बालेन विद्रोहको सन्देश
“चुनाव जित्ने कुरामा चुनौती छ तर असम्भव छैन, तपाईं हेर्दै जानुहोला म चुनाव जित्छु ।” चुनावअघि एक पत्रकारको प्रश्नमा बालेन साहले भनेका थिए । आज उनै बालेन काठमाडौँको मेयरमा मूलधारका पार्टीका उम्मेदवारलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका छन् । उनले सानै उमेरमा देशको सङ्घीय राजधानी रहेको काठमाडौंको नेतृत्व गर्ने अवसर पाए । चुनावअघि बालेनले जित्लान् भनेर कसैले कल्पना गरेको पनि थिएन । सामाजिक सञ्जालमा बालेनले चुनाव जिते भने म यसो गर्छु र उसो गर्छु भनेर होडबाजी गरेर बालेनलाई उडाउने र मजाक गर्नेको कमी थिएन । उनलाई हाँसोको पात्रसमेत बनाइयो । तर बालेन धैर्यवान् भएर एकोहोरो लागिरहे र चुनाव जितिछाडे ।
बालेन साहको जितसँगै देशभर एक प्रकारको तरङ्ग पैदा भएको छ । यो जितले दलहरू र विशेष गरी दलका ठूला नेता भनाउँदाहरूलाई झापड नै भएको छ । विभिन्न दलका नेताहरू रुन्चे स्वरमा अब हामी सुध्रनुपर्छ भन्दै सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिइरहेका छन् । बहुदलीय व्यवस्थामा स्वतन्त्रबाट चुनाव लडेर जित्नु र जनताले पनि स्वतन्त्र उम्मेदवारलाई पत्याउनु एक सोचनीय विषय हो । देशभरबाट बाह्र जनाले स्वतन्त्रमा लडेर पालिका प्रमुखमा निर्वाचित भएका छन् । प्रतिशतका हिसाबले यो ठूलो आँकडा ठुलो त होइन तर सन्देशको हिसाबले यो महत्त्वपूर्ण कुरा हो ।
परम्परागत दलहरूको गलत हर्कतका कारण ठूलो सङ्ख्यामा युवा अन्यन्त्र मोडिए । बालेनले ल्याएको भोट विद्रोहको भोट हो । नेगेटिभ भोट हो । करिब सत्तरी वर्ष लामो इतिहास भएका दलहरूले नागरिकलाई गरेको उपेक्षा विरुद्धको भोट हो । विकास र समृद्धिका लागि भोकाएका नागरिकको भोट हो । देशमा भएको भ्रष्टाचार, अपारदर्शिता, बेथिति, विसङ्गति, अन्याय र विभेद विरुद्धको अभिमत हो । राजनीतिक दलहरूले नागरिकलाई रैती र भोट बैङ्क मात्र ठानेर गरिएको व्यवहार र उनीहरूको गलत प्रवृत्ति विरुद्धको विद्रोह हो ।
एउटा ठिटो जो पढे लेखेको छ । काठमाडौंमा जन्मिएर हुर्कियो । दलहरूको राज्य सञ्चालन गर्ने तौरतरिका देख्यो । उसलाई चित्त बुझेन, ऊ दुःखी भयो । उसलाई सहर देखेर पीडाबोध भयो । छाती पोल्यो । मनमा छटपटी भयो । रातमा निद्रा र दिनमा चैन भएन । चारैतिरबाट उकुसमुकुस भयो र आफैँ मेयरमा लडेर जित्छु र जितेर काठमाडौं बनाउँछु भन्ने सगरमाथाझैँ चट्टानी सङ्कल्प लिएर अगाडि आयो । आफ्ना कुरा सबैलाई भन्दै हिँड्यो । चोक चोकमा गएर सुनायो । मिडियामार्फत सुनायो । केटाकेटी बूढाबूढी सबैलाई सुनायो । सहर बनाउने योजना र भिजन दियो । अन्ततः काठमाडौंका मतदाताले उनै अटल, शान्त, शालीन, योग्य र भरपर्दो व्यक्तिलाई मेयरमा चुने ।
आवधिक निर्वाचनमार्फत जनताको अभिमतबाट जनप्रतिनिधि छान्ने कुरामा कोही कसैले रोक्न सक्दैन भन्ने सन्देश काठमाडौंले दियो । जनता सार्वभौम छन् । जनताको आदेशबाट परिवर्तन कसरी सम्भव रहेछ भन्ने कुरा काठमाडौंका जनताले पुष्टि गरेर देखाइदिए । जनतालाई कमजोर नठान, जनता जनार्दन हुन्, प्रजातन्त्रमा जनता नै सर्वोपरी हुन् भन्ने मान्यता र वास्तविकतालाई महानगरका मतदाताले प्रमाणित गरिदिए । जनताको गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षामाथिको खेलवाड र बेवास्ता गर्दाको परिणाम जनताले सिद्ध गरिदिए ।
समय गतिशील र परिवर्तनशील छ । राजनीतिक दलहरूको यथास्थितिवादी सोच, आचरण र व्यवहारको विद्रोह नै बालेनको जित हो । जनताको परिवर्तनको भोक कति छ भन्ने कुरा बालेनले बुझे, त्यसैले जिते । काठमाडौंका युवा जसले देशलाई सन्देश दिन सक्छ भन्ने कुरा प्रमाणित गरेर देखाए । मेयरमा परम्परागत दलहरू नेपाली काँग्रेसले परिवारवादमा आधारित भई टिकट दियो, एमालेले सधैँभरी विवादित व्यक्तिलाई टिकट दियो । जसको फाइदा बालेनलाई भयो । परम्परावादी दलका व्यक्तिलाई जितायो भने केही नहुँदो रहेछ भन्ने राम्रोसँग बुझेर नै योग्य व्यक्तिको रुपमा बालेनको पक्षमा माहोल बन्यो ।
व्यक्तिका राम्रा दिन आए भने सबै कुरा मिल्दै जान्छ । बालेनको पक्षमा आएको जनलहर अप्रत्यासित र अपत्यारिलो नै छ । चुनाव अगाडिसम्म गीत सङ्गीतमा चिनिएका बालेन एकाएक मेयरको उम्मेदवार भएर आइरहँदा सबैले मुख खुम्च्याए । कसैले विश्वास गरेनन् । एउटा दाह्री पालेको राति पनि चस्मा नखोल्ने केटोले के नै गर्ला र भन्ठाने । तर परिस्थिति बालेनको पक्षमा बन्दै आयोे । सामाजिक सञ्जाल, मिडिया आदिले बालेनलाई राम्रो कभरेज गरिदिए । उनको उच्च शिक्षा पनि इन्जिनियरिङ भएको भन्ने कुराले मानिसको आशा अझ बढेर गयो । बालेन नै भविष्य हुन् । बालेनले नै महानगर मात्र के देश नै बनाउने क्षमता राख्छन् भन्ने चर्चा चुलिँदै गयो । उनीप्रतिको चाहना, आशा र भरोसा बढ्दै गयो र ब्यालेटमार्फत् बालेनलाई जनताले पाँच वर्षका लागि काठमाडौं महानगरको जिम्मा लगाए ।
बालेनलाई राम्रोसँग थाहा छ, उनका अगाडि ठूलो पहाड छ, जसलाई फोर्नु छ । चुनाव जित्नु एउटा पाटो हो । चुनाव जितेपछि आफ्ना प्रतिबद्धता के कसरी पूरा गर्ने भन्ने अर्को पाटो हो । कुरीति र कुसंस्कारको जरा गाडेर बसेको व्यवस्थाको सामना बालेनले गर्नु नै पर्छ । स्वार्थी, लोभी र दास मनोवृत्तिको कर्मचारीतन्त्रको भित्तो फोर्नु छ । जताततै भ्रष्टाचार, व्यभिचार र दुराचार मात्र छ । सकारात्मक सोचभन्दा नकारात्मक सोचले भरिएको सामाजिक परिवेश छ । नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी, प्रदूषण, फोहोरको व्यवस्थापन र सुकुम्बासी समस्या आदि कुराले बालेनलाई थिचिसकेको अवस्था छ । उनले परम्परागत शक्तिहरूसँग जुधेर काठमाडौंवासीलाई विकास, समृद्धि, सामाजिक रूपान्तरण कसरी दिन सक्छन् त्यो भने अब उनले अगाडि गर्ने कामले पुष्टि गर्दै जानेछ ।
काठमाडौंले मात्र होइन, धरानले हर्कराज साम्पाङ, धनगढीले गोपाल हमाल र जनकपुरले मनोज साह जन्मायो । स्वतन्त्र भएर जनताको मन जितेर विजयी भएका यी प्रतिनिधि पात्रले गर्ने कामले नै भोलिको देशको भविष्य पनि निर्धारण गर्नेछ । विशेष गरी युवाहरूको साथ र सहयोग पाएका यी पात्रहरूले आउँदो पुस्ताका लागि भनेर राम्रो काम गर्दै गए भने देशले विकासको गति लिनेछ । नेपालीको मुहारमा मुस्कानको सुरुवात हुनेछ । देश बन्ने सपना साकार हुनेछ । यद्यपि यी पात्रहरूले पनि पुराना दलहरूझैँ कर्मकाण्डी मात्र बन्दै गए भने नेपाल र नेपालीको सपना टुट्न सक्छ र देश बर्बादीतिर पनि जान सक्छ ।
हालका केही मुठी भरीका दलका नेताहरूले देशलाई बन्धक बनाउँदाको उपज बालेन उदयको परिणाम हो । दलहरूले आफूलाई समय सापेक्ष ढङ्गबाट परिमार्जित र रूपान्तरित गरेनन् । जनताको भरोसा बन्न सकेनन् । राजनीतिक व्यवस्था त बदले तर नागरिकको अवस्था बदल्न सकेनन् । एउटै नेता वर्षौंसम्म कुर्सीमा बस्ने तर केही काम नगर्ने, गफ मात्र गर्ने, राजसी छाँट देखाउने गरे । जनताका दुःखको सारथि नबन्दा के हुन्छ भन्ने कुराको सन्देश नै बालेनको अहिलेको जित हो ।
बालेन एउटा व्यक्ति हो । उसैले सबै कुरा गर्न सक्छ भन्ने होइन । तर विकास र समृद्धिको नेतृत्व गर्न सक्छ । सबैसँग सहकार्य गरी आफ्नो भिजनमा कन्भिन्स गरेर समस्याहरूलाई सामूहिक रूपमा निवारण गर्न सक्छ । यो चाहिँ नेतृत्वको खुबी हो । सबैको सहभागिताले मात्र विकास सम्भव छ भन्ने बुझेर समाजका विभिन्न वर्ग र पक्षसँग एकता, सहमति र सहकार्य गरेर मात्र बालेन सफल हुन सक्छन् ।
बालेन एक्लैले के नै गर्न सक्छन् र भन्ने यथास्थितिवादीहरूको अहिलेको आशङ्कालाई बालेनले चिरेर नयाँ सोच र भिजनका साथ काम गरे भने उनी उदाहरणीय बन्न सक्छन् । दिल्लीका केजरीवालले चुनाव जित्दा उनलाई पनि पत्याइएन तर उनले सबै चुनौतीहरूलाई चिरेर आज उदाहरणीय कार्य गरिरहेका छन् । देश बनाउन हरेक देशको इतिहासमा एउटा गतिलो व्यक्ति जन्मनु नै पर्छ । जस्तै सिङ्गापुरको विकासका लागि ली क्वान यु जन्मिए । मलेसियाको विकासका लागि महाथिर विन मोहम्मद जन्मिए । त्यस्तै नेपालको विकास र समृद्धिका लागि बालेन साह जन्मिएका त होइनन् ?