रेणु दाहालले जित्दैछिन् भनेर यसरी गरिएको थियो प्रक्षेपण
विदेशतिर निर्वाचनका वेला विभिन्न खालका रिसर्च गर्ने चलन छ । कुन पार्टीले कति प्रतिशत मत ल्याउँछन् । कुन पार्टीका नेता लोकप्रिय वा अलोकप्रिय छन् भन्नेमा निर्वाचन अगाडै प्रक्षेपण गर्ने चलन छ । र, त्यसरी गरिएका प्रक्षेपण अनुरुपकै निर्वाचन परिणाम सार्वजनिक हुने गर्छ । भारत, जापान, अमेरिकालगायत थुप्रै मुलुकमा यस किसिमका प्रक्षेपण हुने गरेको छ । तर, नेपालमा भर्खर सुरु भएको छ ।
खासमा म व्यवस्थापनको विद्यार्थी हुँ । मीनभवन क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर सकेपछि अध्ययन, व्यवसाय लगायतको सिलसिलामा केही समय अष्ट्रेलिया बसेँ । अष्ट्रेलियामा मैले त्यहाँ हुने विभिन्न निर्वाचनलाई नजिकबाट नियाल्ने मौका पाउँ । सबैभन्दा बढी चासो एनआरएनको चुनावमा भयो ।
एनआरएनको चुनाव हुँदै गर्दा सबैभन्दा धेरै चासो कसले जित्ला भन्नेमै थियो । विश्वभर छरिएका नेपालीहरुको मनोभावना र उम्मेदवारको हैसियत बुझ्ने एउटै माध्यम थियो डिजिटल प्लेटफर्म सामाजिक सञ्जाल । सामाजिक सञ्जालमै एक खालको अध्ययन गर्दै मसँग नजिक भएका एनआरएनका उम्मेदवारहरुलाई चुनाव जित्ने रणनीतिका बारेमा सुझाव दिएँ । केही उम्मेदवारहरुले मेरो सुझाव मान्नु भयो र निर्वाचित पनि हुनु भयो ।
अनि मलाई लाग्न थाल्यो । सामाजिक सञ्जालमा व्यक्त उम्मेदवारका अभिव्यक्ति र तिनमा आउने प्रतिक्रियालाई मिहिन अध्ययन गर्ने हो भने निर्वाचन परिणामा प्रक्षेपण गर्न सकिने रहेछ ।
नेपाल आएपछि अध्ययन अनुसन्धान सुरु गरेँ ‘मिडिया आउटलेट’ भन्ने संस्था मार्फत । नेपाली समाजमाथि अध्ययन सुरु गरेको एक वर्ष भयो । यही बिचमा स्थानीय निर्वाचन आयो । आफ्नो अध्ययनको गति मापनका लागि मैले मतगणना अघि सर्वेक्षण (एक्जिट पोल) गरेँ ।
देशैभरि चुनाव भएकाले कहाँ गर्ने एकखालको चुनौती थियो । मैले भरतपुरलाई रोजे । जहाँ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बढि चासो थियो । अर्को हिसावले भन्दा रेणु दाहाल, विजयी सुवेदी र जगन्नाथ पौडेल प्रतिनिधि पात्र मात्रै थिए, खासमा चुनाव ओली, देउवा र प्रचण्डबिच हुँदै थियो ।
हामीसँग २० जनाको रिसर्च टिम थियो । चुनाव हुनु दुई दिनअघि हामीले टिमका साथीहरुलाई तालिम दियौं । मतदानको दिन बैशाख ३० गते विहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म हामीले मत सर्वेक्षण गर्यौं । भरतपुर महानगरपालिकाको २,४,७, ८ र १२ नम्बर वडा हामीेले छानेका थियौं । विगतका चुनावमा काँग्रेस, एमाले र माओवादीले पाएको मतका आधारमा हामीले ती वडा छानेका थियौं । त्यस क्रममा हामीले जम्मा ७५७ जना मतदातालाई भेटेका थियौं । उनीहरुलाई हामीले बनाएको नमुना मतपत्रमा चिन्ह लगाउन लगाएका थियौं ।
जब अध्ययन सकियो, हामीले बाक्सा खोल्यौं । ७५७ मध्ये रेणु दाहालले ३११ मत (४१.०८) प्रतिशत मत पाएकी थिइन् । एमालेका उम्मेदवार विजयी सुवेदीले २६२ (३४.६१) प्रतिशत मत पाएका थिए भने जगन्नाथ पौडेलले ९५ (१२.५४) प्रतिशत मत पाएका थिए । हामीले मतपत्रमा रुख चिन्ह र हलो पनि राखेका थियौं । रुख चिन्हमा २० मत थियो भने हलोमा १५ मत ।
रेणु दाहाल जित्ने अध्ययनको निष्कर्ष त आयो तर सार्वजनिक कसरी गर्ने ? हाम्रो अध्ययनलाई विश्वास गर्ने हुन् कि हैनन् ? एकखालको अन्यौल भयो । मिडियासँग हाम्रो खासै सम्पर्क थिएन । टिम मध्येकै एकजनाले नेपालखबर डटकममा आफ्नो चिनाजानी रहेको कुरा गरे । हामीले सम्पादक अरुण बराललाई सम्पर्क गर्यौं । उहाँले भन्नु भयो, ‘रिपोर्ट पठाउनु म हेर्छु ?’ रिपोर्ट हेरिसकेपछि फेरि उहाँले सोध्नु भयो विश्वसनियताको आधार के हो ? हामीले काम गरेको शैलीबारे सबै कुरा प्रष्ट राख्यौं र नेपालखबरमा रिपोर्ट प्रकाशित भयो ।
रिपोर्ट सार्वजनिक भएपछि पनि हामीलाई एकखालको छटपटी थियो । हामीले प्रक्षेपण गरेको भन्दा फरक नतिजा आयो भने के गर्ने ? रिपोर्ट छापिएपछि पनि हामीले फेरि हाम्रै कामका बारेमा समीक्षा गर्यौं । हामीले निकै मेहनतका साथ काम गरेका थियौं भन्ने आधार थियो । मत परिणाम सार्वजनिक हुन थालेसँगै हाम्रो रिपोर्ट मत परिणामसँग मिल्दो जुल्दो थियो । बल्ल हामीले एकखालको राहतको महसुस गर्यौं । अन्तिम मत परिणाम सार्वजनिक भएपछि भने हामी ढुक्क भयौं । हामीले प्रक्षेपण गरेको र उम्मेदवारले पाएको मत लगभग उस्तै थियो ।
लोकतन्त्रलाई संस्थागत गर्न प्रक्षेपण जरुरी
दक्षिण एशियाली मुुलुहरुमा धेरै पार्टीहरु क्याडरबेस भएकाले क्याडरबेस पार्टीले आफैं ओपनियन पोल समेत लिने चलन पनि छ । त्यसले सही सूचना आउँदैन । उनीहरुको उद्देश्य नै आफ्नो पार्टीलाई लोकप्रिय देखाउने हुन्छ । पार्टी क्याडरबाट आउने सूचना भन्दा स्वतन्त्र संस्थाबाट आउने सूचना सत्यको नजिक हुन्छ ।
पार्टीहरुको नीति भनेकै चुनावमा सकेसम्म धेरै सिट जित्नु हुन्छ । त्यसकारण कुनै पार्टीले आफ्ना उम्मेदवारलाई जिताउने लक्ष्य राखेर बनाइने रिपोर्टहरुलाई अन्यथा भन्न सकिँदैन । तर, ती पार्टी र पार्टी निकट भएर गरिने सर्वे र रिपोर्टहरुले आम नागरिकको भावनाको प्रतिनिधित्व गर्न सक्दैन । त्यसकारण स्वतन्त्र संस्थाहरुले मत सर्वेक्षण वा एक्जिट पोल गर्नुपर्छ ।
हाम्रो लक्ष्य आम जनताले के चाहन्छन्, खास स्थिति के हो ? जनताले कुन पार्टीलाई कसरी हेरिरहेका छन्, जनमत कस्तो छ ? भन्नेमै केन्द्रीत थियो । पार्टी र दलहरुलाई बलियो बनाउन पनि यस किसिमको सर्भेहरु आवश्यक हुन्छ । दल र तिनका नेताहरुले बेलैमा आफ्नो कमजोरी थाहा पाए भने आफूलाई सुधार्न सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म