बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

प्रयोगविहीन जग्गामा भेटिवरको खेतीः आर्थिक क्रान्ति सम्भव

बगरले बनाउन सक्छ बेघरबारको जिन्दगी
सोमबार, १६ जेठ २०७९, १० : ३६
सोमबार, १६ जेठ २०७९

बाढी पहिरो र नदीको भेलका कारण नेपालमा बर्षेनी ठूलो परिमाणमा खेतीयोग्य जग्गा बगरमा परिणत भएर प्रयोगहीन अवस्थामा पुगिरहेको छ । अहिले नै करिब ५ लाख हेक्टर यस्तो जग्गा प्रयोगविहीन अवस्थामा छ । खेतीयोग्य जग्गा न्यून हुँदै गएको र उत्पादन पनि कम हुँदै गर्दा पोषणयुक्त खाद्यान्न र  खाद्य असुरक्षाको ठूलो जोखिममा विस्तारै धकेलिदैं गएको अवस्थालाई नकार्न सकिन्न । उत्पादन कम हुँदा नेपालमा कृषिजन्य वस्तुको वार्षिक व्यापार घाटा झण्डै २ खर्ब छ । 

यसरी बगरमा परिणत भएको र अन्य कारणले प्रयोगविहीन अवस्थामा पुगेको जग्गालाई भेटिवरको सहयोगमा सदुपयोग गर्दा कृषिमा देखिएको व्यापार घाटाको समस्या कम गर्न सकिन्छ । साथै जडिबुटी, उच्च मूल्यका कृषि उपज, इन्धन, अर्गानिक मल, फलफूल,  तरकारी, गेडागुडी, भेटिवरका सहउत्पादनहरु, चिनी, कागज, डेरी उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थमा आत्मनिर्भर हुन सकिन्छ । आवश्यकताभन्दा बढी भएको उत्पादनलाई निर्यात गरेर वैदेशिक मुद्रासमेत आर्जन गर्न सकिन्छ । 

के हो भेटिभर ?

जुनसुकै हावापानी र जस्तोसुकै जमिनमा पनि उम्रन सक्ने क्षमता भएको भेटिवर झट्ट हेर्दा कुशजस्तो देखिने घाँस हो । यसको वैज्ञानिक नाम क्रिसोपोगन जिजानियोइड्स हो । यसलाई खस खस भनेर पनि चिनिन्छ । बाह्रै महिना उम्रिने यो गुच्छेदार घाँस हो । साढे १ मिटर (५ फिट) सम्म अग्लो हुने यसका पात उखुको जस्तो तर अलि साँघुरो हुन्छ । यसको डाँठ भने सिधा र कडा हुन्छ । यसको टुप्पोमा स–साना खैरो प्याजी रंगका फूल फुल्छन् । यसको सबैभन्दा महत्वपूर्ण भाग जरा हो । तारजालीजस्तै फैलिने यसको जरा जमिनमुनि ३ मिटर (१० फिट) भन्दा तलसम्म पुग्छ भने जमिनमाथि यो लगभग ५ फिट उचाईसम्म जान्छ । 

यो ठूलो चमत्कारिक बिरुवा हो । यसको जरा सुगन्धित हुन्छ । यस अम्लीय र क्षारीय दुवैखाले गुण भएको माटोमा घाँस सजिलै उमार्न सकिन्छ । निकै छिटो बढ्न सक्ने यसको अर्को महत्वपूर्ण पक्ष हो । मलेसियामा गरिएको अनुसन्धानले यो घाँस प्रतिदिन ५ सेन्टिमिटरका दरले ६० दिनभन्दा बढी समय बढ्ने गरेको पाइएको छ । हुर्किएको ६ महिनामा नै यसको जरा फैलिएर बिग्रिएको पानीको बहावसँगै बग्न लागेको माटोलाई निकै कडाईका साथ एकापसमा जोडेर समातेर राख्ने गर्छ ।  

नेपालमा बाढी पहिरोको जोखिम उच्च भएकाले यो घाँसको प्रयोगको ठूलो आवश्यकता छ । बगरसहित प्रयोगविहीन जग्गामा भेटिवरको रोपण अपरिहार्य छ । भेटिवरको खेती गरेपछि उक्त जग्गा उर्वर भूमिमा परिणत हुन्छ । नेपालमा खेतीयोग्य ठूलो जग्गा बर्षेनी बगरमा परिणत भएकाले यस्ता जग्गालाई भेटिवरको सहयोगमा पुनः कृषि भूमिमै फर्काउन किसानलाई सहयोग गर्न नीतिगत व्यवस्था गर्न आवश्यक छ । 

बाढीबाट नदी नियन्त्रण र पहाडी भेगमा भूक्षय गएर सडक, बस्तीमा पहिरोको जोखिम निम्तिने खतरालाई भेटिवरकै सहयोगमा व्यवस्थापन गर्न सकिन्छ । वायो इन्जिनियरिङ्ग प्रविधिभन्दा अहिले चलन चल्तिमा रहेको इन्जिनियरिङ्ग प्रविधि निकै खर्चिलो छ । यसको प्रयोग निकै प्रभावकारी मानिएपनि नेपालमा भेटिवरको प्रयोगको अभ्यास निकै कम छ । 

यो लामो समयसम्म उत्पादन हुने घाँस हो ।  खडेरी प्रतिरोधी, नुनिलो र पानी जमेको स्थानमा पनि सजिलै यो घाँस लगाउन सकिन्छ । यसले भूमिगत पानीलाई रिचार्ज गर्न पनि सहयोग प्रदान गर्छ । यसले प्रदूषणयुक्त पानीलाई शुद्धीकरण गरी पानीको गुणस्तरमा सुधार गर्ने प्रक्रियामा उल्लेखनीय भूमिका खेल्दछ । यसबाहेक फलाम तथा अन्य खानी भएको भूमिलाई पनि उर्वर भूमिमा परिणत गरिदिने चमत्कारिक घाँस हो यो । www.vetiver.org मा भेटिवरका बारेमा धेरै जानकारी उपलब्ध छ ।

भेटिवरले अधिकतम दिगो विकास सूचकलाई (SDG)  आत्मसाथ गर्दछ ।

भेटिवरबारे प्रस्तावना र अवधारणा 

प्रयोगविहीन र काम नलाग्ने अवस्थामा रहेका पर्ति, खोला उकास, बाढीको बालुवा र ढुङ्गाले पुरेर बनाएको बगर जग्गा, ऐलानी तथा अन्य प्रकारका अव्यवस्थित जग्गा सरकारले कम्तिमा लामो अवधिको लागि भाडामा उपलब्ध गराइदिनुपर्छ । 

बाढीले बगरमा परिणत गरेको करिब ५ लाख हेक्टर जग्गालाई पुनः उर्वरमय बनाउन सकिन्छ । यो ५ लाख हेक्टर जग्गालाई कृषि यान्त्रीकरणको सहयोगमा व्यवसायिक र आधुनिक तवरले पर्माकल्चरमा आधारित एग्रो फोरेष्ट्रीको अवधारणा कार्यान्वयनमा ल्याउन सक्ने योजनालाई साकार पार्न सकिन्छ । बाढीले बगर बनाइदिएको जग्गालाई पूर्व अवस्थामै ल्याएर किसानको जीवनस्तर सुधार्न सकिन्छ । यस्तो अवस्थामा सरकारले जग्गा उपलब्ध गराउन सके उपयोगविहीन जग्गाको सदुपयोग गरी कृषिमा क्रान्ति गर्न सकिन्छ । 

यस्तो जग्गाको सदुपयोग गरी प्रमुख खाद्यान्न, तरकारी, फलफूल, गेडागुडी, जडिवुटीजन्य बस्तुको पर्याप्त परिमाणमा दिगो उत्पादन गर्न सकिन्छ । साथै कृषिजन्य उद्योग कलकारखानालाई आवश्यक पर्ने विभिन्न प्रकारका कच्चा पदार्थ दिगो रुपमा उपलब्ध गराउनुका साथै सरकारी सहयोगमा २० देखि २५ लाख युवाशक्तिलाई स्वदेशमै रोजगारीको अवस्था सिर्जना गर्न सकिन्छ । 

यसमा बाढीले बगरमा परिणत गरेका जग्गाधनी किसानलाई पनि रोजगारीको अवसरमा जोड्न सकिन्छ । यसका साथै बायो इनर्जीको ग्यारेन्टी, अर्थतन्त्रमा टेवा, खाद्य तथा पोषणयुक्त खाद्य पदार्थको उत्पादन र सुरक्षा, स्वच्छ वातावरण, रोजगारको ग्यारेन्टी, वैदेशिक व्यापार घाटालगायतका क्षेत्रमा ठूलो सहयोग गर्न सकिन्छ ।

यो घाँसको सहयोगमा बाढीको प्रभावलाई अधिकतम मात्रामा कम गर्न सकिन्छ । भेटिभरले खोलोलाई नियन्त्रण गर्दै माटोको कटानलाई रोक्न सकिन्छ । साथै बगरमा परिणत भएको जग्गालाई सधैको लागि कृषियोग्य जग्गाको रुपमा फर्काउन सकिन्छ । भेटिवर एउटा वायो इन्जिीनियरिङ्ग टुलका साथै सस्टेनेवल एग्रीकल्चर र गरिवी निबारण गर्ने ठुलो माध्यम हो । भेटिभर ड्याम (बाँध) को काम गर्न सक्षम छ । जहाँबाट जग्गा कटान भएको छ, त्यहाँ भेटिभर रोपेमा पुनः त्यहाँ बाढी आउँदा रोक्न सक्षम हुन्छ । 

जीवन दिन्छ भूक्षय र बगर खेतलाई 

गरिबी र वेरोजगारी समस्या समाधान गर्न, उत्पादन बृद्धि गर्न, पोषणयुक्त खाद्य सुरक्षाको ग्यारेन्टी गर्न, रोजगारको प्रत्याभूति, इनर्जी सेक्युरिटी, राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन र स्वच्छ वातावरण तयार पार्न एउटै सर्वोतम विकल्प हो, कृषितन्त्र । 

नेपालमा प्रतिव्यक्ति सिँचित जग्गाको स्वामित्व ०.०७ हेक्टर मात्रै छ । यो सानो क्षेत्रफलले व्यवसायिक र आधुनिक प्रणालीबाट कृषि कर्म गर्न सम्भव छैन । न त कृषिमा आत्मनिर्भर भएर बढ्दो आयात दरलाई कम गर्न सक्छौं । अर्को महत्वपूर्ण पाटो व्यवसायिक, अत्याधुनिक र वैज्ञानिक तबरबाट कृषि खेतीपाती गर्न उपयुक्त क्षेत्रफल भएको जग्गा पनि उपलब्ध छैन । 

स–साना टुक्रामा बाँडिएका जग्गाबाट अबको समयमा कृषि प्रणालीलाई अगाडि बढाउन सम्भव छैन । अब हामी कतैबाट पनि खेतीयोग्य जग्गा थप्न सक्ने अवस्थामा छैनौ । हामीसँग दुई विकल्प मात्रै छन् । एउटा प्रयोगविहीन जग्गालाई भेटिवरको सहयोगमा उर्वर भूमिमा परिणत गरी पर्याप्त उत्पादन लिने र अर्को मल्टि लेयर प्रविधिमा आधारित कृषि प्रणालीलाई आत्मसात गर्ने । 

नदी तटीय क्षेत्रमा हुने बाढीको बहाव, कटान रोक्ने मात्रै होइन, बाटोमा पहिरो भएर भूक्षय रोक्न भेटिवरले जैविक पर्खालको काम गर्ने विज्ञहरुको भनाई छ । भारत, अमेरिका, केन्या, थाइल्यान्डलगायतका मुलुकका सडक र नदी किनारमा भूक्षय रोक्न भेटिवरको प्रसस्त रुपमा रोपण गरिएको छ । 

भारतको आन्ध्र प्रदेशमा गरिएको प्रयोगले पानीको वहावमा ६९ प्रतिशत र भूक्षयमा ७६ प्रतिशत कमी आएको देखाएको छ । भेटिवरको प्रयोगले भूक्षयलाई प्रति हेक्टर ११ टनबाट ३ टनसम्म घटाएको पाइएको छ । भिरालो जमिनमा लहरै रोपिएका भेटिवरले पानीलाई रोक्ने छेकवारको जस्तै काम गर्छ । यो घाँसले पानीको बहावको गति घटाउने र पानीलाई माटोमै शोषण गरी राख्ने भएकाले भूक्षय घटाउन सम्भव भएको हो । 

आगलागी भएपनि यो ३ हप्तामा पुनः उम्रिन्छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संघ (एफओ) का साथै विश्व बैंकले समेत बाढी पहिरोबाट प्रभावित भएको कृषियोग्य जग्गामा भेटिभरको रोपण गरेर कृषिमा कायापलट गर्न सक्ने प्रतिवेदन दिएको छ ।

के के पाइन्छ भेटिवरमा ?

भेटिभरले बगरमा परिणत भएको माटोभित्रको नकरात्मक तत्वलाई सोसेर माटोलाई उर्वर बनाइदिन्छ । मृत बनेको माटोलाई भेटिवरले पूर्ण रुपमा जीवित बनाइदिन्छ । भेटिवरमा नाइट्रोजन, फस्फोरस, पोटासियम, म्याग्नेसियमजस्ता पौष्टिक तत्व भएकाले यसले कम्पोष्ट मलको काम गर्छ । भेटिभरmे कार्वनको मात्रालाई शोषण गरी यसको जराले जमिनमुनि पर्याप्त परिमाणमा नाइट्रोजन उपलब्ध गराएर माटोलाई उर्वर भूमिमा परिणत गरिदिन्छ । 

भेटिवरको पात र जराको प्रयोग गरी हस्तकलाका सामग्री निर्माण, अत्तर, सुगन्धित तेल, जलाएर चारकोल र ब्रिकेटजस्ता उपयोगी सामग्री निर्माण गर्न सकिन्छ । यसको जराको तेल नै प्रतिलिटर ३० हजार रुपैयाँमा विक्री हुन्छ । 

माटोको जैविक उपचार 

खेती प्रणालीमा आधुनिकीकरण भित्रिएसँगै मल, किटनाशक पदार्थको रुपमा विभिन्न रासायनिक पदार्थको प्रयोग बढेको छ । यसले गर्दा माटो र पानीको गुणस्तर खस्किाएको छ । ती रसायनिक पदार्थमा भएका हानीकारक रसायन (आर्सेनिक, क्याडमियम, तामा, क्रोमियम, सिसा (लिड), पारो, निकेल, सेलेनियम, जिंक) लाई माटोमा घुल्न नदिएर भेटिवरले बिग्रिएको माटोको जैविक उपचार गर्न सक्छ । वैज्ञानिकहरुले गरेको अनुसन्धानबाट हानिकारक धातुलाई माटोमा घुल्नबाट रोक्ने क्षमता अन्य वनस्पतिको तुलनामा भेटिवरमा सय दोब्बर भन्दा बढी हुने देखाएको छ । 

हानिकारक कीरा बाट कृषिवाली जोगाउन विभिन्न रासायनिक पदार्थ प्रयोग हुँदै आएको छ । यसले गर्दा माटोको उर्वर क्षमतासमेत ह्रास हुन्छ । चीनको ग्वाङ्सी विश्वविद्यालयमा गरिएको अनुसन्धानले बालीमा क्षति पु¥याउने ७९ प्रजातिका यस्ता कीरा र सुक्ष्म किटमध्ये जम्मा ४ प्रकारका प्रजातिले मात्रै भेटिवरको पातमा नोक्सान गर्न सक्छ । यसले गर्दा किट र सुक्ष्म शत्रु किटबाट जोगाउन पनि यो घाँस निकै लाभदायक मानिन्छ ।

भेटिवर घाँसको प्रयोगले बाली उत्पादन पनि बढाउने विभिन्न अनुसन्धानले देखाएको छ । खास गरी भूक्षय हुने सम्भावना भएको भिरालो जमिनमा यो घाँस लगाउँदा बाली उत्पादन बढ्ने गरेको पाइएको छ । नाइजेरियामा भेटिवरको प्रयोगले केराउको उत्पादनमा २६ प्रतिशत र मकैमा ५० प्रतिशतसम्म उत्पादन वृद्धि भएको पाइएको छ । 

भेटिबरको उपयोगिता 

विभिन्न कारणले भेटिवर मानव जातिको लागि निकै ठूलो वरदान सावित भएको छ । यसको जरा, डाँठ (काण्ड) र पात सबै लाभदायक मानिन्छ । भेटिवरको जराबाट बास्नादार तेल तयार हुन्छ  र यस्तो तेलको उच्च मूल्यका औषधी तथा अत्तरमा प्रयोग गरिन्छ । एक हेक्टरमा भेटिवरको खेती गर्दा ३ देखि ४ टनसम्म जरा उत्पादन हुन्छ । यो जराबाट करिब १५ लिटर तेल उत्पादन गर्न सकिन्छ । यस्तै यसको पातको प्रयोग गरी इथानोल उत्पादन गर्न सकिन्छ । चिनी र उखुको वैकल्पिक रुपमा पनि यो घाँसलाई प्रयोग गर्न सकिन्छ ।

भारत र नाइजेरियामा त साँध छुट्टयाउनका लागि पनि यसको प्रयोग गरिएको छ । जिम्बाबे, मौरिससलगायतका मुलुकका किसानले बालीनाशक झारबाट बालीलाई जोगाउन यो घाँस लगाउने गरेका छन् ।

भेटिभरसहित नैपियर घाँस, सोइजन (मोरिङ्गा), बाँस, उखु, मकै, अश्वगन्धा, बेसार, गेडागुडी, फलफूल, तितेपाती, दलहनजस्ता बहुगुणी वालीको खेती गर्न सकिन्छ । अहिले मुलुकमा देखिएको विभिन्न प्रकारका खाद्यान्न, फलफूल, तरकारी, दलहन, तेलहन बस्तुको अभाव, खाद्य असुरक्षा र कुपोषणजस्ता समस्या पनि यसको खेतीबाट अन्त्य गर्न सकिन्छ । 

आवश्यकता लगानीको 

बगरमा परिणत जग्गामा २–३ बर्ष लगानी र अथक परिश्रम गर्नुपर्छ । तर यसपछि यसले ठूलो प्रतिफल  दिन्छ । सुरुमै यो जग्गाको प्रयोग गरी ठूलो पैसा आर्जन गर्ने सोच र सपना देख्नु हुन्न । खर्चको मूख्य भाग जनशक्तिमै जान्छ । आखिर श्रोत साधन त हाम्रै देशमा रहने भयो । तसर्थ यस्तो लगानी राष्ट्रिय हितमा नै छ । यसपछि दोश्रो लगानी बोटविरुवा रोपण, रेखदेख र हुर्काउनलगायतमा लाग्नेछ । 

बहु आम्दानीको श्रोत 

एग्रो फरेष्ट्री तथा पर्माकल्चरको सिद्धान्तमा बगरमा परिणत जग्गामा एकल वालीभन्दा बहु जातका बाली लगाउनु पर्दछ । ‘भर्टिकल तथा हरिजेण्टल’ खेती प्रणालीअनुसार भेटिवर, नैपियर घाँस, बाँस, अश्वगन्धा, सितलचिनी (मोरिंगा–सोइजन), फलफूल, धान, मकै,  गहुँसहित  विभिन्न प्रकारका बहुमुल्य जडिबुटी, लहरेबाली, कोशेवाली, तरकारी बाली,  उखुवाली, माटो मुनि हुने वाली (आलु, गाजर, सखरकण्ड, तरुललगायत), ठूलो रुख बिरुवा (आँप, कटहर, लिची, केरालगायत), दाल, तेलहनवाली, विभिन्न प्रकारका घाँसेवालीलगायत दुई दर्जनभन्दा बढी बाली एकै पटक लगाउन सकिन्छ । 

जोडौं औद्योगिक उत्पादनसँग 

यस्तो वालीबाट आउने विभिन्न प्रकारका कच्चा पदार्थको सहयोगमा चिनी, कागज, डेरी, प्रशोधित तथा सुगन्धित तेल र अत्तर उद्योग आदि दीर्घकालीन रुपमा सञ्चालन गर्न सकिन्छ । विभिन्न प्रकारका बोटविरुवाको पात, डाँठ र झारपातबाट बायोमास, वायोमासबाट वायो ग्यास र वायो ग्यासबाट सीएनजी पनि ठूलो परिमाणमा उत्पादन गर्न सकिन्छ । यसबाहेक यस्तो जग्गामा पशुपालनदेखि माहुरी पालन पनि गरी पर्याप्त परिमाणमा महसमेत उत्पादन गर्न सकिन्छ । 

बालीहरु भ्यालु चेनको आधारमा थप अर्को उत्पादन लिन सकिन्छ । विभिन्न प्रकारका जडिवुटीबाट औषधीजन्य उत्पादन गर्न सकिन्छ । गुणस्तरीय औषधी उत्पादन गरी ग्लोबल मार्केटिङ गरी नेपालको मल्टिनेशनल ब्राण्ड नै स्थापना गर्न सकिन्छ । यसका साथै यसलाई एग्रो टुरिज्मको अवधारणासँग पनि जोड्न सकिन्छ ।

भेटिभरको तेल, वायोमास तथा जरा बिक्री गरेर किसानले राम्रो आम्दानी लिन सक्षम हुन्छन् । यसबाहेक उनीहरुले कार्वन क्रेडिटबाट लाखौं रुपियाँ बराबरको आय आर्जन गर्न सक्छन् । नेपालमा कार्वन उत्सर्जन बार्षिक करिब ८० लाख टन छ । यो योजनाअनुसार वायो इनर्जीको उत्पादनले यो उत्सर्जनलाई पूर्ण रुपमा निषेध गर्न सकिन्छ । जुन निषेध भएपछि कार्वन उत्सर्जनको क्वान्टम त्यसै पनि निकै न्युन हुन जान्छ ।

एक हेक्टरबाट औषत ४५ टन वायोमास उत्पादन हुन सक्छ । यस हिसाबले ५ लाख हेक्टरबाट २ करोड २५ लाख टन वायोमास उत्पादन गर्न सकिन्छ । यो वायोमासलाई प्रशोधन गर्दा कम्तिमा १ करोड ८० लाख टन अर्गानिक मल उत्पादन हुन सक्छ । यस्तै प्रचुर परिमाणमा वायो ग्याससहित वायो सीएनजी उत्पादन गर्न सकिन्छ । वायो ग्यासको सदुपयोग गरी अहिले खाना पकाउन प्रयोग हुने एलपी ग्यासलाई विस्थापित गर्न सकिन्छ ।

आर्थिक रुपमा हेर्दा अर्गानिक मल प्रति किलो १० रुपैयाँका दरले मात्रै हिसाव गर्दा १ खर्ब ६३ अर्ब २९ करोड ३२ लाख मूल्य बराबरको १ करोड ८० लाख टन अर्गानिक मल तयार हुन्छ । अहिले नेपालमा मल आयात गर्नका लागि सरकारले करिब ११ देखि १५ अर्ब रुपैयाँसम्म अनुदान उपलब्ध गराउँदै आएको छ । इन्धनको नाममा हुने ठूलो आयातलाई पनि यसको सहयोगमा धेरै हदसम्म प्रतिस्थापन गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम गोयन्का
श्याम गोयन्का
लेखकबाट थप