनताप्रति जिम्मेवार, न कुनै दृष्टिकोण, न कुनै योजना, फगत सत्ता र शक्तिमा पुगेर स्वार्थका लागि गरिने हरेक कर्महरू लाजनीति शिवाय केही हुन सक्दैन । व्यक्ति तथा नेतृत्वको दक्षता, इमानदारिता र कार्यक्षमता हेर्नका लागि दशकौँ पर्खन पर्दैन, बिहानीले दिनको सङ्केत भनेझँै नेतृत्वको क्षमता निश्चित समयपछि स्वतः अवगत हुने गर्छ ।
यद्यापि हामीहरू यो सबभन्दा पनि भाइगिरी र दादागिरी र भ्रष्टाचारी, असक्षमताधारीमा नै निहितार्थ छौँ । यही कारण हामी यति धेरै कमजोर र परजिवी बनेका छौँ । सत्यलाई सत्य र असत्यलाई असत्य भन्ने हिम्मत राख्न सक्दैनौँ किन ? यही सानो शब्दभित्र जीवनका हरेक पाटोहरू रुमल्लिइरहेका छाँै ।
संविधानसभाको निर्वाचनमा विकास निर्माणका ललिपप देखाएर जनता ढाँट्न माहिर नेताहरू अहिले पनि विभिन्न विकास निर्माण र रोजगारीका नाममा जनतामाथि बेइमान गरिरहेका छन् । यो प्रविधिको युगमा जनताहरू केही सभ्य र वैचारिक पनि भइसके भन्ने समेत भेउ पाउन नसकेकाहरू अझै पनि कोही अन्तिम पटक त कोही विकास निर्माण र नयाँ नेपाल, सुखी नेपाल निर्माणको नाममा भोट माग्न अभ्यस्त बनिरहेका छन् भने हामी फगत उनीहरूको मतियार बनिरहेका छौँ । संविधान सभाको निर्वाचन, संविधान निर्माण र नीति निर्माण गर्ने, कानुनका निर्माण गर्ने हो, त्यतिसम्म पनि नबुझेका नेताहरू निर्लज्जता प्रकट गरिरहेका छन् । यही निर्लज्जताका पराकाष्टमा हामीहरू अन्धभक्त बनेर आपसी झगडाको राप रोपेर ताप लिइरहेका छौँ ।
व्यक्तिगत स्वार्थताका लागि गरिने राजनीतिक बेइमानी हो । राजनीति देश र जनताको मुक्ति र उत्थानका लागि गरिन्छ । यस्तो इमानविनाको राजनीति गर्नका लागि योग्यता, क्षमता र कार्यकुशलताको आवश्यकता पर्दैन । यही कारण हामी यति धेरै गरिबी र अराजकताको भुमरीमा रुमल्लिइरहेका छौँ । राजनीति गर्ने नेतृत्वकर्ता भन्दा पनि लाजनीतिकर्मीको पछाडि दौडिएका हामी तिनीहरूलाई खबरदारीभन्दा पनि प्रस्रय दिइरहेका छौँ । अनि कहाँबाट हुन्छ, हाम्रो परिवर्तन ? कहाँबाट बन्नेछ, समृद्ध नेपाल ? कसरी हुनेछ आर्थिक सबलीकरण ?
नेतृत्व क्षमता नभएका व्यक्तिबाट परिवर्तनका आशा बेकार छ । यस्ता बेहइमान तरिकाले राजनीति गर्नेहरूलाई बहिष्कार गरी इमानदार नेतृत्वको खोजी गर्नु आवश्यक छ, जसले समृद्ध नेपाल निर्माण गर्न सकून् । राजनीतिका अंशियारका रूपमा गणेशमान, बीपी, मनमोहन, मदनलाई लिन सकिन्छ । उहाँहरु मरेर गए पनि राजनीति, देश र जनतालाई सन्देश दिएर गए । ती सन्देशलाई अनुकरण गरी आधुनिक जनमुखी राजनीति गरौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मिटरब्याजीको ट्र्यापमा परे : श्रममन्त्री भण्डारी
-
विद्यार्थी घटेपछि बागलुङका १० विद्यालय बन्द
-
डीडीसी सुधारका लागि सक्दो प्रयास गर्दैछु : मन्त्री अधिकारी
-
क्रसर उद्योग नवीकरण गर्न सरकारसँग माग
-
निर्वाचन आयोगद्वारा पर्यवेक्षकहरूसँग अन्तरक्रिया
-
नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई शारडा समूहले कार दिने