बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गणतन्त्रलाई कमजोर पार्ने तत्व स्थानीय निर्वाचनमा पराजित : मुख्यमन्त्री केसी

आइतबार, १५ जेठ २०७९, १४ : ५५
आइतबार, १५ जेठ २०७९

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले गणतन्त्रलाई कमजोर पार्ने तत्वलाई स्थानीय निर्वाचनमा जनताले पराजित गरेको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आइतबार प्रदेश सरकारले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले दिगो शान्ति, सुशासन र समृद्धिका आकांक्षा पूरा गर्ने संकल्प गणतन्त्रले गरेको बताए ।

उनले विगतमा राज्य व्यवस्थाले गरेको विभेदलाई अन्त्य गरी समता मुलक समाजका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । गणतन्त्र स्थापनाका लागि नेपालीहरुको महत्वपूर्ण त्याग, तपस्या र बलिदानबाट मात्रै सम्भव भएको स्पष्ट पार्दै उनले सबैको मेहनत, योगदानबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो र मजबुत बनाउन प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताए ।

गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख, विभिन्न मन्त्री, सांसद तथा बुटवल उपमहानगरपालिका सहित स्थानीय तहका जनप्रतिनिधिहरु उपस्थित थिए ।

प्रदेश प्रमुख अनुपस्थित

गणतन्त्र दिवसको अवसरमा बुटवलको सिद्धेश्वरी मैदानमा  आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन भने अनुपस्थित थिए । प्रदेश प्रमुख शेरचन बिरामी भएका कारण मुल समारोहमा उपस्थित हुन नसकेको बताइएको छ ।

कार्यक्रममा प्रदेश प्रमुख शेरचनले शुभकामना सन्देश पठाएको प्रदेशका आन्तरिक मामिला सचिव कोमल  धमलाले बताए । धमलाले प्रदेश प्रमुख बिरामी रहेको र लुम्बिनी प्रदेशभन्दा बाहिर रहेको हुँदा समारोहमा सहभागी हुन नसकेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप