बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लन्डनमा हुने २० औं गोर्खा कपमा ‘ठेलो’ प्रतियोगिता गरिने

सोमबार, १६ जेठ २०७९, ०७ : ३६
सोमबार, १६ जेठ २०७९

बेलायतको अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा जुन ४ मा आयोजना गर्न लागिएको २० औं गोर्खा कपमा ठेलो हान्ने प्रतियोगिता पनि समावेश गरिने भएको छ । गोर्खा कप बेलायती नेपाली समाजमा आयोजना हुने सबैभन्दा ठूलो प्रतियोगिता हो । १० हजार भन्दा बढी मानिसहरुको सहभागिता रहने अपेक्षा गरिएको  यसपटकको २० औं संस्करणको गोर्खा कपको तयारी पूरा भएको आयोजक तमुधिं यूकेले आइतबार आयोजित पत्रकार सम्मेलनमा जनाएको छ । 

यसपटक १६ देखि ३९ वर्ष उमेर समूहको मेन क्याटेगोरीमा ३२, भेटानतर्फ ८ र लेडिज मेनमा दुई टिमबीच प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक एवं तमुधिं यूके खेलकुद सचिव क्याप्टेन देव घलेले जानकारी दिए । यसका साथै  योपटक पहिलोपटक  महिलाहरुबीच पनि  प्रतिस्पर्धा गराइने भएको छ । 

प्रतियोगितामा लन्डन आसपासबाहेक वेल्स, कोलचेष्टर, अक्सफोर्ड, योर्क, क्याटरिकसहित बेलायतका विभिन्न शहर र नेदरल्याण्डबाट समेत टिम सहभागी हुने जनाइएको छ । 

प्रतियोगितामा मेनतर्फ पहिलो हुने टिमलाई २५ सय पाउण्ड नगद, १५ खेलाडीलाई ट्रफी र प्रमाणपत्र दिइनेछ भने दोश्रो हुने टिमले १५ सय पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन्। 

त्यसैगरि, भेटानतर्फ पहिलो हुने टिमले १५ सय पाउण्ड, दोश्रोले ८ सय पाउण्ड, ट्रफी एवम् प्रमाणपत्र तथा महिला टिमतर्फ पहिलो हुनेले ५०० सय पाउण्ड, ट्रफी र प्रमाणपत्र एवम् दोश्रो हुनेले ३ सय पाउण्ड, ट्रफी र प्रमाणपत्र पाउने तमुधिं यूकेले जनाएको छ ।

 त्यसबाहेक वेष्ट प्लेयर, हाइ स्कोरर र वेष्ट म्यानेजरलाई पनि ट्रफी दिइनेछ। प्रतियोगिताका दिन बिहान ९ बजेदेखि खेलहरु शुरु हुनेछन्। 

कार्यक्रममा प्यारासुट डिस्प्ले, ठेलो पतियोगिता, तमु परम्परागत पोशाक र अन्य सामग्रीको स्टल, खाना र च्यारिटी स्टल, आर्ट एण्ड क्राफट स्टल आदि गरी ५२ स्टल, सांस्कृतिक प्रस्तुति, गायिका एलिना गुरुङको गायन आदि गोर्खा कपका मुख्य आकर्षण रहने आयोजकले बताएका छन्।

करिब ४० हजार पाउण्ड खर्च लाग्ने बताइएको उक्त इभेन्ट सुरक्षाका लागि पुलिस फोर्ससहित ६० जना सेक्यूरिटी गार्ड मैदानमा तैनाथ हुनेछन्। घाइते खेलाडी र अन्य दर्शकको आपतकालिन उपचार मध्यनजर गर्दै एम्बुलेन्स र मेडिकल टिम ‘स्टयाण्ड बाइ’ राखिने जनाइएको छ। 

बेलायती समुदायमा नेपाली युवामाझ फुटबलको स्तर वृद्धि, सुरक्षित वातावरणमा रमाइलो माहोल सृजना, सुःख दुःख आदानप्रदान, लागू औषध, मदिरा र क्यान्सरबारे जनचेतना, च्यारिटीका लागि कोष संकलन, नेपालमा आपतकालिन अवस्थामा सहयोग गर्न राहत संकलन लगायत मुख्य उद्देश्य रहेको संयोजक घलेले जनाए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप