बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बालेन रथको सारथि बनेका सुमन सायमी

सोमबार, १६ जेठ २०७९, ११ : ०५
सोमबार, १६ जेठ २०७९

काठमाडौं महानगरपालिकाको मत परिणाम आएपछि शुक्रबार दुई स्वतन्त्र उम्मेदवार एकै ठाउँ देखिए । महानगरपालिकाको मेयरमा निर्वाचित बालेन साहको धन्यवाद र्‍यालीमा सँगसँगै देखिएका थिए अर्का मेयरकै प्रत्यासी सुमन सायमी । उनीहरू एउटै गाडीमा चढेर धन्यवाद र्‍यालीमा सहभागी भए ।

सायमी सँगै मात्र थिएनन्, उनले नवनिर्वाचित मेयर बालेनलाई सहयोग गर्ने सङ्केत दिइरहेका थिए । यसरी आफ्नै प्रतिस्पर्धीको विजयी (धन्यवाद) र्‍यालीमा सहभागी भएको उदाहरण कमै छ । चुनावअघि सायमीको खासै चर्चा भएन । बालेनका तुलनामा उनले मिडियामा एकदमै कम पहुँच पाए । यद्यपि उनले १३ हजार ७ सय ७० मत ल्याउन सफल भए । यो मत काठमाडौंवासीले आन्दोलनको पक्षमा दिएको मत रहेको कतिपयको विश्लेषण छ । यसअघि काठमाडौंको गुठीलगायतका सम्पदा संरक्षणमा आन्दोलनको नेतृत्व गरेकाले पनि यस्ता टीकटिप्पणी भएका हुन् ।

कतिपयले भने धरानका हर्क साम्पाङसँग पनि सुमन सायमीको चर्चा गर्ने गरेका छन् । धरानमा हर्क मेयरमा निर्वाचित भए पनि यता सायमीले भने त्यस्तो धेरै मत ल्याउन सकेनन् । तर सरल मान्छे, सधैँ सरल नै रहन्छ । प्रतिद्वन्द्वी बालेनको जितमा उनी उत्साहपूर्वक सहभागी भए ।

कुल ५५ जना मेयरको प्रत्यासी रहेका काठमाडौं महानगरपालिकामा बालेनसँगै सायमीलाई पनि चर्चाको रूपमा हेरियो । त्यसको कारण थियो, काठमाडौंको संस्कृति संरक्षणका अग्रणी अभियन्ताका रूपमा रहेको उनको भूमिका ।

सायमीको चर्चा पनि सीमित एउटा वर्गमा मात्र हुन पुगेको थियो । उपत्यकाव्यापी सडक विस्तार पीडित सङ्घर्ष समितिको अध्यक्ष भइसकेका उनले काठमाडौंवासीको समस्या समाधानमा नियमित सङ्घर्ष गरिरहे । साथै उपत्यका सरोकार मञ्चक अध्यक्ष पनि थिए, सायमी ।

सायमीले काठमाडौंको समस्यालाई लिएर एक दशकदेखि सरोकार राख्दै आएका छन् । त्यसमाथि सांस्कृतिक सम्पदा संरक्षणमा उनले निरन्तर खबरदारी गरिरहे । पहिल्यैदेखि चलिआएका हरेक पर्व र संस्कृति संरक्षणको मुद्दालाई उनले सधैँ प्राथमिकतामा राखे । काठमाडौंको अस्तित्व बचाउन उनी सधैँ सक्रिय भएर लागिरहेका थिए ।

उम्मेदवार रहँदा पनि उनले फोहोर व्यवस्थापनको विषय विशेष रूपमा उठाएका थिए । अन्य उम्मेदवारले उठाएका अति महत्त्वकाङ्क्षी योजना, जस्तोः मोनोरेल, ‘स्मार्ट सिटी’को आवश्यकता नरहेको उनको भनाइ थियो । सायमीका लागि स्मार्ट सिटी भनेको काठमाडौंकै मौलिकता जोगाउनु हो । स्मार्टसिटीको नाममा यहाँ उत्पादनशील भूमि नष्ट हुन नहुने तर्क उनको छ  ।

अहिले स्थानीय तहको निर्वाचनमा उनले यस्तै सपना जनतालाई देखाए । चुनावी मैदानमा होमिए । जस्तो– धरानका हर्क साम्पाङले खानेपानीजस्तो सामान्य मुद्दा उठाएर चुनाव जिते, यता सायमीले पनि काठमाडौंको अस्तित्व रक्षा गर्ने खालका मुद्दा उठाएर ध्यानाकर्षण गर्न धेरै हदसम्म सफल भए ।

गैरकानुनी रूपमा विस्तार गरिएको सडकको मुद्दामा उनले लामो समय सङ्घर्ष गरिरहे । यहाँको भाषा, संस्कृति, मठ मन्दिर, गुठी संरक्षणजस्ता मुद्दा पनि उनका प्राथमिकतामा थिए । केपी ओली सरकारले ल्याएको गुठी विधेयकको विरुद्धमा पनि उनले अग्रस्थानमा रहेर आन्दोलन गरे । खासमा भन्दा सायमी परापूर्वकालदेखि मान्दै आएको मठमन्दिर, विहार बही, ननी, चुक, गुम्बा, चैत्य, पाटी पौवा फल्चा, गुठी, भाषा, लिपि, जग्गा जमिन  र थाकथलो सुरक्षामा लाग्दै आएका अभियन्ता हुन् । 

सायमी अभियानमा होमिएदेखि व्यवसायमा सक्रिय छैनन् । उनले सामाजिक सरोकारको विषयलाई लिएर निरन्तर आवाज उठाइरहेका छन् । विकासका नाममा घरमा लगाइने डोजर, मिचिने भूमि बचाउन र भाषा, संस्कृतिमा अतिक्रमण नहोस् भनेर निरन्तर आन्दोलनरत छन् ।

उनको यस्तै आचरणको चर्चा गर्दै लेखक नारायण वाग्ले भन्छन्, मेयर उम्मेदवार सुमन सायमीलाई प्राप्त नौ प्रतिशत स्वतन्त्र मत काठमाडौंका रैथाने भूमि, भाषा, संस्कृति, पहिचान मास्ने ‘विकास’ विरुद्धको अभिमत हो । त्यो पक्ष यहाँ सुनिनुपर्ने प्रतिपक्ष हो ।”

वाग्लेले भनेझैँ सायमीले पाएको करिब १३ हजार मत काठमाडौंको सम्पदा संरक्षणकै लागि आएको मत हो । मौलिकता जोगाउन आएको यो मत सधैँ काठमाडौंको प्रतिपक्षी मत हो । यो मत ‘कोर सिटी’ भनिएको काठमाडौंको भित्री भागमा देखिएको थियो ।

कोर सिटी’मा पुगेपछि सायमीको आँखीझ्यालमा राम्रै मत खस्न थाल्यो । मतगणनास्थलमा रहेका प्रतिनिधिअनुसार जब आँखीझ्यालमा मत आउँथ्यो, तब ‘को हुन् सायमी ? भन्ने चासो बढ्थ्यो । सायमीको व्यक्तित्वलाई लिएर सबैले चासो लिन थाले । त्यसबेलै सायमीले आफूलाई चिनाउँथे ।

को हुन् त सायमी ?

कम्युनिस्ट नेता जीवनराज मानन्धरका छोरा हुन् सायमी । बुबा राजनीतिज्ञ भए पनि उनी भने त्यति सक्रिय थिएनन् । दलीय राजनीतिमा उनले भाग लिएनन् । यद्यपि सामाजिक कार्यमा भाग भने लिइरहे । मेयरको उम्मेदवारीपछि मात्रै उनको खास राजनीति सुरु भएको थियो ।

यसअघि भने उनी अभियन्ताकै रूपमा चिनिन्थे । अभियन्ता हुनु १० वर्षअघि उनी व्यवसायी थिए । कालीमाटीमा रहेको पुख्र्यौली मिठाइ पसल चलाइरहेका छन् सायमी । स्वीट केभ (जीवन दाइया पसः) नामक् पसलमा उनी सात कक्षादेखि नै बस्थे, मिठाइ बेच्थे । पछि १० जना बाल्यकालका साथी मिलेर पार्टी प्यालेस नै खाले ।

यसरी व्यवसाय चलाएका उनी अभियानमा होमिएदेखि व्यवसायमा सक्रिय छैनन् । उनले सामाजिक सरोकारको विषयलाई लिएर निरन्तर आवाज उठाइरहेका छन् । विकासका नाममा घरमा लगाइने डोजर, मिचिने भूमि बचाउन र भाषा, संस्कृतिमा अतिक्रमण नहोस् भनेर निरन्तर आन्दोलनरत छन् ।

जब ०७२ सालमा भूकम्प गयो, त्यही ताकादेखि उनी सामाजिक कार्यमा सक्रिय हुन थाले । धेरैको घरबास उठेको समयमा सोही सालको अन्त्यतिर कालीमाटी तरकारी बजार नजिकै प्रहरी प्रशासनसहितको टोली डोजर लिएर आइपुग्यो, त्यो पनि घर भत्काउन ।

सायमीको पुरानो घर सोही क्षेत्रमा पथ्र्यो । उनी मिठाई किन्ने ग्राहक कुरेर बसेका थिए । तर डोजरले घर नै भत्काउन थाल्ने देखेपछि उनले सहन सकेनन् । सुरुमै भूमिगत भएकाले बेला बैठक बस्ने वामपन्थीहरूको घर भत्काउने तयारीमा डोजर थियो । जुन घरमा मदन भण्डारी, केपी ओली, सीपी मैनालीलगायतका नेताहरू आवतजावत गरिरहन्थे ।

डोजर उपत्यका विकास प्राधिकरणले पठाएको थियो; जसले त्यस दिन उनीसँगै अन्य स्थानीयको घर भत्काउँदै थियो । एकाएक डोजरले त्यस्तो गर्न लागेको पाएपछि सायमी थामिन सकेनन् । उनले प्रतिकार गरे । त्यस दिनबाट सायमीले आफ्नो घर रक्षाका लागि मात्र प्रतिकार गरेनन्, सिङ्गो काठमाडौंको अस्तित्व रक्षामा उनी लागे । फलस्वरूप उनले भित्री भागबाट राम्रै मत पाएको देखिन्छ । अबको संसदीय निर्वाचनमा पनि प्रतिस्पर्धामा उत्रने तयारी उनले थालिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अग्रिम अधिकारी
अग्रिम अधिकारी
लेखकबाट थप