शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

एक वर्ष भित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुन्छ : कृषिमन्त्री

शनिबार, १४ जेठ २०७९, १२ : ३२
शनिबार, १४ जेठ २०७९

कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवले अबको एक वर्ष भित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुने दाबी गरेका छन् ।एशोसिएशन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट (अनाज) ले शुक्रबार आयोजना गरेको ‘आत्मनिर्भर र साना किसानका सवाल’ विषयक कार्यक्रममा बोल्दै मन्त्री यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कृषिलाई जोड दिएकोले कार्यान्वयनलाई लागू गर्ने हो भने नेपाल आगामी एक वर्षभित्र कृषिमा आत्मनिर्भर हुने बताएका हुन् । 

उनले आगामी आर्थिक वर्षको बजेटले कृषि क्षेत्रमा, उत्पादनको क्षेत्रमा र निर्यातको क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने बताए । मन्त्री यादवले भने, ‘यो बजेटले नेपाली जनताको कृषि क्षेत्रमा, उत्पादनको क्षेत्रमा र निर्यातको क्षेत्रमा महत्त्वपूर्ण योगदान हुनेछ । हामी अबको एक वर्षभित्रमा कमसेकम कृषिमा आत्मनिर्भर हुन सक्छौँ । कृषि नेपालको मेरुदण्ड हो । कृषिलाई कसरी आत्मनिर्भर गर्न सकिन्छ भन्ने कुरा हाम्रो लागि चुनौतीको कुरा हो । यसपालिको बजेट जुन नीति कार्यक्रममा आएको छ, त्यो विगतको भन्दा धेरै परिवर्तनको रूपमा कृषि क्षेत्रमा आएको छ । तर त्यसलाई हामीले कसरी कार्यान्वयन गर्ने भन्ने मूल समस्या हो । बजेटमा कति निर्धारण हुन्छ त्यसकै आधारमा हामीले कृषि क्षेत्रको विकासलाई कार्यक्रममा अघि बढाउने हो । यसपटकको बजेट देशको आर्थिक स्थितिको डामाडोलस्थितिलाई मध्यनजर गरेर ल्याइएको छ । गत वर्षकै जति बजेट भए पनि यसलाई पारदर्शी, कार्यान्वयन र उत्पादनलाई कसरी वृद्धि गर्ने कुरा मूल चुनौतीको विषय हो । जनशक्तिको अभाव छ देशमा । अर्को चुनौती भनेको बजेटको कार्यान्वयनको सवाल हो, त्यसको लागि कृषि नीति आवश्यक छ । सङ्घीयता अनुसारको कृषि नीति बन्नुपर्दछ । प्रदेश र स्थानीय तहमा छलफल भएर अहिले कृषि नीति अन्तिम चरणमा पुगेको छ, ऐनहरू पास गर्ने कुरामा मन्त्रालय लागि परेको छ । अब चाँडै नै कृषि ऐन पास हुन्छ ।’

मन्त्री यादवले नेपालको कृषि उत्पादन व्यवसायीकरण नभएको बताए । उनले कृषिका उत्पादन सामग्री बिक्रीका लागि किसानले बजार नपाउने समस्या रहेको बताए । मन्त्री यादवले कृषिमा हुनुपर्ने बजारीकरण, यान्त्रिकीकरण, भण्डारणको व्यवस्थापन नहुनुले पनि कृषिमा थप समस्या सिर्जना भइरहेको बताए । मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशहरूमा एउटा भण्डारण घर र प्रत्येक गाउँपालिकामा स–साना गोदामहरू बनाउनका लागि बजेट छुट्याउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप