मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि : आर्थिक सर्वेक्षण

चीनतर्फ भने निर्यात ४३.७ प्रतिशतले घट्यो
शनिबार, १४ जेठ २०७९, २१ : ३७
शनिबार, १४ जेठ २०७९

कोभिड-१९ को सङ्क्रमण क्रमशः कम भएपश्चात् वैदेशिक व्यापारको वृद्धिदर उच्च देखिएको आर्थिक सर्वेक्षण २०७८/७९ ले देखाएको छ। आर्थिक वर्ष २०७७/७८ मा निर्यात ४४.४ प्रतिशत र आयात २८.७ प्रतिशतले वृद्धि भएको थियो। 

आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कुल वस्तु व्यापारमा निर्यात अंश १०.१ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०७७/७८ फागुनसम्म यस्तो अंश ७.९ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कुल वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि भई रू.१४७ अर्ब ७५ करोड पुगेको छ। आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा वस्तु निर्यात ७.८ प्रतिशतले बढेर रू.८० अर्ब ७८ करोड पुगेको थियो। 

आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म भारततर्फ १०४.२ प्रतिशत र अन्य मुलुकतर्फ २९.१ प्रतिशतले निर्यात बढेको छ भने चीनतर्फ ११.० प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा भारततर्फ ११.३ प्रतिशत र अन्य मुलुकतर्फ २.० प्रतिशतले निर्यात बढेको थियो भने चीनतर्फको निर्यात ४३.७ प्रतिशतले घटेको थियो। 

आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिस्टर तथा अन्य), ऊनी गलैँचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ। आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कुल वस्तु आयात ३८.६ प्रतिशतले बढेर रू.१३ खर्ब ८ अर्ब ७३ करोड पुगेको छ। आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा यस्तो आयात २.१ प्रतिशतले बढेर रू. ९ खर्ब ४३ अर्ब ९९ करोड पुगेको थियो। 

आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म भारतबाट भएको आयात २८.१ प्रतिशत, चीनबाट भएको आयात ३६.७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ७५.४ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.बिलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ। आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कुल वैदेशिक व्यापार ४२.१ प्रतिशतले बढेर रू.१४ खर्ब ५६ अर्ब ४८ करोड पुगेको छ। आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा कुल व्यापार २.६ प्रतिशतले बढेर रू.१० खर्ब २४ अर्ब ७७ करोड पुगेको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप