बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गोलबजार नगरपालिकाले दलित समुदायमा ५ हजार सुत्केरी भत्ता र ५ हजार किरिया खर्च दिने

शनिबार, १४ जेठ २०७९, १२ : २५
शनिबार, १४ जेठ २०७९

सिरहाको गोलबजार नगरपालिकाका नव निर्वाचित मेयर श्याम कुमार श्रेष्ठले दलित समुदायका महिलाहरूलाई ५ हजार सुत्केरी भत्ता र ५ हजार किरिया खर्च तथा फुसका छाना भएका घरहरूलाई जस्ता पाताले विस्थापित गर्ने पहिलो निर्णय गरेका छन्। मेयर श्रेष्ठले आज शुक्रवार पदभार ग्रहण गर्दै नगर क्षेत्रमा रहेका फुसका छाना भएका घरहरूलाई जस्ता पाताले विस्थापित गर्ने, दलित समुदायका महिलाहरूलाई ५ हजार सुत्केरी भत्ता तथा दलित समुदायको व्यक्तिगत घटना जन्म, विवाह, मृत्यु दर्ता निःशुल्क गर्ने निर्णय गरेका हुन्।

नगर क्षेत्रमा तत्काल खानेपानीको व्यवस्था मिलाउन बोरिङ जडान गर्ने निर्णय गरेको छ। उत्तरी क्षेत्र र नगर क्षेत्रका मुख्य बजारमा खानेपानीको असुविधा रहेकाले तत्काल सञ्चालन गर्न बोरिङ जडान गर्ने जनाए। एक समारोहबीच मेयर श्रेष्ठले निर्वाचित उपमेयर, वडा अध्यक्षहरू तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

शपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि सांसद तथा नेकपा एमालेका पोलिटब्यूरो सदस्य लीलानाथ श्रेष्ठले अबका जनप्रतिनिधिहरूले विकास निर्माणको काममा विशेष जोड दिनुपर्ने बताए। यस अघि निर्वाचित जन प्रतिनिधिहरूको काँधमा ऐन कानुन बनाउने, कार्यालय भवनहरू बनाउने लगायतका जिम्मेवारीहरू समेत रहेको बताउँदै अबका जनप्रतिनिधिले विकास निर्माणको काममा विशेष जोड दिनुपर्ने औँल्याए।

पूर्व प्रदेश प्रमुख धर्मनाथ यादवले विकास निर्माणसँगै स्थानीय सरकारले पारदर्शिता र सुशासन कायम गर्नु पर्ने बताए। प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार रहेको बताउँदै जनभावना अनुसार काम गरे पुनः अनुमोदन हुने बताए । उद्योग वाणिज्य संघ गोल बजारका अध्यक्ष भरत अग्रवालले स्थानीय सरकारले विकास निर्माणसँगै सुशासन, पारदर्शितामा जोड दिनुपर्ने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप