शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘यौनजन्य अपराधका घटनामा एक वर्षभित्र उजुरी दिनुपर्ने कानुनी व्यवस्था हटाइयोस्’

सोमबार, १६ जेठ २०७९, १८ : २५
सोमबार, १६ जेठ २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद बिन्दा पाण्डेले बालिका तथा महिलामाथि हुने यौनजन्य अपराधका घटनामा एक वर्ष भित्र उजुरी दिनुपर्ने कानुनी व्यवस्था तत्काल हटाउन गर्न सरकारसँग माग गरेकी छन् । सांसद पाण्डेले बालिकाहरुले आफूलाई त्यस्ता अपराधका घटना भएको भन्न सक्ने सहज वातावरण बन्न ७÷८ वर्ष कुर्नुपर्ने अवस्था रहेको देखिएको  उल्लेख गर्दै यौनजन्य अपराधका घटनामा एक वर्ष भित्र उजुरी दिनुपर्ने कानुनी व्यवस्था उचित नभएको भन्दै तत्काल त्यसलाई खारेज गर्न सरकारसमक्ष आग्रह गरेकी हुन् । 

एमाले निकट अखिल नेपाल महिला संघले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बालिका तथा महिलाहरूमाथि हुने यौनजन्य हिंसा अन्त्यका लागि सामाजिक जागरण अभियान संचालन गर्नुपर्ने आवश्यकता पनि औंल्याइन् । 

उनले भनिन्, ‘अहिले जुन खालका घटनाहरु आएका छन । त्यो घटनालाई हेर्दा एक वर्ष भित्र तपाई हाम्रा छोरी, बहिनीहरूले पनि सो घटनाबारे घरमा आएर अभिभावकलाई जानकारी गराउन सक्ने अवस्था छैन । जानकारी भएपनि हाम्रो सामाजिक परिवेशले हामीलाई उजुरी गर्न सहज वातावरण दिँदैन । त्यसै भएर ती घटनाहरु ७÷८ वर्ष पछि सार्वजनिक भइरहेका हुन् । त्यसैले हदम्याद राखेर ती घटनाहरूको अनुसन्धान र पीडितले न्याय पाउने अवस्था हुँदैन । त्यस्ता खालका कानुनी व्यवस्था हटाउनुपर्छ ।’

सांसद पाण्डेले यौनजन्य जघन्य अपराधका घटनाका पीडितलाई क्षतिपूर्ति मात्रै नभई परिपुरणको पनि व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइन् । उनले यौनजन्य अपराधका घटनामा परेका महिला तथा बालिकाहरूको न्यायका लागि स्थानीय तहका सबै वडाहरूका कानुन अधिकृत र  मनोविमर्शकर्ताहरुको व्यवस्था गर्न ढिलाई नगर्न पनि सरकारको ध्यानाकर्षण गराइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप