शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्ता छन् बागमती प्रदेश सरकारका नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

मल कारखानादेखि औषधि उत्पादन केन्द्र संचालनसम्मका योजना
सोमबार, १६ जेठ २०७९, १५ : ५५
सोमबार, १६ जेठ २०७९

बागमती प्रदेश सरकारले प्रदेशको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेका हुन् । सरकारले ‘नमुना वडा समाजवादी कार्यक्रम’ कार्यान्वयन गरिने, सरुवा रोगहरूको जोखिम नियन्त्रण र कोभिड–१९ जस्ता महामारीको प्रतिकार्यको प्रभावकारी व्यवस्थापनको लागि कम्तीमा ५० बेडको सुविधा सम्पन्न प्रदेशस्तरीय सरुवा रोग अस्पताल स्थापना गर्ने कार्यलाई अगाडि बढाउने भएको छ ।

‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत विपन्न नागरिकलाई क्यान्सर, हृदयाघात, मस्तिष्काघात र अप्स्टेट्रिक फिष्टुला लगायतका रोगको उपचारमा दिइँदै आएको सहुलियत व्यवस्थालाई थप प्रभावकारी बढाउने, मृगौला रोगीका लागि सञ्चालित निःशुल्क डायलासिस सेवा प्रदेश मातहतका सबै अस्पतालहरूमा विस्तार गर्ने, सशस्त्र संघर्ष (जनयुद्ध) र जनआन्दोलनको घाइतेलाई प्रादेशिक अस्पतालहरूबाट निःशुल्क उपचारको व्यवस्था, आयुर्वेद औषधिमा आत्मनिर्भर हुन चितवनको रत्ननगरमा आयुर्वेद औषधि उत्पादन केन्द्र सञ्चालन गर्ने, किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्द्धन तथा परामर्श सेवा प्रवाह गर्न ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमलाई थप प्रभावकारी बनाइ विस्तार गर्ने सरकारको नीति तथा कार्यक्रम रहेको छ ।

हेटौंडा, भक्तपुर, त्रिशूली, सिन्धुली, धादिङ, बकुलहर र पशुपति चौलागाई स्मृति अस्पताललाई विशिष्टिकृत स्वास्थ्य सेवा प्रदायक अस्पतालको रूपमा स्तरोन्‍नति गर्ने, हेटौंडा अस्पताललाई दुई सय बेडको अस्पतालमा स्तरोन्‍नति गरी धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरसँगको सहकार्यमा मृगौला प्रत्यारोपण सेवा समेत विस्तार गर्ने, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विस्तार र सुदृढीकरण गर्दै लगिनेछ। प्रतिष्ठान अन्तर्गतको आफ्नै अस्पताल स्थापनाको लागि आवश्यक प्रक्रिया अघि बढाउने सरकारको नीति तथा कार्यक्रम रहेको छ ।

प्रदेश सरकारले प्रदेशका ब्लड बैँकबाट विपन्न र आकस्मिक सेवामा आउने नागरिकलाई उपलब्ध गराइने ब्लड ब्याग अनुदानलाई निरन्तरता दिने, प्रदेश भित्रका स्वास्थ्य संस्थाहरूको अभिलेख र प्रतिवेदन कार्यलाई व्यवस्थित गर्न डिजिटल स्वास्थ्य सूचना प्रणाली लागू गर्ने, ‘बागमती प्रदेशको इच्छा, समृद्धिको लागि प्राविधिक शिक्षा’ भन्ने नाराका साथ प्राविधिक शिक्षा सञ्चालन भइरहेका शिक्षालयहरूलाई प्रोत्साहन गर्ने, सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्ने, सामुदायिक क्याम्पसमा अध्ययनरत छोरी बुहारीलाई प्रदान गरिने छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

बालबालिकाको सर्वाङ्गीण विकास गर्ने थलोको रूपमा रहेको बाल विकास केन्द्रलाई स्थानीय तहको सहकार्यमा नमुना केन्द्रको रूपमा स्तरोन्‍नति गर्ने कार्यक्रमलाई निरन्तरता दिने, विद्यालयहरूमा रहेको पूर्व प्राथमिक कक्षाको सिकाइलाई प्रभावकारी बनाउन स्थानीय तहको सहकार्यमा भौतिक संरचना सुधार तथा आधुनिक पाठ्य सामग्री तयार गरी प्रत्येक जिल्लाको कम्तीमा एउटा विद्यालयमा नमुना बाल विकास केन्द्र सञ्चालन गर्ने, ‘वैज्ञानिक खोज अनुसन्धान परिषद्’ स्थापना गर्ने सरकारको नीति तथा कार्यक्रम रहेको छ ।

त्यसैगरी सरकारले प्रदेशमा रहेको सीमान्तकृत चेपाङ समुदायको आर्थिक सामाजिक रुपान्तरणका लागि मकवानपुर, धादिङ र चितवनको चेपाङ जाति बसोबास क्षेत्रलाई चेपाङ विशेष संरक्षित क्षेत्र बनाउने, यौनजन्य दुर्व्यवहार, बाल–विवाह, मानव बेचविखन र विद्युतीय अपराध विरुद्ध सचेतना जगाउन ‘हाम्रो ध्यान, युवा सचेतना अभियान’ सञ्चालन गर्ने, प्रदेश खेलकुद विकास र विस्तारका लागि प्रदेश खेलकुद परिषद् र स्थानीय तहसँगको सहकार्य र साझेदारीमा प्रदेश स्तरीय रंगशाला, खेल पूर्वाधारहरूको निर्माण र संरक्षण गर्ने, प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने, एक स्थानीय तह एक खेल मैदानको नीति लिने भएको छ ।

‘एक घर एक धारा, पूर्ण सरसफाइ हाम्रो अभिभारा’ अभियानलाई अगाडि बढाउन, प्रदेशस्तरका विद्युत् आयोजनाहरूको विकास, अनुगमन तथा नियमन लगायत समग्र व्यवस्थापनको लागि कानून तर्जुमा गर्ने, प्रदेश कृषि विकास ऐनको तर्जुमा गर्ने, प्रदेश पोल्ट्री विकास बोर्डको स्थापना गर्ने, पशु स्वास्थ्य तथा क्लिनिकल सेवालाई विस्तार गर्न स्थानीय तहसँगको समन्वयमा “एक वडा एक पशु स्वास्थ्य क्लिनिक” कार्यक्रम सञ्चालनमा ल्याउने, प्रदेशभित्र सम्भाव्यताका आधारमा रासायनिक मल कारखाना र कृषि औजार कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ ।

प्रदेश सरकारले प्रदेश भित्रका गरिव तथा बिपन्न  कम्तीमा दश हजार युवालाई रोजगारी प्रदान गर्न ‘मुख्यमन्त्री सीप विकास तथा रोजगार कार्यक्रम’ सञ्चालन गर्ने, प्रत्येक स्थानीय तहमा एक वडा एक साना उद्योग कार्यक्रम सञ्चालन गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न नेपाल आर्ट भिलेजद्वारा ललितपुर जिल्लाको गोदावरी नगरपालिका अन्तर्गत डुकुछाप र छम्पी गाउँमा निर्माणाधिन ७२ फिट अग्लो भैरव देवताको मूर्ति निर्माण स्थललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सहजीकरण गर्ने नीति तथा कार्यक्रम  प्रस्तुत गरेको छ ।

प्रदेश गौरवको आयोजनाको रूपमा फर्पिङ–हुमाने भञ्ज्याङ–कलंकी–हेभी सडक यसै आर्थिक वर्षमा निर्माण शुरु गर्ने, बागमती प्रदेश चक्रपथ निर्माणको सम्भाव्यता अध्ययन शुरु गर्ने, सडक दूरी र यात्रा समय घटाउन सम्भाव्यता अध्ययनका आधारमा संघ तथा स्थानीय तह र निजी क्षेत्रको साझेदारीमा सुरुङ मार्गको विस्तृत अध्ययन कार्य अगाडि बढाउने, भौतिक निर्माणको ठेक्का कार्यान्वयनको क्रममा निर्माण कार्यतालिका (क्यालेन्डर अफ अपरेसन)को पालना गराउने र सोको आधारमा भौतिक प्रगतिको अनुगमन गर्ने जस्ता प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप