न्यायालयको अवस्था सुधारोन्मुख छ : कामु प्रधानन्यायाधीश
कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयको अवस्था सुधारोन्मुख रहेको बताएका छन् । आइतबार नेपाल कानून व्यवसायी परिषद्को लयर्स एकेडेमी व्यवस्थापन समितिद्वारा आयोजित ७ दिने तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश कार्कीले न्यायालयको अवस्थाबाट पहिले भन्दा सुधार भएको बताए । उनले आफुले सर्वोच्च अदालतको नेतृत्व लिएपछि मुद्दाको फर्स्योट बढेको बताए ।
उनले आफु नेतृत्वमा आउँदा मुद्दाको फर्स्योट प्रतिशत ८ प्रतिशत रहेकोमा अहिले बढेर १५ प्रतिशत पुगेको बताए । उल्लेख्य मात्रामा पुराना मुद्दाहरूको फैसला भएको उनले उल्लेख गरे ।
उनले भने– ‘न्यायपालिका अहिले सुधारोन्मुख छ । हामीले विभिन्न अवरोधहरू, विभिन्न प्रवृत्तिहरू, विकृतिहरु, विसंगतिहरु बेहोर्यौँ । भोग्यौँ । र त्यो सुधार गर्नको निमित्त कानून व्यवसायीको क्षेत्रबाट, न्यायाधीशको क्षेत्रबाट हामीले भोगेर यसलाई सुधार गर्नुपर्छ भनेर प्रतिवद्धताको साथ अहिले हामी आएका छौँ । म प्रतिवद्धता व्यक्त गर्न चाहान्छु, न्यायपालिकालाई अब हामीले यो भन्दा पहिलेको स्थितिभन्दा फरक ढंगबाट हेर्नुपर्छ । यसलाई समृद्ध रुपमा अगाडि बढाउनुपर्छ भन्ने कुरामा म फेरि पनि त्यो कुरा राख्न चाहान्छु ।
उनले भने, ‘मैले आफुले नेतृत्व लिँदाखेरी हाम्रो सर्वोच्च अदालतको मुद्दाको फर्स्योट प्रतिशत ८ प्रतिशत थियो । ८ प्रतिशतबाट मैले विभिन्न ढंगबाट त्यसलाई फोकस गरेर अहिले प्रत्येक महिनाजसो २ प्रतिशतको दरले बढाएर अहिले हिजो सम्मको स्थितिमा १५ प्रतिशत मुद्दा फैसला भएको छ । त्यसमा उल्लेखनीय रुपमा पुराना मुद्दाहरु फैसला भएका छन् । विशेष गरेर उच्च अदालत र जिल्ला अदालत भन्दापनि सर्वोच्च अदालतप्रति धेरै गुनासोहरू छन् । धेरै मुद्दाहरु फर्स्योट हुन सकेनन् । पुराना मुद्दाहरु धेरै रहे भनेर त्यसमा सुधार गर्न खोजिरहेका छौँ ।’
कामु प्रधानन्यायाधीश कार्कीले तत्कालका लागि गोलाप्रथाको विकल्पमा जान नसकिने बताए । उनले अटोमेशनमा जाने प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै अटोमेशनमा जानु अघिसम्म गोलाप्रथाबाटै मुद्दा हेरिने बताए ।
उनले भने– ‘गोलाको विकल्प तत्काल हामी जानसक्ने अवस्था पनि छैन । हरिकृष्ण कार्कीको प्रतिवेदनले पनि अटोमेशनमा जाने हो र अटोमेशनमा नजाँदासम्म, अटोमेशनको कार्यान्वयन नहुँदासम्म हामी गोला प्रक्रियाबाट नै मुद्दा हेर्ने भएको हुनाले अहिले हामी अरु कुरामा विचार गर्न सक्ने पक्षमा छैनौँ र अटोमेशनमा जानका लागि प्रक्रिया सुरु भइसकेको छ । बजेटको पार्टमा फुल कोर्टले पनि पास गरिसकेर अर्थ मन्त्रालयमा बजेटको माग गरिसकेका छौँ । र अटोमेशन कार्यान्वयन हुन्छ भन्ने मलाई लाग्छ ।’
उनले अटोमेशनमा जानका लागि अर्थमन्त्रालय सँग बजेट माग गरिसकिएकाले अटोमेशनको प्रक्रिया छिट्टै कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।