बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गोचाली

शनिबार, १४ जेठ २०७९, ०९ : ०५
शनिबार, १४ जेठ २०७९

राप्तीको सुन्दर काखमा
सुन फलाउने देउखुरीका उर्बर फाँटहरू
कसरी हराभरा र गुल्जार बने  ?
अन्नका रत्न र जुहारहरूले
विशाल भण्डारहरू भर्ने
दाङका समतल मैदान र कछाडहरू
कसरी वैभवपूर्ण र सदाबहार बने ?
कसरी फुले ढुङ्गे बगर र बलौटे माटोमा पनि
पौरखका हीरा, मोतीहरू ?
यो निर्जन औलो प्रदेशमा पनि
श्रम र सिर्जनाका मनोहर बस्तीहरू कसरी झुले ?
गोचाली
धरतीका आदिपुत्र
तिम्रै आदि–भूमिलाई उजाड पारी जंगली बाँदरहरू
कसरी तिम्रै फुलबारीमा माली बने ?
जसको असली हक छ यो पृथ्वीमाथि
तिनैले तिमीलाई उठिवास पारी
कसरी लुटेरा बर्बरहरू उल्टै
सारा ऐश्वर्यका अधिकारी बने ?
ए, माटोका कर्मपुत्र,
तिमी छौ दुःखी र तिमी छौ उदास
तिमी छौ भोको र तिमी छौ निराश
कसरी खोसियो तिम्रो आवाज, भन 
किन छौ तिमी युगयुगदेखि चुपचाप ?
कसले लुट्यो तिम्रो सुनको लङ्का ?
कसले लुट्यो तिम्रो सिर्जनाको घाम ?
सधैं पीडा फुल्ने तिम्रो ओठमा
कहिले फुल्छ खुशीको मीठो मुस्कान ?
गोचाली
तिमीले नै धरती भूस्वर्ग बनायौ
कसरी बन्यौ त्यहीँ धरतीमा भूदास तिमी ?
तिम्रै पसिनाले बगर गुल्जार बने
तर, मरुभूमिझैं सधैं उजाड तिमी
तिम्रा भागमा केवल आधा गाँस सधैं
तिम्रै निम्ति ‘छेउटी’को बास किन ?
कहिले दाङ कहिले बुह्रान फकिरझैं
सधैं सधैं तिमीलाई ‘छारा’ 
हिँड्नुको सन्त्रास किन ?
गोचाली
कति बन्छौ सधैं कमैया खाली ?
बनाईदेऊ अब ‘माघ’लाई
तिम्रै मुक्तिको हुङ्कार यसपालि
हुन सक्छ,
‘बेथान’को झिल्का पनि नदेख्न सक्छौ
‘मिरुल’ र ‘मेलगैरी’का पीडा पनि 
अझै नबुझ्न सक्छौ
तर, यति त बुझ
किन मुछियो गुम्रा थारूको रातो रगतले
धेरै वर्ष अघि नै बेलवा बन्जारी ?
को सक्छ देश र दुनियाँदेखि
सधैं सधैं बेखबर बाँच्न
को सक्छ भित्रभित्र 
पीडाको भक्कानो सङ्गालेर
फगत बाहिर बाहिर हाँस्न ?
गोचाली
अब त उठिदेऊ,
छिटो मुठ्ठी कसिदेऊ
दासताको युगीन साङ्लो चुँडाली
बनिदेऊ, 
अब तिमी नै बनिदेऊ
तिम्रै लुटिएको सुन्दर फुलवारीको माली ।
                    इच्छुक रचनावली भाग–२ बाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप