शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

गेटा मेडिकल कलेज सञ्चालनबारे अन्योलता हट्यो, शिक्षा मन्त्रालय मातहतमा रहने

आइतबार, १५ जेठ २०७९, १९ : ३७
आइतबार, १५ जेठ २०७९

सुदूरपश्चिम प्रदेशको राष्ट्रिय गौरवको आयोजना रहेको गेटा मेडिकल कलेज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत सञ्चालनमा ल्याइने भएको छ । भौतिक संरचना अन्तिम चरणमा रहेको सो मेडिकल कलेजको प्रारुपबारे टुङ्गो लाग्दा सञ्चालनमा अन्यौलता रहेको थियो ।

आइतबार संघिय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम विश्वविद्यालय मातहत रहने गरी मेडिकल कलेज सञ्चालनमा ल्याइने बताएसँगै अब कलेज सो मन्त्रालय मातहत रहने भएको हो । ‘सेती र महाकाली प्रादेशिक अस्पतालको समन्वयमा सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गरिने छ’ मन्त्री शर्माले भने । स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका विज्ञहरुले भने गेटालाई प्रतिष्ठान बनाई अघि बढाउनुपर्ने भन्दै माग गर्दै आएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लगानीमा भौतिक संरचना बनेकाले सो मन्त्रालयले आफनै मातहतमा रहनुपर्ने दबाब दिँदै आएको थियो । स्वास्थय तथा जनसंख्या मन्त्रालयले भने गेटा आफनो मातहत हुनुपर्ने दबाब दिँदै आएको थियो ।

गेटालाई मेडिकल कलेज बनाउने वा प्रतिष्ठान बनाउने भन्ने विषयको टुङ्गो नलाग्दा लामो समयदेखि सञ्चालनमा आउन सकेको थिएन । गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका पूर्व कार्यकारी निर्देशक डाक्टर भीमसिंह टिंकरीले स्वास्थ्य विज्ञान प्रतिष्ठान नै उपयुक्त हुने बताउँदै आएका छन् । ‘मेडिकल कलेज नै भए अस्पताल सञ्चालन भएको तीन वर्षपछि मात्रै कलेजको पढाई सुरु गर्न पाइने मापदण्ड रहेको छ,’ उनले भने– ‘अन्य विश्व विद्यालयको सम्वन्धन लिनुपर्ने बाध्यकारी नियम छ । तर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन भए कलेज र अस्पतालसँगै सुरु गर्न सकिने र आफैँमा स्वायत्त हुने भएकाले सुदूरपश्चिमका लागि उपयुक्त हुने छ ।’  २०७३/०७४ सालबाट गेटामा कलेज निर्माण थालिएको गेटा मेडिकल कलेजको निर्माणका महत्वपूर्ण कामहरु सकिएको कलेज पूर्वाधार निर्माण विकास समितिका निर्देशक हेमराज पुजाराले बताए । 

उनका अनुसार चालू आर्थिक वर्षको भौतिक प्रगति पनि ६० प्रतिशत पूरा भएको छ । ‘पूर्ण आयोजनाको ९० प्रतिशत भौतिक प्रगति भएको हो,’ उनले भने । अस्पताल र मेडिकल शिक्षा अध्ययनका लागि निर्माण थालिएको मेडिकल कलेजको पूर्वाधार निर्माणको काम लगभग पूरा हुन लागेको उनले बताए । संघीय शिक्षा मन्त्रालयले निर्माण थालेको कलेजको प्रशासनिक भवन, कलेज भवन, छात्रावासस लगायतको संरचनाहरूको निर्माणको काम सकिएको छ ।

चालू आर्थिक वर्षमा मेडिकल कलेज पूर्वाधार विकास समितिले थप छात्रावासका भवनहरु निर्माणको काम थालेको छ । ६ वटा छात्रावास भवनको निर्माणको काम पूरा हुने दाबी गरिएको छ । ‘आगामी आर्थिक वर्षबाट मेडिकल कलेज भित्रका सडक कालोपत्रेका लागि ठेक्का सम्झौताको तयारी थालिएको छ,’ पुजाराले भने, ‘६ सय शैय्या क्षमताका २ वटा अस्पताल भवन निर्माणको काम सकिएको छ । अन्य २७ वटा भौतिक संरचना निर्माणको काम सकिएको छ ।’

गेटा मेडिकल कलेजमा भवनहरू बने पनि खानेपानी, अक्सिजन प्लान्ट, फोहोरमैला व्यवस्थापन, ढलपानी निकास, विद्युतको सव स्टेसन निर्माण लगायतको काम भने बाँकी छ । भित्रि क्षेत्रमा सडक कालोपत्रेका लागि पनि ठेक्का गरिएको छैन । मेडिकल कलेज सञ्चालनको प्रारुप पनि टुंगो नलागेको पुजाराले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप