हिमपातले मनाङमा यार्सा संकलन प्रभावित
हिमपातले मनाङमा यार्सा संकलन प्रभावित भएको छ । यार्सा संकलन सिजन सुरु भएसँगै लेक गएका यार्सा संकलकहरू हिमपातका कारण ओडारमा बसेका छन् । केही दिनअघिदेखि वर्षासँगै परेको हिमपातले यार्सा संकलनमा समस्या भएको मनाङ नासोंका विष्णु घलेले बताए ।
यार्सागुम्बा संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत २३ चैतमा बसेको बैठकले स्वीकृति दिएपछि मनाङसँगै गोरखा, लमजुङका स्थानीय पनि यार्सागुम्बा संकलन गर्न मनाङको लेकमा पुगेका थिए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार मनाङभरि करिब एक हजार पाँच सयदेखि दुई हजार जनाको हाराहारी संकलक लेकमा पुगेका छन् । चार हजार पाँच सय मिटरमाथि हिमपात हुनसक्छ । त्यही ठाउँमा यार्सा पाइन्छ । लेकमा हिमपात भएकाले यार्सा संकलक प्रभावित भएको हुन सक्ने उनले बताए । यार्चा संकलनका लागि बाहिरी जिल्लाका मात्रै नभएर मनाङी पनि लेकमा पुगेका छन् । संकलकलाई एक्याप मातहतको संरक्षण क्षेत्र व्यवस्थापन समितिले पुर्जी जारी गर्ने गरेको छ ।
गत वर्ष स्थानीय र जिल्लावासीले मात्रै यार्सा टिपेका थिए भने त्यसअघिको वर्ष कोरोना संक्रमण जोखिमका कारण यार्सा संकलन बन्द थियो । संकलन गर्न आउनेका लागि स्थानीयलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ तोकेको छ । जिल्लावासीलाई १५ हजार रुपैयाँसम्म र जिल्ला बाहिरका व्यक्तिलाई २० हजार रुपैयाँ तोकेको छ । कतिपय लेकमा प्रतिव्यक्ति ३५ हजारसम्म लिने गरेको यार्सा संकलकहरू बताउँछन् ।
एक्यापका अनुसार गतवर्ष ८१ किलो यार्चा संकलन भएकामा २४ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको तुलनामा यस पटक बढी संकलन हुने अपेक्षा छ । मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा संकलन गर्न जाने संकलकहरूले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान छ ।
मनाङको नाम्ग्य खर्क, किचो लेक, यक खर्क, घुम्रे लेक, पिसाङ लेक, नाप्ले लेक, फुकु लेक लगायतका लेकहरु यर्सागुम्बा बढी पाइने स्थानमा पर्दछन् । जिल्ला भित्र यार्सागुम्बाको सिजन सुरु भएसंगै सुरक्षा ब्यबस्थामा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी प्रेमसागर केसीले बताए ।
मनाङमा वैशाखदेखि असार मसान्तसम्म यार्सागुम्बाको लागि उपयुक्त सिजन हाे । यार्सागुम्बा खोज्ने क्रममा ०६६ सालमा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सात जनाको स्थानीयवासीले हत्या गरीदिएपछि मनाङको साविकको नार र फु गाबिसमा यार्सा संकलन रोकिएको थियो । नार घटनापछि एक्याप मनाङले यार्सा संकलनलाई व्यवस्थित बनाउन थालेको छ । चार वटा स्थानीय तह रहेको रहेको मनाङमा धारापानी र थोंचेबाहेक सबै लेकमा यार्सागुम्बा पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण