शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा पनि मनाइयो गणतन्त्र दिवस (तस्बिर)

आइतबार, १५ जेठ २०७९, १५ : २८
आइतबार, १५ जेठ २०७९

सुदूरपश्चिम प्रदेशको धनगढीमा १५ औं गणतन्त्र दिवस भव्यताका साथ मनाइएको छ । जेठ १५ गते अर्थात् राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन (गणतन्त्र दिवस) को अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले एक समारोह आयोजना गरि भव्यताका साथ गणतन्त्र दिवस मनाएको हो । 

दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्राङ्गणसम्म बाजागाजासहित प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुनबहादुर थापा, विभिन्न मन्त्रालयका मन्त्री, राज्यमन्त्री, प्रदेश सभा सदस्य, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारी, विभिन्न संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधी, सञ्चारकर्मी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पुगेको र्यालीपश्चात विभिन्न कार्यक्रम गरिएको थियो । प्रदेश प्रमुख देवराज जोशीले मन्त्रालयमा झण्डोतोलनसँगै प्रदेशमा शान्तिको सन्देश दिन परेवा उडाएर समारोहको समुद्घाटन गरेका थिए । समारोहमा प्रदेशमा रहेका विभिन्न जातजातिको संस्कृति झल्काउने कलाहरूको प्रस्तुति गरिएको थियो ।

सो अवसरमा बोल्दै प्रदेशका मुख्यमन्त्री भट्टले प्रदेशको विभिन्न आन्दोलन र संघर्षबाट ल्याइएको व्यवस्थालाई संस्थागत विकास अघि बढनुपर्ने बताए । ‘नेपालमा विभिन्न संघर्ष, सशस्त्र संघर्ष, शान्तिपूर्ण संघर्ष, विभिन्न संघर्ष विभिन्न समयमा भएका छन् ।  त्यसपछिमात्र हामीले गणतन्त्र प्राप्त गरेका छौँ’ उनले भने, ‘यो दिवस ल्याउन योगदान पुर्याउने शहीदहरुलाई श्रद्धाञ्जली दिनुपर्छ, वेपत्ताहरुलाई सम्झनुपर्छ, घाइते अपाङ्गता भएका व्यक्तिहरु तथा सहिद परिवारहरुलाई सम्मान गर्नुपर्छ ।’

उनले गणतन्त्र दिवस सबैको साझा दिवस रहेको बताए । उनले संसारको सबैभन्दा उत्कृष्ट व्यवस्थानै गणतन्त्र रहेको बताए । ‘यो व्यवस्थालाई संस्थागत विकास गर्न सकेनौँ । संरचनागत रुपमा तिव्र गतिमा नयाँपन दिन सकेनौँ । हामीले जनताले चाहेका साना–साना कुरामा परिवर्तन ल्याउन सकेनौ भने हामी यो गणतन्त्रलाई पनि संस्थागत विकास गर्ने स्थिति नहुन सक्छ’ उनले भने ।

उनले सरकारले आएका चुनौतीहरूलाई पन्छाउँदै समृद्ध नेपाल बनाउने सबैको दायित्व र कर्तव्य रहेको बताए । उनले कर्तव्यबाट कोही पनि पछाडि हट्न नहुने बताए । ‘नयाँ व्यवस्था आएको पाँच वर्ष भइसकेको छ । जनताले मागेको विकास, सेवा, नयाँ पन दिन सके वा नसकेको बारे सरकारले समिक्षा गर्नुपर्ने अवस्था आएको छ’ उनले भने –‘हामी कर्मचारी उही हौ, नेताहरु उनै हुन,  नागरिकहरु पनि उनै हुन तर, व्यवस्था, संविधान नयाँ हो । हाम्रो चाहना नयाँ हो । हाम्रो सोच र व्यवहार नयाँ हुन जरुरी छ ।’ 

उनले मानिसले आफुलाई परिवर्तन गर्न सकेनन् भने त्यो परिवर्तनलाई आत्मसात गर्न नसक्ने बताए । उनले संसारमै गणतन्त्र र संघीयतालाई पूर्ण बनाउन लामो समय लागेको स्मरण गराउँदै ‘पाँच वर्षको दौरानमा गणतन्त्र र संघीयतालाई हामीले तिव्र गतिमा अघि बढाएका पनि छौं र यति मात्र पुरा भएको छैन । यतिले आफनो समीक्षा गर्ने कुरा होइन । हामी योभन्दा अघि बढ्नुछ । अगाडि जानुछ । अगाडि जान सक्यो भनेमात्र हामीले आफनो लक्ष्य प्राप्त गर्न सक्छौं । अगाडि जान नसकेमा फेरी एउटा प्रकारको असन्तुष्टि र निराशा आम नागरिकमा देखिने गर्छ । गणतन्त्र र संघीयता नचाहनेहरु खेल्न थाल्छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप