मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश सरकारको औचित्य माथि एमालेको प्रश्न

मुख्यमन्त्री राईले भने– ‘अङ्गुर अमिलो भइरहेको छ’
सोमबार, १६ जेठ २०७९, २१ : २७
सोमबार, १६ जेठ २०७९

प्रदेश १ का प्रदेशसभाको दसौँ अधिवेशनमा बोल्दै एमाले संसदीय दलका नेता भीम आचार्यले प्रदेश सरकारको औचित्य पुष्टि गर्न गाह्रो हुँदै गएको भन्दै प्रदेशकै औचित्यमाथि प्रश्न उठाएका छन् । उनले प्रदेश यस कारण चाहिन्छ, यसले यति फाइदा भयो, विकासको गति यसरी बढ्यो भन्ने कुरा पुष्टि गर्न गाह्रो भइरहेको भन्दै सुई उल्टो घुम्न सक्ने बताएका हुन् । 

‘प्रदेश सरकारको औचित्ययताको पुष्टि गर्न गाह्रो परिरहेको छ,’ आचार्यले भने, ‘प्रदेश यस कारण चाहिन्छ, यसले यति फाइदा भयो, विकासको गति यसरी बढ्यो भन्ने कुरा पुष्टि गर्न गाह्रो भइरहेको छ । सुई उल्टो घुम्न सक्छ ।’
आचार्यले प्रदेश सरकार छ भन्ने गाउँका जनतालाई कतै आभास पनि नभएको बताए । सम्झनलायक राहतका काम तथा सुशासन केही पनि नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । प्रदेश सरकार गठन भएको पहिलो ५ वर्ष बित्न लाग्दा साढे ३ वर्ष सरकार एमालेकै नेतृत्वमा सञ्चालन भएको थियो । 

‘प्रदेश सरकार छ भन्ने गाउँको जनतालाई कतै आभास नै छैन । सम्झन लायक काम, राहत, सुशासन केही भएको देखिँदैन, कृषिमा अनुदान पनि बिचौलियाको हातमा छ,’ उनले भने, ‘साधन स्रोत अभाव छ भनेको सुनिन्छ, साधन स्रोत जुटाउन के कति प्रयास भयो ? त्यो त देखिएको छैन । जनताले देखे जस्तो लाग्दैन । यसकारण प्रदेश सरकार चाहिन्छ भन्ने जनताले अनुभूति गरेजस्तो लाग्दैन ।’

उनले यसअघि प्रदेश सरकारले सञ्चालन गरेका बहुबर्षे योजना ठप्प भएको, मुख्यमन्त्री ग्रामीण आयोजना ठप्प रहेको भन्दै रोष प्रकट गरे । ‘पैसा ल्याउने हो, सिर्जना गर्न नसक्ने हो भने यो सरकार किन चाहियो ? केन्द्रसँग हात थापेर कमण्डलु बोकेर हिँडेर मात्रै हुन्छ र ?,’ उनले प्रश्न गरे, ‘किसानले मल किन्न पनि नपाउने, मजदुरले राहत पनि नपाउने ? तरलता अभावको नाममा कृषि ऋण पनि नपाउने, अनि कहाँबाट आत्मनिर्भर हुने ? कहाँबाट उद्योग धन्दा चलाउने ? ।’

प्रदेश सरकारले सुरक्षाको क्षेत्रमा पनि काम गर्न नसकेको, सुशासन कायम गर्न पनि नसकेको र विकास पनि गर्न नसकेको कारण प्रदेश सरकार नै छैन जस्तो भएको बताए । ‘मलाई धेरै बोल्न पनि डर लागिरहेको छ, हामी खस्किँदैछौँ,’ आचार्यले भने, ‘हाम्रो कारणले सिङ्गो सिस्टमलाई समस्या भइसक्यो । हामीलाई कुनै पश्चात्ताप छैन, ग्लानि छैन । त्यही पदमा बसिरहेका छौँ ।’ उनले झुम्राको पुतली नचाउने जस्ता बजेटमा कार्यक्रम नल्याउन आग्रह पनि गरे । 

जवाफमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले भने अधिवेशनको सुरुमै शुभकामना दिने समयमा गाली गलौचको सुरुवात भएको आरोप लगाए । ‘शुभकामना दिने बेलामा गाली गलौच गर्ने परम्परालाई पछ्याउन खोजे जस्तो देखियो,’ राईले भने, ‘यसलाई सच्याउने हो कि ?, बालेन र हर्कहरू जन्मिनुमा यस्तै जथाभाबी बोलीले हो, हामीलाई पनि जस्तालाई तस्तै जवाफ दिन आउँछ । अङ्गुर अमिलो भइरहेको छ ।’

राईले एमालेले संसदीय व्यवस्थालाई ध्वस्त गर्न खोजेको हो ? भन्ने प्रश्न गर्दै वर्तमान प्रदेश सरकार अनुशासनमा बसेर काम गर्न चाहेको पनि बताए । ‘पहिलोपटक ९० प्रतिशत पुँजीगत बजेट खर्च गर्न सक्ने अवस्थामा छ,’ राईले भने, ‘यसअघिका सरकारले ६५ प्रतिशत पुँजीगत खर्च कटाउनै सकेका थिएनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप