कहाँ चुक्यो एमाले ?
स्थानीय तह निर्वाचनको परिणाम आइसकेको छ । नतिजाले एमालेलाई दोस्रो दलमा पुर्याएको छ । सांगठनिक बलमा एक्लै लडेर पहिलो दल बन्छु भन्ने अठोटमा धक्का लागेको छ । नतिजाले भन्छ, एमालेले आफैले आफैलाई एकपटक फर्किएर हेर्न पर्छ । गम्भीर आत्मसमीक्षा जरुरी छ । नेपाली राजनीतिमा, राष्ट्रियताको सवालमा, जनजीविकाको आन्दोलनमा, समानता र स्वतन्त्रताको कठिन र लामो अभियानमा नेकपा एमालेको योगदान नेपालका अन्य राजनीतिक पार्टीको भन्दा ज्यादा छ भन्ने लाग्छ । समुन्नत नेपालको निर्माणमा, सामाजिक सुरक्षा र समानुपातिक विकासमा एमालेको दृष्टिकोण लोभलाग्दो नै छ । यस लेखमा एमालेको न त गुणगान, न त आलोचना नै गर्न खोजिएको हो । यो त केवल हालै सम्पन्न स्थानीय तह निर्वाचनमा हारका कारणको निर्मम तरिकाले खोल्ने सानो धृष्टता मात्र हो ।
सही समस्या पत्ता लागे मात्र सही उपचारको सुरुआत हुने हो । थुप्रै नयाँ र महत्वपूर्ण पालिकामा जित हासिल गरेको पनि छ, एमालेले । खास गरी मध्य तराईका जिल्लाहरुमा । तर सहरिया र शिक्षित मतदाता भने रिसाएका रहेछन् । संसद विघटनदेखि आइफा अवार्डसम्म, होलिवाइन काण्डदेखि रेल र पानी जहाजको कमजोर ब्याख्या र ब्यवस्थापन जस्ता कार्य विपक्षीलाई मसला बन्यो । जसबाट सहरिया मतदाता बहकिए । त्यसले राष्ट्रियता र समृद्ध नेपालका लागि गरिएको महत्वपूर्ण काम पनि छायामा पारिए । मालेदेखि एमालेको यो बेलासम्म आउँदा पहिलो पटक सहरमा पार्टी कमजोर भएको हो । बुझ्न चाहेमा यसले केही खतराको संकेत गर्छ । अब ती मतदातालाई कन्भिन्स गर्न यही पाराले हुँदै हँुदैन । नयाँ पार्टीबाट यी काम झनै हुन्न ।
छिमेकी देशमा मनी, मसल, मिडिया र माफियाको मुख्य भूमिका निर्वाचनमा देखिन्छ भन्ने सुनिएको हो, नेपालमा पनि अब त्यो अवस्था आयो । त्यो एउटा कारण होला । कुनै पनि ब्यक्ति, पार्टी र राष्ट्रकै हार जितका सामान्यत दुई कारण हुन्छन्, आन्तरिक र बाह्य । केपी ओली विरुद्धको जेहाद जस्तो लाग्थ्यो यो निर्वाचन । जहाँ विकास निर्माण, सुशासन, जीवनस्तर सुधार, शिक्षा, स्वास्थ र सार्वजानिक यातायात जस्ता महत्वपूर्ण एजेन्डा रद्दीको टोकरीमा गए जस्तै भए । मिसन नै ओली विरोधी भएपछि ज–जसले ओलीको धेरै विरोध गर्यो, त्यो नै ठूलो र राम्रो नेता हुने भएपछि हुने त यही हो ।
स्थानीय चुनावको मुखमा पार्टी प्रवेश राम्रो कार्य थियो तर सारै भद्दा, बिना अध्ययन र असंगठित जस्तो देखियो । प्रवेश गरेका मानिसको उचित ब्यवस्थापन पनि भएन । जुन रफ्तारको आकर्षण थियो, एमालेमा शायद त्यो आकर्षणले घरानियाँ एमाले नै कि आत्तिए कि मात्तिए । ती सबैलाई संगठनमा राख्ने समय त थिएन तर तिनलाई अपवादबाहेक चुनावमा शक्तिको रुपमा ‘क्यास’ गरिएन । जुन मानिस देखेर गठबन्धन आत्तियो र आफ्नै तयारी गर्यो, त्यही मानिस नै परिचालन गर्न नसक्नु ठुलो भुल हो । हुन त यसपटक चुनाव पार्टीले होइन, उम्मेदवारले मात्रै लडेको जस्तो पनि देखियो । जसका कारण अहिले अन्तर्घात नै मुख्य कारण जसरी भनिदैछ, त्यो एउटा कारण हो । सबै कारण हैन ।
कार्य विभाजनमै समस्या थिएन कतै ? जसले गर्दा अधिकांश नेता जनताप्रति उत्तरदायी र प्रतिस्पर्धी भन्दा बालकोटप्रति बढी संवेदनशील भए । लोकप्रिय अध्यक्षप्रति उत्तरदायी हुनु स्वभाविक हो तर ती अध्यक्ष र जनतासँग पुल हुनु पर्नेमा गेट त बनेनन् । त्यो पनि खुल्दै नखुल्ने गेट । पहिला मन्त्री र नेताले समेत बालुवाटारमा भेट गर्न नसकेका कथा सुनिन्थे । बालकोटमा पनि अरु कसैले त्यस्तै उधुम त मच्चाएनन् ? एउटा राम्रो कुरा के थियो भने इतिहासमै सबैभन्दा कम्फर्टेबल जोनमा हुनुहुन्थ्यो अध्यक्ष ओली तर साथीहरु ढोडका तोक्मा जस्ता कसरी बन्न सके ?
संसद विघटनलाई जनताले त्यति मन पराएनन् । जसको उपादेयता बुझाउनु भन्दा प्रचण्डले पार्टी कब्जा गर्ने कुरा गरियो, जसको आम मतदाताले प्रत्यक्ष मतलब राखेनन् । पार्र्टी एकीकरणमा के के शर्त थिए र त्यसमा माधव र प्रचण्डले कता के के गडबड गरे र लोकप्रिय सरकारलाई चल्नै नसक्ने बनाए । संसद चल्नै नसक्ने पारे र त्यसलाई विघटन गर्नुपर्यो भन्ने कुरा पनि केपी ओलीले मात्रै भन्नुपर्ने हो त ? फेरी पार्टीमा जति नै गडबड गरेपनि ‘बगावतवाला’प्रति केही सहानुभूति र अदालतदेखि विपक्षको मलजल पनि छँदै थियो । केपी ओली जिन्दावाद भन्ने धेरैले संसद विघटनलाई सहर्ष स्वीकार गर्न नसक्ने पनि थिए ।
विगत झन्डै पाँच बर्ष पार्टीलाई बालुवाटार, मेयर र अध्यक्षको कोटमा राखियो । जसले आन्तरिक क्रियाकलाप त भए तर जनतामा जोडिएनन् । गत निर्वाचनमा जसले धेरै जित्यो, त्यसले नै धेरै हार्यो । यो सामान्य प्रक्रिया जस्तै भो यसपटक । पार्टी मन पराउँदा पराउँदै पनि सबैखाले सत्तामा गएकाको कार्यशैलीबाट जनता निरास त रहेकै हुन् । ५० वर्षको कार्यक्रम एकैपटक सुनाइयो तर त्यसको रणनीतिक तयारी र आवधिक उपलब्धिको चरण बताइएन । जसले बोलेका कुरा अहिलेसम्म किन पूरा भएन भन्ने पर्यो । अझ ती सुन्दर र पवित्र योजना कतिपय अवस्थामा लावारिस बनाइए ।
पार्टी अध्यक्षको ज्ञान, विज्ञान र सक्रियताले हो वा अरु नेताको नालायकीले एमाले पार्टीका सबै अङ्ग चलेनन् । यसो भन्दा ठिक होला कि दिमाग र विचार चल्यो, हात खुट्टा अपाङ्ग जस्ता देखियो । मिडिया टिमको संयोजन नै पार्टी अध्यक्षले गर्नु परेको देखियो । कि ती टिममा नालायक थिए, कि तिनलाई काम नै दिइएन । लाग्थ्यो, ती सबै हेडक्वाटरका जागिरे र भार मात्र हुन् ।
खासमा एमाले र अझ केपी ओली सँगको जनताको सम्बन्ध प्रेम विवाह जस्तो हो भने काङ्ग्रेस र अरुसँगको सम्बन्ध मागी र कुनै कुनै बेलामा जबर्जस्ती जस्तो पनि । प्रेम विवाहमा भावनात्मक सम्बन्ध हुन्छ, त्यो पनि संवेदनात्मक र अलिकति उत्तेजनात्मक । तर मागी र जबर्जस्तीमा न कुनै अपेक्षा र कुनै सपना । देउवा, प्रचण्ड र माधव नेपाल अनि उपेन्द्रबाट कति नै आशा गरेका थिए होला र जनताले ? तर त्यो संवेदनशील अवस्थालाई नितान्त प्राविधिक र सांगठनात्मक सम्बन्ध बनाउन खोजियो ।
यो चुनावी राजनीति हो । जसमा महात्मा र छट्टू दुबैको एक भोटको उत्तिकै महत्व हुन्छ । तर यसो भन्दैमा मिटरब्याजी र माफिया, क्रसरवाला, म्यानपावर, हाउजिङ र बैंकर्स अनि निजी अस्पताल, उद्योगपति र क्रिश्चियनका एजेन्टसम्मलाई युजे पोत्तरको उठ जाग हे, भोका नाङ्गाको गीत गाउन लाएर हुन्छ ? त्यो पनि रिक्सा चालक र सुकुम्वासीको लाइनमा । कतै बल्खुवालालाई के लागेको हुन सक्छ भने पार्टी भनेको मान्छेको संख्या र एउटा सांगठनिक जोडजाड र भौतिक स्वरुप हो । यही नै एउटा मुख्य समस्या हो कि आज एमाले सबैको पार्टी हो र यसको मतलब कुनै बेला त्यो कसैको पार्टी नहुन पनि सक्ने खतरा छ ।
जनसंगठन नेतामुखी भए र अझ अमुक एक दुई जनाको लागि बार्गेनिङ टुल्स जस्ता । एउटा कुरा ठोकेरै भन्छु, आजको अवस्थाको कुनै जनसंगठनको तालले एमाले बलियो हुन्न । जुन जनसंगठनको महाधिवेशन समेत पार्टीले गराइदिनु पर्छ । ती पार्टीबाट अनुदान थाप्न मात्र खोलेको जस्तो लाग्नु यथार्थ हो । त्यसबाट कुनै नेताले रमाईलो त गर्लान् तर पार्र्टी हार्छ । धेरै क्षेत्रका नेताहरु आफ्नो कार्यक्षेत्रमा जान भन्दा नेताको मै जान जाँगर चलाउँछन् । देख्नुभएकै छ, पार्टी कार्यालयमा अध्यक्षको पत्रकार सम्मेलन भयो भने कम्तीमा पचासदेखि सय जनासम्म हल कब्जा गरेर, ताली ठोकेर, थोत्रा गफ गरेर, अझ सेल्फी खिचेर बस्छन् । मानौँ, त्यो उनीहरुको जिम्मेवारी हो र क्रान्तिका लागि त्याग । त्यो समय आफ्नो कार्य क्षेत्रमा गएर केही योगदान गरे हुन्न ?
आज पार्टीमा बुढा नेता हावी भए । उमेरले पनि र पदको अवधिको हिसाबले पनि । पूर्ण बहादुर, विश्वप्रकाश, धनराज, गगन, मिनेन्द्र, प्रकाशशरण र बालकृष्णहरुले अहिले काँग्रेस चलाउछन् । देउवा र पौडेल त टोपी मात्र हुन् । तर एमालेमा सबै टुपीबाटै चलाउन सकिन्छ ? सम्भव छ ? हामीले देख्यौं, चुनावभरी केपी ओलीमाथि गगन थापा, विश्वप्रकाश अनि प्रकाशशरणको काउन्टर एट्याक । वडादेखि महानगरपालिकासम्म अध्यक्ष ओली नै चाहिने भए अरु पदको आवश्यकता नै किन ?
अय अघि पार्टीले जितेका ५ बर्षको पालिकाको नेतृत्व अराजक, फितलो र गतिहीन पनि भयो । किनकी पार्टीले तिनलाई नीतिहीन पारेको थियो । कहिल्यै कुनै मेयर र मुख्यमन्त्रीको कामको समीक्षा भयो त ? तिनलाई घोषणापत्रका कुरा यसरी लागू गर भनियो ? अर्थात पार्टीको काम आन्तरिक ब्यवस्थापन मात्रै हो ? हिजो मेयर र उपमेयर दुबै जितेका अधिकांश पालिकामा समेत ती दुईको सम्बन्ध कुनैपनि पार्टीको सौहार्दपूर्ण र संगठित भएन ।
हिजो जो जो सबैखाले सत्तामा गए, तिनले आफ्नो काम, कार्यक्षेत्र, आवश्यकता र जनअपेक्षा नै पत्तो पाएनन् । डाँडैपिच्छे एयरपोर्ट, जिल्लैपिच्छे विश्वविद्यालय, छुट्टै अस्पताल र मेडिकल कलेज, नेपालमै गाडी कारखाना खोल्ने कुरा केन्द्र र प्रदेशका प्रतिनिधिले गरे । पालिकामा भने कुखुराको भाले, सुत्केरी भत्ता, सुत्केरीको घरमा झन्डा, चार क्रेट अन्डा, महिनावारी विदा, किरियापुत्रीलाई सिदा के के हो के । हे भगवान्, कसले दिको यस्तो आइडिया ? सबै पार्टीवालाले यस्तै गरे तर मारमा एमालेवाला ज्यादा परे । किनकि तिनैले महत्वपूर्ण र धेरै निकायमा जितेका थिए ।
पार्टीमा गुट हुन्छन्, यो विश्वब्यापी अवस्था हो । त्यसलाई ब्यवस्थापन गर्न सकिन्छ, निर्मुल पार्न असम्भव छ । अहिले त एमालेमा गुट छैन र सबैका कम्फर्टेबल नै छन् होइन र ? फेरि किन महेश बस्नेत र खगराज, पृथ्वी सुब्बा र खगराज, बिष्णु पौडेल र शंकर पोखरेल, गोकुल र महेशका लफडा त ? अहिलेसम्मकै चुनाव हेर्ने हो भने गुट र अन्तरघात त यसैपाली पनि भयो । किन त ? कसैलाई लागेको होला भीम रावललाई ठिक पारियो वा योगेशलाई, तर आफ्नै भनाउँदाले धमिरा सल्काइसकेका रहेछन् ।
तसर्थ आन्तरिक समस्या र अन्तरविरोध हल गर्ने हो । सबैलाई टाढा देख्ने र अलिक असहमति हुने बित्तिकै ठिक पार्न खोज्नेले कसरी यो समाजको बहुआयामिक अन्तरसंघर्ष हल गर्न सक्छ । दश भाइलाई साइजमा ल्याउने बालहठ त भएन कतै ? लडाइँ छदा लडियो, अब त सकियो नि । एउटै मोर्चामा भएपछि शत्रुविरुद्ध पो मोर्चाबन्दी । प्रदीप ज्ञवाली, गोकुल र योगेशलाई साइजमा ल्याउने लहडले नै त होला लमजुङमा बस्ने र खास विषयमा पटक्कै रुचि नभएकालाई जबरजस्ती प्रवक्ता बनाएर अरुले त्यसमा इन्जोय गरेको । अब त चेत्नु नि कमरेडहरु ।
गठबन्धन बन्नु, तर गठबन्धनलाई गन्दै नगन्नु, यो पनि शक्ति भन्ने नठान्नु गल्ती हो । कुनैबेला त पार्टी सग्लो रहेको सन्देश र आत्माविश्वास थियो । तर चुनावी नतिजाले भने त्यही कमजोरी पनि बन्यो । फेरि पनि त बन्ला गठबन्धन । तर के सधैं त्यसै भन्ने हो ? पार्टी एकीकरण नै दिक्कलाग्दो बनेको एमाले नेतृत्वलाई नौरङ्गी पार्टीसँगको गठबन्धनमा रुचि नहुनु स्वभाविक हो । यसो भनिरहँदा एमालेको परिवार दल, कमल थापासँगको पिरती पनि चाउरे पिरती नै त बनेन ?
पार्टीका ठुला भनाउँदा मात्रै होइन, लामो समय नेतृत्व गरेकाको बहिर्गमन पनि एउटा कारण हो । किनकि त्यो शक्ति आफै जित्न पुग्दो त थिएन तर एमाले हराउन भने पुग्ने रहेछ । कसैको बुई चढेर होस् या स्वयम्को शक्तिले । त्यहाँ नेतामात्र थिएनन्, आशालाग्दा कार्यकर्ता पनि थिए । हेटौंडाकी मिना लामा, पोखराका धनराज, डडेल्धुराका डा जोशी, काठमाडाँैका वसन्त मानन्धर केही प्रतिनिधि पात्र हुन् । एमालेको दश प्रतिशत शक्ति नै माने पनि एक लाख सदस्य त गए । त्यसबाट हुने क्षति माओवादीबाट ल्याएर रोकियो होला तर नयाँ मतदाता, स्वतन्त्र र विभाजनबाट दुःखी बनेकालाई भने मलहम लगाउन सकेन ।
असमानता समाजमा र पार्टीको सबै कमिटीभित्र पनि छ । त्यसको छाया निर्वाचनको उम्मेदवार बिचमै देखियो । निकै स्थानमा थोरै पनि आर्थिक वा प्रचारात्मक सामग्री हुँदा चुनाव जित्थ्यौँ भन्ने उम्मेदवार छन् । तर केन्द्र त्यसमा खासै सिरियस भएको पाइएन । प्रदेश कमिटी सबै मामिलामा कोमामा देखियो ।
पछिल्लो कालमा दुई पार्टीको एकता भई नेकपाको गठनले विश्वमै एउटा तरङ्ग ल्याएको थियो । साथै नेपाली जनतामा आशा र विपक्षमा आँधी पनि सिर्जना गरेको थियो । तर ओली र प्रचण्डमा केही उन्माद, केही आकांक्षा र केही आशंकाले यो पानीको फोका भो । त्यो एकताले जनता कति खुशी थिए, फुटले त्यति नै आक्रोशित छन् । सारमा केपी ओलीबाट जनता जति आशावादी थिए, त्यति नै निराश र दुःखी पनि भए । किनकि तिनलाई केपीले फुट रोक्छन् भन्ने थियो । उनलाई न्यायाधीश बन्ने अवसर थियो तर झगडालु जस्तो देखे धेरैले । यसले स्वतन्त्र तर बामपक्षीय मतदाता निष्क्रिय भए ।
नतिजा आँखै अघि
राम्रा, इमानदार र मिहनेती नेतृत्व पनि थिए, धेरै पालिकामा । तिनको कामले नै संघीयता र पार्टी पनि टिकेको छ । तर शुभचिन्तकहरु भन्छन्, काठमाडौं, पोखरा, बुटवल र सिमरा जस्ता प्रमुख सहरका मेयरका काम कारबाही, प्रस्तुति र सार्वजनिक छवि नै काफी भयो एमालेलाई सहरमा ठिक पार्न । त्यस्ता मेयर सबैतिर थिए तर मारमा भने एमाले मात्र पर्यो । किनकि हिजो ठुला नगरमा एमालेले नै जितेको थियो ।
गठबन्धन, धाँधली र माधव नेपाल त सहायक मात्र हुन् । पार्टी र सरकारी नेतृत्व पनि गणेश प्रवृत्तिमा गएको हो । कारण त्यही खोज्न जरुरी छ । पार्टीले पनि पालिका नेतृत्वलाई सही परिचालन गरेन । केही छाडा भए, केही गणेश भए । कोही प्रचण्डको ताप र माधवको साफमै हराए ।
अब चुनाव अघि र पछिको दुबै प्रतिक्रिया जरुरी छैन । फेरि पनि ठूलो र जनमतवाला पार्टी एमाले नै हो । अलिक आत्मापिश्वास र समीक्षाको जरुरी मात्र हो । त्यसको लागि एउटै शर्त हो, पार्र्टीको नीति र व्यवहारमा तादम्यता, समयानुकुल सुधार अनि वडादेखि केन्द्रसम्मको नेतृत्वमा सके नयाँपन, नसके परिवर्तन ।
नेपालमा विज्ञताको थोरै भएपनि कदर गर्ने पार्टी एमाले थियो । तर आज वडाध्यक्षदेखि मन्त्रीसम्म सबै विज्ञ, टोलवालादेखि रोलवाला सबै विद्वान बन्ने अवस्था बनेको छ । सायद केपी कमरेडको ज्ञान र गुण स्वतः आफूमै सरेको छ भनेर पो हो कि ? प्रतिरक्षात्मक बन्नु पर्दाको पीडा एमाले जनले जति दुनियाँमा कसले भोगेको छ । त्यसको धेरै कारण होलान् तर एउटा मुख्य कारण नेतामा मै जान्ने, मै सुन्ने अनि किन अरुको कुरा मान्ने भन्ने गलत प्रवृत्ति पनि हो ।
पक्कै ओली कमरेडको क्रेजले होला, अति नै ठुलो संख्याका जनता जोडिएकाले एमालेमा उत्ताउलोपन बढ्न थालेको थियो । जसले गर्दा अधिकांश कार्यकर्ताले प्रचण्ड र माधवको अस्तित्व नै देख्न छाडे । बालेन र हर्क साङपाङ जस्ता त गणनामै थिएनन् । हो, त्यही नै ठूलो गल्ती भयो । प्रतिस्पर्धीको पहिचान, अनुमान र त्यही अनुसारको ट्याकल गर्ने तयारी गर्न नसकेकै हो ।
धरानमा पानी चाहिएको रहेछ, बिमानस्थलको गफ । दमकमा सुकुम्बासी समस्याको समाधान चाहिएको रहेछ, लगानी टावर र आकाशे पुलमा । काठमाडौंमा सार्बजनिक यातायात, सम्पदा संरक्षण, ट्राफिक जामको अन्त, फोहोर ब्यवस्थापन, सार्बजनिक स्वास्थ र शिक्षा चाहिएको रहेछ, ध्यान टावर÷मल÷पार्क र सपथ अनि सेलिब्रेसनमा । जनताको समस्याबाट पार्टीहरु धेरै नै बहकिएछन् ।
उम्मेदवार छान्दा लापरवाही मनपरी पनि भयो । धरान, चितवन, पोखरा, तिलोत्तमा लगायतका उदाहरण नै काफी छन् । खासमा गाउँ र सहरको, नयाँ र पुरानाको, धनी र गरिबका,े महिला र पुरुषको, युवा र प्रौढको अन्तरबिरोध र सामाजिक सम्बन्धको ख्याल गर्नु पर्दथ्यो । वीरगञ्जमा हिजै गन्हाएका भनिएका, जनतासँग टाढिएका र प्रभावहीन मेयरलाई भित्र्याउन किन राजेशमानलाई तमासा बनाएको होला ? राजेशमान र सरावगी पनि छुट्याउन सकेनन् कसरी भन्नु र खै ?
दश बुँदेको दशा पनि यो नतिजाको दुर्दशासँग जोडिएको होला कि । साह्रै कम्फरटेबल र एसमेनवाला मात्रैले नि हुनैपर्ने विजय प्राप्त नहुँदो रहेछ । भीम रावल, गोकर्ण र योगेशहरु बेरोजगार हुने, बादल, बालकृष्ण, करिश्मा र दुर्गा प्रसाईको चुनावी सभालाई जनताले अलिक हजम गरेनन् कि । प्रभु साह र टोप बहादुर जस्ता अपवाद बाहेकको जनतामा कतिको विश्वसनीयता देखियो र ?
सबै हिसाबले उम्दा हुँदा हुँदै आज एमाले पार्टी प्राविधिक र सरकारी निकाय जस्तो भएको छ । त्यति राम्रा कामको थालनी गरेर पनि खुशी हुन नसक्ने, जश लिन ढङ्ग नभएको अनि भावनात्मक सम्बन्ध र मूल स्पिरिट भुल्दै गएको, काँग्रेस जस्तै पार्टी खोजेका हुन् त नेपाली जनताले ?
२००७ सालदेखि बारम्बार जनतालाई धोका दिएर पनि भारतसँग थुप्रै राष्ट्रघाती सन्धि सम्झौतामा मुछिएर पनि, बहुराष्ट्रिय निगम र अन्तराष्ट्रिय मुद्रा कोषसँग लत्रिएर पनि, बारम्बार असक्षम ठहरिएर पनि र देउवाको नीति, नियत र क्षमताको प्रश्न उठाइए पनि, निजीकरणको नाममा उद्योगधन्दा र सामाजिक संरचना ध्वस्त बनाइए पनि, बारम्बार टुट फुट र घर झगडामा फँसे पनि किन काँग्रेस नै नेपालकै भरपर्दो र ठुलो पार्टी हुन्छ अधिकांश समयमा ? उत्तर सहज छ, उसको कारणले भन्दा पनि नेपालका वामपन्थी भनाउँदाको झगडा, अन्यौलग्रस्त नीति, आफैभित्रको कलह र असहिष्णु व्यवहार, जनताको सेवक भन्दा शासक हुने रहर ।
पाँच दल मिलेको, धाँधली गरेको, विदेशीले पोसेको जस्ता सतही कुराले मात्र नेपालका मुख्य मुख्य सहरमा ‘कमब्याक’ हुन गाह्रो छ । जनताले त पार्र्टीलाई मन पराएकै छन् तर एमाले आफ्ना कमजोर सूचना संयन्त्र र मिडिया, हिजैका शासकजस्ता, घमण्डले ग्रस्त, गुटबन्दीमा मख्ख, टापटिपे र सतही अनि बालकोट र च्यासलको फन्को लगाएकै भरमा पार्टी डुबाउने महारथीलाई असनको साँढेझैं छोडिरहने हो त ? एउटा चुनावमा आशातीत सफलता भएन त, भोलि हुन्छ नि । तर गलत ट्र्याकमा गए, न आज न भोलि नै सफल भइन्छ ।
एमालेको केन्द्रीकृत तयारी र मिडिया अनि प्रमोसन डकुमेन्ट साह्रै कमजोर र सतही बने । बरु स्थानीय प्रमोसन चाखलग्दा थिए । केन्द्रीय तहमा भने अधिकांशमा सूर्य, आमसभा र र्याली अनि नेताहरुका अनुहार । बढीमा बृद्धभत्ताको प्रसंग थियो । जबकि हुलाकी मार्ग, सुरुङ, सडक र पूर्वाधार, पुष्पलाल र मदन भण्डारी मार्ग, कमला डाइभर्सन र सिँचाइको क्रान्ति, सार्वजनिक विद्यालय र स्वास्थ सेवा अनि राष्ट्रियताको अडान लगायतका जनतासँग प्रत्यक्ष जोडिएका थुप्रै बिषय थिए, प्रचारका लागि । धेरैले बुझेको एमाले त अलिक स्मार्ट नै थियो, अहिले के भो ओभरस्मार्ट वा लद्दु ?
मदन भण्डारी र पुष्पलालको एमाले, मनमोहन र झापाली सहिदको एमाले, आफ्नो गाउँ आफै बनाऊँ र सामाजिक सुरक्षाको एमाले, नेपालकै नक्सा फेर्न सक्ने एमाले, धेरै र संगठित सदस्य भएको पार्टी हो एमाले । उसलाई जाबो एउटा स्थानीय निर्वाचनमा आशातीत सफलता नपाउँदा आफै भित्रको सुधार गर्न छाडेर बजारी रोइला गर्न सुहाउँदैन ।
जति मन परे पनि, नपरे पनि नेपाली राजनीतिमा केपी ओली जत्तिको क्षमतावान, अध्ययनशील र विकासे हुटहुटी बोकेको नेता पाइन्न । ओलीको तुलना के देउवासँग हुन सक्ला ? त्यस्तै एमाले पार्टी जस्तो सुसंगठित, व्यवस्थित र योजनाबद्ध अनि नेपाली, समाज रुपान्तरणमा सबै हिसाबले योगदान दिने, त्यो पनि जुनसुकै कालखण्डमा के कुनै पार्टी छ भन्दा तपाईं पत्याउनु हुन्छ र ? तुलनात्मक हिसाबले इतिहास, वर्तमान र भविष्यको लागि पनि अनुमान गर्दा एमाले साँच्चिकै नेपालको रोज्जा पार्टी हो । तर किन त्यो पार्टी सधैं रक्षात्मक छ, अनि त्यसै पार्टीको विश्वसनीयतामा किन प्रश्न उठ्छ ? यसको उत्तर पार्टी पंक्तिले खोजोस् । आफू कहाँ चुकें ? निर्मम समीक्षा गरोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित
-
२४ वटा जङ्गली हात्तीले आतंक मच्चायो