प्रदेश १ मा फेरि प्रदेश नामकरणको ‘असफल बहस’
प्रदेश १ को प्रदेशसभाको बजेट अधिवेशनमा पुनः प्रदेश नामकरणको बहस सुरु भएको छ । तर, नामको टुंगो लाग्ने कुनै गुञ्जायस भने देखिएको छैन । ‘एक पटक त प्रदेशको नामकरण भइहाल्ने पो हो कि भन्ने फुइँ लगाइयो, तर होइन रहेछ,’ प्रदेश १ को प्रदेशसभाको दशौं अधिवेशनको सुरुवातमा सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता भीम आचार्यले भने ।
प्रदेश १ प्रदेशसभाको कार्यकाल सकिन केही महिनामात्रै बाँकी छ । प्रदेशको नामकरण गर्न नसकेकोमा सांसदहरुलाई ‘ग्लानी’ को महसुस भएको प्रदेशसभाको दशौं अधिवेशन उद्घाटनको क्रममा देखियो । तर, प्रदेशको नामकरण गर्न नसकेको दलका नेताहरूले एकले अर्कोलाई अपजस बोकाउने प्रयास भने भरमग्दुर सुरु गरे ।
यो प्रदेशसभाको कार्यकाल ५ वर्षको हो । तर, पाँच वर्षमा साढे ३ वर्ष सरकार सञ्चालन गरेको नेकपा एमालेले नामकरणको विषय ठोस ढंगले अगाडि बढाउनै सकेन । राजधानी कहाँ राख्ने भन्ने विषयमा ठोस गरेको भएपनि नामकरणको १० वटा अधिवेशनभर चर्चामा रहेपनि ठोस निर्णय हुन सकेन ।
‘अझै पनि नामकरणको विषय टुंगो लाग्छ भन्ने विश्वास छैन,’ के नामको टुंगो लगाउनु हुन्छ भन्ने प्रश्नमा एमाले प्रदेश १ संसदीय दलका सचेतक राजकुमार ओझाले भने । उनले प्रदेशको नामकरण गर्न नसक्नु नै समग्र प्रदेशसभाको ५ वर्षे कार्यकाल सफल भएको वा असफल भएको भन्न भने नसकिने बताए ।
अधिवेशनको सुरुवातमा बोलेका साना दलहरु संघीय लिम्बुवान राष्ट्रिय मञ्च, राप्रपा, जसपा लगायतले नामकरणको विषय टुंगो लगाउन नसक्नु दुःखद विषय भएको बताएका थिए । तर, ठूला दलका नेताहरुले भने त्यो विषयलाई एकले अर्कोतिर थोपर्ने प्रयास गरे ।
एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री भीम आचार्यले त आफ्नो पार्टीको भन्दा सरकारको दायित्व रहेको जवाफ दिए । ‘प्रदेशको नामकरणको पहल सरकारले नै गर्ने हो, आजै गर्छौं, भोलि गर्छौं जस्तो गरेर नयाँ सरकारले फाइँफुइँ लगाएको थियो,’ उनले भने, ‘प्रदेश सरकारको इज्जत जोगिने भयो भनेको त होइन रहेछ, नामकरणको छलफल गर्ने भनेर समिति पनि बनाइयो, तर अहिलेसम्म भएन, जनताको भावनासँग खेलबाड किन भयो ? चर्का कुरा गर्ने नाम राख्न किन नसक्ने ? ।’
जवाफमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले भने कसैले पहल नगरेको कारण सरकारले पहलकदमी लिन खोजेको तर एमालेले चासो नदिएका कारण सम्भव नभएको बताए । ‘नामकरणको विषय हामीले सुरू गरेका हौं, सबैभन्दा धेरै सांसद रहेको एमालेले पहल नै गरेन, उदासिन भयो,’ राईले भने, ‘कसैले नगरेको हुँदा हामीले सरकारको तर्फबाट पहल गरेका हौं । एमालेकै माननीय रहेको समिति बनाउँ । एमालेले नै पहल गरोस् । काँग्रेसले पनि गरोस् । सकेसम्म सहमतिमा गरौं । नभए प्रक्रियामा गएर टुंगोमा पुगौं ।’
नेकपा माओवादी केन्द्रका सांसद धिरेन्द्र शर्माले यो अधिवेशन नै कार्यकालको अन्तिम अधिवेशन हुने भएकोले नामकरण गर्नुपर्नेमा जोड दिए । ‘नामकरणमा हामी पछाडि परेका छौं,’ उनले भने । काँग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले नामकरणको विषयमा पक्ष विपक्ष भन्दा पनि मिलेर टुंगो लगाउनुपर्नेमा जोड दिए । ‘नामकरणको विषय कहाँ अड्किएको छ हामीलाई थाहा छ ।
यही बजेट अधिवेशनबाट नामकरणको टुंगो लगाउँ । संविधानले नामकरणको विषयमा पक्ष विपक्ष भनेको छैन मिलेर जाउँ,’ उनले भने, ‘काँग्रेस साझा सहमतिका आधारमा टुंगोमा पुर्याउने पक्षमा छ, प्रदेशको नामकरण गर्ने विषयमा दोहोर्याएर, तेहर्याएर भन्छु यही कार्यकालमा टुंग्याउँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत
-
‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’
-
बैंकर्सलाई गभर्नरको सहानुभूतिपूर्ण सन्देश, ‘हिजो ध्यान दिएको भए आजको अवस्था आउँदैनथ्यो’