बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धरानका मेयर–उपमेयर अल्पमतमा : नगरसभा र कार्यपालिकामा एमाले निर्णायक

सोमबार, १६ जेठ २०७९, १० : ०६
सोमबार, १६ जेठ २०७९

सुनसरीको धरान उपमहानगरपालिकामा १०२ जनप्रतिनिधि निर्वाचित भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट धरानवासीले आगामी पाँच वर्षका लागि १०२ जना जनप्रतिनिधि छानेका हुन् । मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) २० हजार ८२१ मत ल्याए निर्वाचित हुँदा उपमेयरमा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा विजयी भएका हुन् ।

गएको पाँच वर्ष धरानको नेतृत्व एमाले र काँग्रेसको हातमा थियो । ०७४ को निर्वाचनमा मेयर–उपमेयर र बहुमत वडा एमालेको कब्जामा थिए । तत्कालीन मेयर तारा सुब्बाको निधनपछि ०७६ मा भएको उपनिर्वाचनबाट धरानको नेतृत्व काँग्रेसको हातमा पुग्यो । उपनिर्वाचनमा काँग्रेसका तिलक राई २६ हजार ७०९ मत ल्याएर निर्वाचित भएका थिए ।

तत्कालीन नेकपा( एमाले र माओवादी) प्रकाश राई २३ हजार ९१४ मत मात्र पाएका थिए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकाम अम्‍बर बहादुर लिम्बुले ११३१ मत ल्याउँदा जसपाका गजेन्द्र बहादुर लिम्बुले ७५५ मत पाएका थिए । स्वतन्त्र उम्मेदवार हर्कराज राई 'साम्पाङ' ४२२ मत पाएर चौंथो भएका थिए । उपनिर्वाचनमा बलशाली नेकपाका उम्मेदवारलाई पराजित गरेर ललाकिल्ला भत्काएको काँग्रेसले अहिले बलशाली गठबन्धनको साथ पाउँदा पनि मेयर गुमायो ।

उपनिर्वाचनमा ४२२ मत पाएका साम्पाङले गठबन्धनका उम्मेदवार किशोर राईलाई ४ हजार ७ सय ६२ मतले पछारिदिए । काँग्रेसले एक्लै लड्दा तिलकले २६ हजार ७०९ मत पाउँदा गठबन्धनको साथ पाएको किशोर १६ हजार ५९ मतमा सीमित भए । एमाले उम्मेदवार मञ्जु भण्डारी (सुवेदी)ले १२ हजार ८२५ मत मात्र पाइन् । प्रमुख कार्यकारी पद (मेयर– उपमेयर) नभएपनि नगरसभा र कार्यपालिकामा एमालेको एकल बहुमत छ । मेयर र उपमेयर गुमाएको एमालेबाट १०२ सदस्यीय नगरसभामा १० वडाध्यक्ष र ४६ सदस्य गरी ५६ सदस्य छन् । नगरसभामा ४५ प्रतिशत एमालेको उपस्थिति छ । ७ वडाध्यक्ष र  ३० जना वडा सदस्य रहेको काँग्रेसले नगर सभामा ३६ प्रतिशत प्रतिनिधित्व राख्छ ।

यस्तै माओवादीबाट उपमेयरसहित ५ प्रतिशत उपस्थिति छ भने राप्रपा र स्वतन्त्र गरी करिब २ प्रतिशत प्रतिनिधित्व छ । ३४ जना पदेन मध्ये  कार्यपालिकामा एकल बहुमत कसैको छैन । तर नगरसभामा एकल बहुमत भएको एमाले थप सदस्य चयनमा पनि हाबी हुने छ ।
नगरभित्रका सबै वडाध्यक्ष नगर कार्यपालिकाका स्वतः सदस्य हुने कानुनी प्रावधान छ । सो नगरको नगरसभाले महिला वडा सदस्यबाट पाँच जना र सोही नगरपालिकामा बसोबास गर्ने दलित वा अल्पसङ्ख्यक समुदायबाट तीन जना निर्वाचित गरेपछि नगर कार्यपालिकाले पूर्णता पाउँछ ।

उपमहानरको एक प्रमुख, एक उपप्रमुख, २०  वडाका अध्यक्ष (सदस्य), पाँच महिला सदस्य र तीन दलित वा अल्पसङ्ख्यक सदस्य गरी जम्मा २७ सदस्य हुन्छ । नगरसभामा एमालेको बहुमत भएकोले थप कार्यपालिका सदस्य पनि एमालेकै हुने निश्चित छ । मेयर साम्पाङलाई एमालेको साथ विना काम गर्न कठिन छ ।

यस्तो छ धरानमा दलगत कम्पोजिसन

मेयर र उपमेयर गुमाएपनि निर्वाचनबाट मत र पदमा एमाले पहिलो पार्टी बनेको छ । यद्यपि एमाले क्षति रहित भने छैन । मेयर, उपमेयरसहित ४ वडाध्यक्ष र १० सदस्य गुमाएको छ ।

काँग्रेस मेयर गुमाएको काँग्रेसले २ वडाध्यक्ष र १० सदस्य थपेको छ । वडामा काँग्रेसले मत र पद दुवै थपे पनि एमालेलाई पहिलो पार्टी बन्नबाट भने रोक्न असफल भयो । यता माओवादीले उपमेयर थप्दै वडामा विगतको उपस्थिति कायम राखेको छ । धरान उपमहानगर– ६ मा  स्वतन्त्र उम्मेदवार भूपेन्द्र भट्टराई १८२० मत ल्याएर निर्वाचित भएका छन् ।

मेयर–उपमेयर गुमाए पनि एमाले पहिलो

धरान उपमहानगरमा एमालेले २० मध्ये वडाध्यक्ष १० वडाध्यक्ष जितेको छ ।  एमाले २, ४, ५, ७, ८, १०, १२, १३, १५ र १९ गरी १० वडाध्यक्ष जितेको छ ।

यस्तै एमालेबाट खुला सदस्य २२, महिला १२ र दलित महिला सदस्य १२ गरी ४६ जना वडा सदस्य विजयी भएका छन् । एमालेले ०७४ मा मेयर, उपमेयर, वडाध्यक्ष १४, सदस्य २८, महिला सदस्य १४, दलित महिला सदस्य १४ जना जितेको थियो । यसपटक उनले ४ वडाध्यक्ष र १० जना सदस्य गुमाएको छ ।

२० वटैमा वडाध्यक्षका उम्मेदवार खडा गरेको एमालेले २२ हजार २६३ मत पाएको छ । एमाले उम्मेदवार मञ्‍जु भण्डारी (सुवेदी)ले पार्टीका वडाध्यक्षले पाएको मतमध्ये ९ हजार ४३८ मत पाउन सकिनन् । भण्डारीले १२ हजार ८२५ मत मात्र पाएकी थिइन् ।

 ०७४ मा एमालेले २१ हजार ५५ मत प्राप्त गरेको थियो । मेयरमा निर्वाचित तारा सुब्बाले २० हजार ९७६ मत पाएका थिए भने उपमेयरमा मञ्जु भण्डारीले २१ हजार २५६ मत ल्याएर विजयी भएकी थिइन् । यसपटक मेयर–उपमेयर नै गुमाएको एमालेले १२०८ मत भने थपेको छ ।

काँग्रेसको मत बढ्यो, मेयर पद गुम्यो

काँग्रेसले १, ३, ९,  ११, १६, १८ र २० गरी सात वडाध्यक्ष जितेको छ । काँग्रेसबाट सदस्य १६, महिला ७ र दलित महिला ७ गरी ३० जना वडा सदस्य निर्वाचित भएका छन् । ०५४ मा काँग्रेसले १, २, ५, १४ र १७ वडा नम्बर १७ मा अध्यक्ष जितेको थियो ।  सदस्यमा १०, महिला सदस्यमा ५ र दलित महिला सदस्य ५ गरी २० वटा वडा सदस्य जितेको थियो । काँग्रेसले २ वडाध्यक्ष र १० सदस्य थपेको छ ।

धरानमा काँग्रेसले यसपटक १८ हजार ३०६ मत पाएको छ । ४ र १५ वडामा काँग्रेसका वडाध्यक्षको उम्मेदवार नभएकाले सदस्यको मत जोडिएको छ । यसअघि सबै वडामा उम्मेदवारी दिएको काँग्रेसले १६ हजार १८७ मत पाएको थियो । अहिले २ हजार ११९ मत थपेको छ । धरानको मेयरमा काँग्रेसका किशोर राईले ०७४ मा काँग्रेस एक्लैले पाएको मत पनि प्राप्त गर्न नसकेको देखियो ।

उनले १६ हजार ५९ मत पाए । तर ७६ मा भएको उपनिर्वाचनमा काँग्रेसका तिलक राई २६ हजार ७०९ मत ल्याएर निर्वाचित भएका थिए । तर माओवादी, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीको साथ पाएका किशोरले काँग्रेसकै वडाध्यक्षले पाएको २ हजार २४७ मत समेत जोगाउन नसकेको देखिन्छ ।

माओवादीको मत घट्यो पनि उपमेयरमा जित

माओवादी केन्द्रले उपप्रमुखसहित धरानको १ वडाध्यक्ष जितेको छ । काँग्रेस, एकीकृत समाजवादी र जनमोर्चाको सहयोगमा माओवादीले उपप्रमुख जितेको छ ।
माओवादीका अइन्द्र विक्रम बेघाले २० हजार ५१० मत ल्याएर उपप्रमुखमा जित हात पारेको हुन् । माओवादीले १७ नम्बर वडा अध्यक्ष सदस्य २, महिला सदस्य १ र दलित महिला सदस्य १ जितेको छ । यस्तै माओवादीका वडाध्यक्षका उम्मेदवार मार्फत ६ हजार ९०९ मत पाएको छ । माओवादीले अध्यक्ष र सदस्य गरी ९ वटा वडामा मात्र उम्मेदवारी दिएको थियो ।
यसअघि मेयरमा माओवादीका अइन्द्र विक्रम बेघाले ११ हजार १८० मत पाएका थिए । माओवादी र तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा)बीच मेयर र उपमेयरमा तालमेल भएको थियो । माओवादीले एउटा वडा अध्यक्ष पनि जितेको थियो ।

माओवादीले २ वडा सदस्य, १ महिला सदस्य र १ दलित सदस्य जितेको थियो । यस्तै ०७४ मा १९ वडामा उम्मेदवारी दिएको माओवादीले ११ हजार ५२२ मत पाएको थियो । यसपटक थप्न नसकेपछि माओवादीले विगतको जोगाउन सफल भएको छ । तर मत सङ्ख्या भने ४ हजार ६१३ गुमाएको छ ।

राप्रपा, जसपा र समाजवादीको के छ अवस्था ?

धरानका २० मध्ये १३ वडामा उम्मेदवारी दिएको राप्रपाले २ हजार ९१९ मत प्राप्त गरेको छ । राप्रपाले १४ नम्बर वडाध्यक्ष पनि जितेको छ । सदस्यमा निल भएको राप्रपाका मेयरका उम्मेदवार नरेश कुमार शाक्यले १४३२ गुमाए । राप्रपाका शाक्यले १४ सय ८८ मत मात्र पाए । ७४ मा राप्रपाका उम्मेदवार तारा देवी शाक्यले ३४६ मत मात्र ल्याएकी छिन् । उपमेयरमा प्रकाश राईले ५०२ मत पाएका थिए । १६ वडामा उम्मेदवारी दिएको राप्रपाले ३०४ मत पाएको थियो । यसपटक राप्रपाले २६१५ मत थपेको छ ।

एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीको उपस्थिति धरानमा निकै न्यून छ । दुई वडामा उम्मेदवारी दिएको एकीकृत समाजवादीले २१० मात्र पाएको छ । २० मध्ये १४ वडामा उम्मेदवारी दिएको जसपाले १२ सय ३८ मत पाएको छ । जसपाका वरिष्ठ नेता राजेन्द्र राईको निर्वाचन क्षेत्र समेत रहेको धरानमा जसपाले पाँचौँ स्थानमा छ । जसपाका मेयरका उम्मेदवार ताजुब कुमार लिम्बुले २१८ मत मात्र पाए ।

०७४ मा जसपा (संघीय समाजवादी फोरम)ले उपमेयरमा ५ हजार १८१ मत पाएको थियो । यद्यपि धरानमा ७४ को निर्वाचनमा माओवादीले मेयर र जसपाले उपमेयरमा उम्मेदवारी दिएका थिए । ८ वडामा उम्मेदवारी दिएको जसपाले ६६७ मत पाएको थियो । अहिले ५ सय ७१ मत थपेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप