बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचनमा एमाले : पपुलर मत आए पनि पालिकामा खुम्चियो

८९ पालिका गुमायो, ११३ पालिका नयाँ
आइतबार, १५ जेठ २०७९, १२ : २७
आइतबार, १५ जेठ २०७९

 नेकपा एमालेले विगतको स्थानीय तहको निर्वाचनको तुलनामा यस पटक कम पालिका जिते पनि मत प्रतिशत भने बढेको देखिन्छ । गत स्थानीय चुनावमा ३२.७ प्रतिशत मत ल्याएको एमालेले यसपटक ३३.३ प्रतिशत मत ल्याएको छ ।

यसपटक स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी भए पनि उसको प्राप्त मत संख्या कम भएको छ । त्यस्तै, तेस्रो स्थान ल्याएको माओवादी केन्द्रको पनि कुल मत संख्या कम भएको छ । गत स्थानीय चुनावमा एमाले पहिलो र काँग्रेस दोस्रो पार्टी बनेको थियो । यसपटक भने नेपाली काँग्रेस पहिलो र एमाले दोस्रो पार्टी बनेको छ ।

एमालेले गठबन्धन दलको ‘धाँधली’ का कारण आफू कमजोर भएको निष्कर्ष निकालेको छ । मतगणना सुरुवातसँगै एमालेले विज्ञप्ति जारी गरेर यस्तो निष्कर्ष निकालेको थियो । २०७४ को स्थानीय तह निर्वाचनमा २९४ पालिका जितेको एमालेले यसपटक २०५ पालिका मात्र जितेको छ । वितगको तुलनामा यसपटक एमालेले ८९ पालिका गुमाएको छ ।

एमालेले अहिले जितेका अधिकांश पालिकामा उसले २०७४ मा हार व्यहोरेको थियो । एमालेले ९२ वटा पालिकामा मात्र नेतृत्व दोहो¥याउन सफल भएको छ । यसपटक ११३ वटा पालिका एमालेका लागि नयाँ पालिका हुन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीका गृह जिल्लाका तीनवटा पालिका कमला गाउँपालिका, दमक नगरपालिका र भद्रपुर नगरपालिका एमालेले गुमाएको छ भने सातवटा पालिका जितेको छ । ताप्लेजुङमा पनि एमालेले चार वटा पालिका गुमाएको छ । यस्तै इलाममा चारवटा, पाँचथरमा दुई, संखुवासभामा तीन वटा पालिका गुमाएको छ ।

कञ्चनपुर, दैलेख, दाङ, गुल्मी, काभ्रे र काठमाडौंमा पाँच–पाँचवटा, भक्तपुरमा दुई र ललितपुरमा एकवटा पालिका एमालेले गुमाएको छ । उसले सबैभन्दा बढी रुपन्देही र सिन्धुपाल्चोकमा गुमाएको छ । ती जिल्लामा एमालेले आफ्ना पुराना सात–सातवटा पालिका गुमाएको छ भने कैलाली र बझाङमा ६–६ वटा पालिका गुमाएको छ ।

डोटी, कैलाली, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरी, सिरहा, धनुषा, सर्लाही, बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, रसुवा, धादिङ, नुवाकोट, काभ्रे, मकवानपुर, चितवन, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, पाल्पा, कपिलवस्तु, रोल्पा, प्युठान, बाँके, बर्दिया, नवलपरासी पश्चिम, सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, सुर्खेत, बाजुरा, अछाम, बझाङ, दार्चुला, बैतडी, डडेल्धुरा जिल्लामा पनि एमालेले आफ्नो पुरानो पालिका गुमाएको छ ।

एमालेले यस पटक कुनै पनि महानगरपालिकामा जित हासिल गर्न सकेन । यद्यपि केहीमा उसले उपप्रमुख जितेको छ । यसअघिको चुनावमा ललितपुर महागरपालिकामा एमाले र राप्रपा तालमेल भएको थियो । तैपनि काँग्रेसले बाजी मारेको थियो । यसपटक पनि काँग्रेसले नै बाजी मारेको छ ।

२०७४ को स्थानीय चुनावमा काठमाडौं महानगरपालिकामा पनि एमाले र राप्रपाबीच तालमेल भएको थियो । अघिल्लो निर्वाचनमा काठमाडौं महानगर प्रमुखमा एमालेले बाजी मारेको थियो भने एमालेसँगै तालमेल गरेको राप्रपाले उपप्रमुखमा हारेको थियो । काठमाडौंमा यसपटक पाँच दलीय गठबन्धनका साथै एमाले पनि पराजित भयो । यद्यपि, एमालेले उपप्रमुखमा भने जित हासिल गरेको छ । काठमाडौं महानगरको वडामा भने काँग्रेसको बहुमत छ ।

अघिल्लो निर्वाचनमा पोखरा महानगरपालिकामा काँग्रेस–माओवादीबीच तालमेल भएको थियो । तर एमालेले त्यहाँ प्रमुख र उपप्रमुख दुवै जितेको थियो । यसपटक गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीले प्रमुखमा जितेको छ भने एमाले एक्लैले उपप्रमुख जितेको छ ।

गत चुनावमा पनि भरतपुर महानगरमा माओवादी केन्द्रले नेपाली काँग्रेससँग गठबन्धन गरेर प्रमुख पदमा जितेको थियो भने उपप्रमुखमा काँग्रेसले जितेको थियो । यसपटक पनि माओवादी केन्द्रले पाँच दलीय गठबन्धनबाट प्रमुखमा जितेको छ भने काँग्रेसले उपप्रमुखमा जितेको छ ।

विराटनगर महानगरपालिका पनि पाँच दलीय गठबन्धनबाट काँग्रेसले प्रमुख हात परेको छ भने एक्लै भए पनि एमालेले उपप्रमुख हात परेको छ । वीरगञ्ज महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट जसपाले प्रमुखमा जितेको छ भने काँग्रेसले उपप्रमुखमा जितेको छ ।

विगतको चुनावभन्दा यस पटकको चुनावमा एमाले किन कमजोर भयो त भन्ने प्रश्नमा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले चुनावमा गठबन्धनबाट शान्तिपूर्ण धाँधली भएको कारण आफूहरु कमजोर भएको दाबी गरे । उनले भने, ‘एमालेको पपुलर मत बढेको छ तर विगतभन्दा सीट संख्या कम भएको छ, गठबन्धनले सत्ताको व्यापक दुरुपयोग गरेर चुनावमा पैसाको खोलो बगाएको थियो, कर्मचारीको सेटिङ थियो, त्यही कारणले एमाले कमजोर भएको हो ।’

सत्ताधारी पाँचवटा दलले योजनाबद्ध तरिकाबाटै एमालेलाई कमजोर गर्नका लागि गठबन्धन गरेर चुनावमा गएको उनको भनाइ छ । एमालेलाई शून्यमा झार्ने उनीहरुको योजना रहे पनि एमालेले नराम्रो पोजिसनमा नरहेको उनले बताए । उनले केन्द्रीय समितिको बैठकबाट यसबारे थप समीक्षा हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप