नयाँ बजेटबारे नेताका प्रतिक्रिया : कसले के भने ?
आगामी आर्थिक बर्ष २०७९/०८० का लागि अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमाथि विभिन्न दलका नेता तथा सांसदहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । प्रतिपक्षी दलहरुले आलोचना गरेका छन् भने सत्तारुढ दलले बजेटको बचाउ गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेले चुनावमुखी, वितरणमुखी र परिणाम नदिने बजेट भनेको छ भने सरकार पक्ष दलले बजेट जनमुखी भएको जनताको आवश्यकता अनुसार आएको प्रतिक्रिया जनाएका छन् ।
सरकारले आगामी आर्थिक बर्षका लागि १७ खर्ब, ९३ अर्ब ८३ करोड बजेट सार्वजनिक गरेको छ ।
बजेटबारे कसले के भने ?
म वृद्धभत्ता लिन्न : बाबुराम भट्टराई
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको बजेट मध्यमस्तरको भएको प्रतिक्रिया दिएका छन् । बजेट वक्तव्यपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै डा.भट्टराईले आर्थिक विकासको प्रस्थान विन्दु बन्न सक्ने जस्तो नलाग्दै भन्दै कृषि योजना प्रशंसनीय रहेको बताए । त्यस्तै उनले विद्युत निर्यात योजना बजेटको सकारात्मक पक्ष भएपनि गुणात्मक नीति नआएको बताए ।
उनले वैज्ञानिक भूमिसुधार कार्यक्रम नआएको, त्यो नआएसम्म परिणात्मक फड्को मार्न नसकिने पनि बताए । ‘सामान्य सुधारात्मक कुरा गरेर वैदेशिक लगानी आउँछ, उद्योग खुल्छन् भन्ने लाग्दैन’, भट्टराईको भनाइ छ । भट्टराईले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको बृद्ध भत्ताको उमेर घटाइएको भन्दै आफुले उक्त रकम नलिने घोषणा गरे । ‘सामाजिक सुरक्षा भत्ता ६८ वर्षमा घटाउनुपर्ने थिएन । मैले पनि पाउने भए । म गरिव देशको बृद्ध भत्ता नलिने घोषणा गर्छु’ भट्टराईको भनाइ छ ।
बजेट कार्यान्वयन हुनसक्ने देखिँदैन : राजेन्द्र लिङ्देन
राप्रपाले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुनसक्ने खालको नरहेको बताएको छ । राप्रपाका अध्यक्ष समेत रहेका राजेन्द्र लिङ्देनले चुनावी सरकारले ल्याएको बजेट परम्परागत र चुनाव लक्षित रहेको बताए ।
‘कार्यान्वयनमा समस्या हुने देखिन्छ र विगतमा भएका गल्ती कमजोरीलाई सच्याउने प्रतिवद्धताहरु छैनन् । खासगरी खर्च गर्ने क्षमताको कसरी विकास गर्ने ? बजेट बढ्ने तर खर्च नहुने प्रवृत्ति छ’, लिङ्देनले भने, ‘जहाँ खर्च हुनसक्छ त्यहाँ बजेट नहुने त्यो परम्परा यसमा पनि दोहोरिने सम्भावना प्रशस्त देखिन्छ ।’
उनले परम्परागत बजेटभन्दा अलग नभएको भन्दै केही चुनाव केन्द्रीत योजनाहरु अघि सारिएका बताए । ‘यो बजेट कार्यान्वयन नहुँदै चुनाव हुने र नयाँ सरकार आउने हुँदा यसबाट धेरै अपेक्षा गर्न सकिँदैन ।’
बजेट अनुत्तरदायी र हावादारी आयो : एमाले
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले प्रस्तुत गरेको बजेट अनुत्तरदायी र हावादारी भएको टिप्पणी गरेको छ । एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री समेत रहेका नेता विष्णु पौडेलले भने, ‘यो बजेट अनुत्तरदायी र हावादारी छ ।’
उनले बजेटले सरकारको सीमालाई पनि बुझ्न नसकेको बताए । ‘हामी प्रतिनिधिसभा र प्रदेश सभाको सम्मुखमा आइसकेका छौ । यो सरकार चुनावी सरकार हो । चुनावी सरकारले लामो अवधिका योजना अघि सारेर सीमा र हैसियत बिर्सेको छ’, पौडेलले भने, ‘चुनावमा भोट बटुल्ने नियत बजेटले राखेको छ । अर्थमन्त्रीले पदीय हैसियतलाई दुरुपयोग गरेर बजेट ल्याइएको छ ।’ त्यस्तै सरकारले दीर्घकालीन महत्वका योजनाहरुलाई अघि सारेर हावादारी काम गरेको एमालेको भनाइ छ ।
‘मुलुक आर्थिक संकटको डिलमा छ, यस्तो अवस्थामा आजका समस्या चिनेर केही गर्नुपर्नेमा हावादारी कुरा ल्याइएको छ’, पौडेलले भने ‘जस्तो कोशी कर्णाली नदिन जोड्ने यो विषय अहिले अघि सार्नुपर्ने काम हो ?’ उनले बजेटले ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य राखेपनि पुरा हुने आधार नभएको बताए । त्यस्तै निर्धारित मुद्रा स्फृतिलाई सात प्रतिशत सीमामा राख्ने कुरा पनि सम्भव नभएको पौडेलको भनाइ छ ।
पौडेलले राजश्व संकलन बजेटअनुसार नहुने भन्दै बजेटलाई सुन्निएको संज्ञा दिए । ‘बजेट आकारका हिसाबले सुन्निएको छ, विनियोजनका हिसावले हावादारी छ र चुनाव केन्द्रीत र निश्चित नेताहरुलाई लक्षित गरेर बजेट आएको छ ।’
अर्का पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटमा केही राम्रा पक्ष भएपनि धेरै कुरा गर्नै नसक्ने राखिएको बताए ।
बजेट संरचनात्मक रुपमा सुधार गर्नेगरी आयो : पूर्व अर्थमन्त्री पुन
नेकपा माओवादी नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले देशको संरचनात्मक सुधार हुनेगरी बजेट आएको टिप्पणी गरेका छन् । आगामी आर्थिक वर्षको बजेट संसदमा पेश भएपछि प्रतिक्रिया दिँदै पुनले कृषि क्षेत्रलाई सबैभन्दा बढी फोकस गरेर आएको बताए ।
‘बजेटको सिद्धान्त र प्राथमिकता त्यसैगरी नीति तथा कार्यक्रम अनुसार नै कृषि क्षेत्रलाई केन्द्रीत गरेर बजेट आएको छ । कृषि क्षेत्रको उत्पादन बृद्धि गर्ने यस क्षेत्रमा रहेका जनशक्तिलाई प्रोत्साहन गर्ने खालको बजेट आएको छ,’ पुनले भने, ‘मुख्य सामाजिक सुरक्षा लगायत अन्य प्राथमिकता विषय आएका छन् सामाजिक सुरक्षाका कार्यक्रमहरु आएका छन् ।’
आगामी आर्थिक वर्ष ३० प्रतिशत कृषिजन्य आयातलाई प्रतिस्थापन गर्ने कुरा सबैभन्दा महत्वपूर्ण भएको पुनले बताए । कृषि क्षेत्रलाई आत्मनिर्भर बनाएर आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रतिर लाग्न खोजिएको बताए ।
बजेट छरिएर आयो : लक्ष्मणलाल कर्ण
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्णले आगामी आर्थिक वर्षको बजेट छरिएर आएको प्रतिक्रिया दिएका छन् । संसदमा आगामी आर्थिक वर्षको बजेट पेश भएपछि कर्णले प्रतिक्रिया दिँदै कुनै कुरा नछोडेको बताए ।
‘बजेट लामो छ । कुनै कुरा छुटेको छैन । बजेटले पपुलिस्ट कुरा ल्याएको छ’ कर्णले भने, ‘बजेट छरेको छ, पौने तीन घण्टा सुन्नुभयो होला । कुनै कुरा छोडेको छैन कुनै कुरा पुरा गर्ने देखिदैन ।’
निर्वाचनको जनमत प्रभावित पार्नेगरी बजेट आयो : भीम रावल
एमालेका नेता भीम रावलले आगामी प्रदेश र संघको निर्वाचनलाई प्रभावित हुनेगरी बजेट ल्याएको प्रक्रिया दिएका छन् । आगामी आर्थिक वर्षको बजेट संसदमा पेश भएपछि प्रतिक्रिया दिँदै रावलले निर्वाचनलाई प्रभावित पार्नेगरी कार्यक्रमहरु ल्याएको आरोप लगाए ।
आगामी निर्वाचनलाई ध्यानमा राखेर लोकप्रिय भए भरका कुरा राख्ने प्रयास गरिएको छ । जतिसुकै प्रयास गरिएपनि झण्डै ५ खर्ब न्युन अवस्थामा छ । यसले तिर्नुपर्ने ब्याज, वैदेशिक ऋण उठाउने कुरा हेर्दा झन् थप कतिपय संरचनाहरु खडा गरिएको छ,’ रावलले भने, ‘देशमा वैदेशिक मुद्रा कमी र ह्रास भइरहेको अवस्थामा यो बजेटले देशमा उपभोग गर्न आवश्यक नभएका कतिपय वस्तुहरुको आयात रोक्ने गरेको छैन ।
अझ खर्च बढाउने कुरा गरेको छ ।’ सरकारले ल्याएका कतिपय कार्यक्रम आफैले समेत पुरा गर्न नसक्ने क्षमता भएको रावलले टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी