आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बजेटमा बागमती प्रदेश : यी हुन् समेटिएका योजना

आइतबार, १५ जेठ २०७९, २० : १५
आइतबार, १५ जेठ २०७९

सरकारले आगामी आर्थिक वर्षमा बागमती प्रदेशका विभिन्न योजनामा बजेट वितरण गरेको छ । सरकारले बागमती प्रदेशमा रहेका रुग्ण उद्योग संचालनदेखि सडक सञ्जाल निर्माण तथा सुरुङमार्ग निर्माणमा बजेट विनियोजन गरेको छ ।

सरकारले आगामी आर्थिक वर्ष हेटौंडा कपडा उद्योग संचालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलाई संचालनको व्यवस्था मिलाएको बताएका हुन् । उनले उपयुक्त ढाँचामा सो उद्योग संचालनको योजना बनाएको बताए । उनले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडाहरू प्रयोगको व्यवस्थासमेत मिलाइने बताए । वि.सं २०३२ सालबाट हेटौंडा कपडा उद्योगको इतिहास सुरु भएको देखिन्छ । चीन सरकारको सहयोगमा वि.सं २०३५/०३६ सालबाट हेटौंडा कपडा उद्योगले औपचारिक रुपमा उत्पादन सुरु गरेको थियो । सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग पूर्ण क्षमतामा संचालन हुँदा दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता रहेको छ ।

समस्याबीच चलिरहेको हेटौंडा कपडा उद्योगले २०५४ साल पछि भने नाफा कमाउन सम्भव देखिएन । त्यस यता लगातार उद्योगले हरेक वर्ष घाटा व्यहोर्नु पर्ने वाध्यता बनेपछि वि.सं २०५७ माघ १८ गतेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार उद्योगमा ताला लगाइयो भने उद्योगमा कार्यरत सबै कामदार र कर्मचारीलाई सामूहिक अवकाश दिएपछि हेटौंडा कपडा उद्योग बन्द भएको थियो । २०५८ सालमा सरकारले उद्योग निजीकरणको लागि दुई पटका बोलपत्र आह्वान गरेको थियो । दुई पटक सूचना प्रकाशन गरी बोलपत्र आह्वान गरे पनि उद्योग संचालनका लागि कुनै पनि आवेदन नपरेपछि सरकारले बाध्य भएर उद्योग खारेजीको प्रक्रिया अघि सा¥यो र नेपाल सरकारको निर्णय अनुसार वि.सं २०५९ पुस ८ मा बसेको उद्योगको विशेष साधारण सभाले विशेष प्रस्तावमार्फत उद्योगलाई खारेजीको प्रक्रिया सुरु गरेको थियो ।

त्यस्तै सरकारले आगामी आर्थिक वर्षमा मकवानपुरको कर्रा खोलाको कटान र बस्ती डुबान रोक्न करिडोर निर्माण गर्ने घोषणा गरेको छ । हेटौंडा उपमहानगरपालिकामा पर्ने कर्रा खोलामा करिडोर निर्माण गरी बस्ती विकास कार्य गर्ने भएको हो । कर्रा खोलाको कटान र डुबानका कारण हेटौंडाको वडा नम्बर ४, ५ र ६ नम्बरका नागरिकहरु समस्यामा पर्दै आएका थिए । सरकारले आगामी आर्थिक वर्षमा सिन्धुलीको मरिणलाई नयाँ सहरको रुपमा विकास गर्ने घोषणा गरेको छ । सिन्धुलीको मरिणलाई संस्कृति र प्राचीनता झल्कने गरी नयाँ शहरको रुपमा विकास गर्ने व्यवस्था मिलाएको हो ।

यता सरकारले काभ्रेको बनेपामा इन्डोर स्टुडियो गर्ने घोषणा गरेको छ भने पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने पथलैया हेटौंडा नारायणघाट सडक खण्ड विस्तार गर्ने घोषणा गरेको छ । त्यसैगरी सरकारले चितवनको कठारमा रिफ्रेसिङ सेन्टर निर्माणको गर्ने घोषणा गरेको छ । संघीय सरकारले चितवनको कठारमा स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा युवा तथा खेलकुद शीर्षकअन्तर्गत रिफ्रेसिङ सेन्टर निर्माणको गर्न आवश्यक बजेटको व्यवस्था गरिने भएको छ ।

चितवन सारदानगर र काभ्रको पाँचखालमा निर्माणको क्रममा रहेको खानेपानी आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने घोषणा गरेको छ भने चितवनको शक्तिखारमा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको छ । सरकारले धादिङको बेल्कुमा ट्रमा सेन्टर निर्माणको घोषणा गरेको छ भने बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालमा लाइलाइसिस सेवा संचालनको लागि सबै प्रादेशिक अस्पताललाई १० करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । त्यसैगरी बागमती प्रदेशमा सरकारी स्वामित्वको ब्लड बैंक स्थापना गर्ने उनले बताए ।

सरकारले बाराको अम्लेखगञ्जदेखि मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको घोषणा गर्दै आवश्यक बजेट विनियोजन गरेको छ । सरकारले धादिङको रुबिभ्याली र रसुवाको आमाछोदिङ्मोको पत्थर उत्खनन् र प्रशोधन सुरु गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट सार्वजनिक गर्दै यी दुई स्थानको पत्थर उत्खनन र प्रशोधन सुरु गरिने बताएका हुन्।

त्यसैगरी चितवनबाट देशको केन्द्रीय राजधानी काठमाडौं एक घण्टमा नै पुग्ने द्रुतमार्ग निर्माण गर्ने भएको छ । सरकारका अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै चितवनबाट मकवानपुर हुँदै काठमाडौं पुग्ने द्रुतमार्ग निर्माण गर्ने जनाएका हुन् । उनले चन्द्रागिरी–चित्लाङ–पालङु–चितवन द्रुतमार्ग निर्माण गरिने घोषणा गरेका छन् । त्यसैगरी बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रममा राखेका तीनवटा सुरुङमार्ग निर्माण योजना केन्द्रीय सरकारको बजेटमा पनि परेको छ । संघीय सरकारले प्रदेश सरकारको साझा कार्यक्रममा रहेको मकवानपुरको भीमफेदी–कुलेखानी, सिन्धुलीको खुर्कोट–चियाबारी सुरुङमार्ग र धादिङ र चितवनलाई जोड्ने हुग्दिखोला–शक्तिखोर सुरुङमार्ग निर्माण गरिने घोषणा गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप