शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘काठमाडौंको फोहोर बञ्चरेडाँडामा लैजान केबलकार बनाऔं’

सोमबार, १६ जेठ २०७९, १८ : १५
सोमबार, १६ जेठ २०७९

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले महानगर क्षेत्रको फोहोर बञ्चरेडाँडामा सहजरुपमा व्यवस्थापन गर्न केबलकार बनाउन प्रस्ताव गरेका छन् । सोमबार बसेको महानगरपालिकाको कार्यपालिका बैठकमा उनले गोलढुंगाको बतासेडाँडाबाट बञ्चरेडाँडामा पुग्न सकिने केबलकार बनाउन प्रस्ताव गरेका हुन् ।

 त्यही केबलकारबाट सिधै बञ्चरेडाँडामा फोहोर पठाउन सके सहज र छिटो पनि हुने उनको जिकिर छ । ‘काठमाडौंको फोहोर व्यवस्थापन हुने सिसडोल हैन बञ्चरेडाँडा हो । पीएल सिंहको पालामा बञ्चरेडाँडामा हेलिकप्टर गएर बनाएको हो’, उनले भने, ‘बञ्चरेडाँडामा फोहोर लग्न गोलढुंगाको बतासेडाँडामा केबलकार हालियो भने फोहोर कहीँपनि डम्पिङ सेन्टरमा नराखिकन सिधै पुर्याउन सक्छौँ । र, बाटोको अवरोध पनि हुँदैन ।’

तर, काठमाडौंको फोहोर बञ्चरेडाँडामा फाल्दै गर्दा त्यहाँको स्थानीयको समस्या पनि समाधान भने हुनुपर्ने उनको धारणा छ । काठमाडौंको फोहोर व्यवस्थापनमा माफिया हाबी भएको उल्लेख गर्दै रिजालले कर प्रणाली पनि वैज्ञानिक नभएको औंल्याए  । ‘फोहोर कसले उठाएको छ, पहिला काठमाडौं महानगरपालिकाले भन्नुपर्छ । फोहोर हामी काठमाडौं महानगरपालिकाले उठाएको छौं कि कुनै माफियाले उठाएको छ ? पहिचान गरिनुपर्छ’, उनले भने, अर्को कुरा दोहोरो कर किन लगाउने ? घरजग्गा कर पनि लिने, घरभाडा कर पनि लिने, व्यवसाय कर पनि लिने ? अनि एउटा माफिया लगाएर फेरि फोहोरको कर पनि लिन पाइन्छ ?’
 
काठमाडौं महानगरपालिकाले नै फोहोर उठाउने जिम्मा लिनुपर्ने भन्दै उनले अरुले उठाउँछ भने पनि जनतालाई दोहोरो मार पार्न नहुनेमा जोड दिए । उनले घरघरमा फोहोर व्यवस्थापन गर्नका लागि योजना ल्याउनुपर्नेमा पनि जोड दिए । ‘हामीले फोहोरलाई मोहरको नारासहित काठमाडौंभित्रै व्यवस्थापन गर्न सक्ने हो भने त्यो नै ठूलो उपलब्धि हो’, उनले भने, ‘फोहोरको मात्रा घट्छ र व्यवस्थापन गर्न लैजान पनि सहज हुन्छ ।’ 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप