बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्व : प्रदेश प्रमुख शर्मा

आइतबार, १५ जेठ २०७९, ०८ : २५
आइतबार, १५ जेठ २०७९

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक एवं समावेशीता सहितको संविधानको मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्रको निर्माण गर्नु सबैको दायित्व भएको बताएका छन् । पन्ध्रौं गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले लोकतान्त्रिक गणतन्त्रले हामीलाई अधिकार सम्पन्न मात्र नबनाई मुलुकमा सुशासन, विकास एवं समृद्धिको आधार समेत तयार गरिदिएको बताए ।

शर्माले गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात, अज्ञात अमर शहीदहरुप्रति श्रद्दा सुमन अर्पण गर्दै बेपत्ता, घाइते तथा अपाङ्ग योद्धाहरूमा उच्च सम्मान समेत प्रकट गरे ।
 
प्रमुख शर्माले जनआन्दोलनको जगमा स्थापित गणतान्त्रिक मुलुकमा संविधान निर्माण गरी जनताका हक अधिकारहरू सुनिश्चित गरिसकिएको उल्लेख गरे । उनले भने, ‘ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को जगमा शाहवंशीय राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भई जनताको प्रतिनिधि जनता आफैंले छनौट गर्न पाउने लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको पन्ध्रौँ वर्षमा प्रवेश गरिरहँदा संविधानसभामार्फत संविधान निर्माण गरी जनताका हक अधिकारहरू सुनिश्चित गरिसकिएको छ । ’
 
यस्तै सार्वभौमसत्ता पूर्ण रुपमा जनतामा निहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन र सरकार सञ्चालन हुने उत्कृष्ट प्रणालीको संस्थागत विकास भएको बताए । उनले भने ,‘यो हामी नेपालीका लागि सुखद् र अत्यन्त गौरवको विषय हो । लोकतान्त्रिक गणतन्त्रले हामीलाई अधिकार सम्पन्न मात्र बनाएको छैन, मुलुकमा सुशासन, विकास एवं समृद्धिको आधार समेत तयार गरिदिएको छ ।’
 
नेपाल र नेपालीहरुको उज्ज्वल भविष्यका लागि गणतन्त्र स्थापनाले जीवनका आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणसहितको सभ्य, सुसंस्कृत र समुन्नत समाज निर्माणमा मार्ग प्रसस्त गर्न सकोस् भन्ने कामना गर्दै प्रमुख शर्माले यो दिवसले हामीलाई राष्ट्र निर्माणको महाभियानमा लामबद्ध हुन प्रेरणा मिलोस् भन्ने कामना पनि गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप