शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँको नगरसभा र कार्यपालिकामा काँग्रेसको बहुमत, मेयर–उपमेयरलाई चुनौती

काठमाडौंमा दलहरुको फेरियो पोजिसन, माओवादी र विवेकशील साझाको विजोग
शनिबार, १४ जेठ २०७९, ०८ : ५८
शनिबार, १४ जेठ २०७९

काठमाडौं महानगरपालिकामा मेयर–उपमेयर, ३२ वडाध्यक्ष र १२६ सदस्य गरी १६० जनप्रतिनिधि चयन भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट काठमाडौं महानगरमा १६० जना जनप्रतिनिधि चुनिएर आएको हुन् ।

महानगरपालिका–२४ र २५ मा दलित सदस्यतर्फ उम्मेदवारी नपर्दा १६२ जनप्रतिनिधि चयन हुनुपर्नेमा १६० जना मात्र चयन भएका हुन् । मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भएका छन् भने उपमेयरमा नेकपा एमालेबाट सुनिता डंगोल निर्वाचित भएकी छिन् ।

गठबन्धनबाट काँग्रेस उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई भारी मतान्तरले पराजित गर्दै  साह काठमाडौंको मेयर बन्न सफल भएका छन् । साहले ६१ हजार ७६७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याए । साहले सिंहको भन्दा २३ हजार ४२६ मत बढी पाएका छन् ।

यस्तै उपमेयर डंगोलसँग गठबन्धनबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ ठूलो मतान्तरले पराजित भए ।  डंगोलले श्रेष्ठलाई फराकिलो मत अन्तरमा पराजित गर्दै उपमेयरमा विजयी भएकी हुन् । डंगोलले ६८ हजार ६१२ मत ल्याइन् । श्रेष्ठले २३ हजार ८०६ मत मात्र ल्याए ।

यस्तै ३२ वडाध्यक्ष मध्ये नेपाली काँग्रेसबाट १९, एमालेबाट १२ र नेकपा एकीकृत समाजवादीबाट १ जना निर्वाचित भएका छन् । यस्तै काँग्रेसबाट ७४ , एमालेबाट ४८ र एकीकृत समाजवादीबाट ४ गरी १२६ जना काठमाडौं महानगरको वडा सदस्य बनेका छन् ।

नगरसभा र कार्यपालिकामा काँग्रेसको बहुमत

नगरसभामा काँग्रेसको स्पष्ट बहुमत छ । मेयर र उपमेयर गुमाएको काँग्रेसबाट नगरसभामा १९ वडाध्यक्ष र ७४ सदस्य गरी ९३ सदस्य छन् । नगरसभामा ५८ प्रतिशत काँग्रेसको उपस्थिति छ । यस्तै नगरसभामा एमालेबाट उपमेयर, १२ वडाध्यक्ष र ४८ सदस्य ६० सदस्य रहेका छ । अर्थात नगरसभामा एमालेको ३७ प्रतिशत प्रतिनिधित्व छ । एकीकृत समाजवादीबाट १ वडाध्यक्षसहित ५ जना ३ प्रतिशत उपस्थिति छ । मेयरमा बालेन साह एकलो छन् ।

काठमाडौँको नगरसभामा प्रमुख, उपप्रमुख, ३२ वडा अध्यक्ष, ३२ वटै वडाका जम्मा १ सय २८ सदस्य र नगर कार्यपालिकामा दलित र अल्पसङ्ख्यक समुदायबाट निर्वाचित तीन जना सदस्य गरी जम्मा १ सय ६५ जना हुन्छन् ।

यस्तै कार्यपालिकामा पनि काँग्रेसकै बहुमत बहुमत छ । मेयर, उपमेयर र सबै वडाध्यक्ष कार्यपालिकाको पदेन सदस्य रहने व्यवस्था छ । ३४ जना पदेन सदस्यमध्ये काँग्रेसबाट १९ जना छन् । पदेन सदस्यमा ५५ प्रतिशत उपस्थिति रहेको काँग्रेस थप सदस्य चयनमा पनि हाबी हुने छ ।

नगरभित्रका सबै वडाध्यक्ष नगर कार्यपालिकाका स्वतः सदस्य हुने कानुनी प्रावधान छ । सो नगरको नगरसभाले महिला वडा सदस्यबाट पाँच जना र सोही नगरपालिकामा बसोबास गर्ने दलित वा अल्पसङ्ख्यक समुदायबाट तीन जना निर्वाचित गरेपछि नगर कार्यपालिकाले पूर्णता पाउँछ ।

काठमाडौँ महानगरपालिकाको कार्यपालिकामा एक प्रमुख, एक उपप्रमुख, ३२ वडाका अध्यक्ष (सदस्य), पाँच महिला सदस्य र तीन दलित वा अल्पसङ्ख्यक सदस्य गरी जम्मा ४२ सदस्य हुन्छन् ।

नगरसभामा काँग्रेसको बहुमत भएकोले थप कार्यपालिका सदस्य पनि काँग्रेसकै हुने निश्चित छ । कार्यपालिकामा  एमालेबाट १३ र एकीकृत समाजवादीबाट १ जना सदस्य हुने छन् । यहाँ पनि मेयर साहलाई काँग्रेसको साथ अनिवार्य छ ।

काठमाडौंमा दलहरूको फेरियो पोजिसन

०७४ मा कुल २ लाख ७९ हजार ३०६ मतदाता रहेको काठमाडौं महानगरमा १ लाख ९७ हजार २२७ मत खसेको थियो । यसपटक काठमाडौं महानगरमा  ३ लाख २४२ मतदाता रहेकोमा १ लाख ९१ हजार १८६ मत मात्र खस्यो । २० हजार ९३६ मतदाता बढेको भएपनि विगतको भन्दा ६ हजार ४१ मत कम खसेको हो । काठमाडौं महानगरमा ०७४ को भन्दा अहिले दलहरूको पोजिसन फेरिएको छ ।

काँग्रेस ९३ जना जनप्रतिनिधि जितेर पहिलो पार्टी बनेको छ । काँग्रेसले ५ वडाध्यक्ष र २८ सदस्य थपेको छ । ०७४ मा ११९ सदस्य मात्र चयन भएका थिए । त्यसमा काँग्रेसले ४६ जितेको थियो । अहिले काँग्रेस वडा सदस्य ७४ जितेको छ ।

उपप्रमुख गुमाएको काँग्रेसले मत पनि एमालेलाई उछिनेको छ । पार्टीका सबै वडाध्यक्षका उम्मेदवारले पाएको मत जोड्दा काँग्रेस पहिलो स्थानमा छ । विगतको भन्दा जनप्रतिनिधि र मत दुवै गुमाएर एमाले दोस्रो पार्टी बनेको छ ।  १८ वडाध्यक्ष र ७३ वडा सदस्य जितेको थियो । ६ वडाध्यक्ष र २५ वडा सदस्य पद गुमाएर एमाले दोस्रो स्थानमा छ । ०७४ मा मेयर जितेको एमालेले यसपटक गुमाएको छ । तर काँग्रेसले जितेको उपमेयर भने खोस्न सफल भएको छ ।

एकीकृत समाजवादीले काठमाडौंमा इन्ट्री मार्दा माओवादी निकै खुम्चिएको छ । गत निर्वाचनमा उत्साहजनक मत पाएका विवेकशील साझाको वडाध्यक्षमा ६६० मत मात्र पाएको छ । विवेकशील साझाबाट मेयरकी उम्मेदवार समीक्षा बाँसकोटाले पनि ६४७ मत मात्र पाएकी छन् ।

एमाले जनप्रतिनिधि र मत दुवै गुमायो

एमालेले १, २, ३, ४, ५, १३, १८, २१, २२, २३, ३१ र ३२ गरी १२ वडाध्यक्ष जितेको छ । यस्तै १२८ मध्ये खुला, महिला र दलित महिला गरी ४८ वटा वडा सदस्य जितेको छ । ७४ मा एमाले १, २, ३, ४, ८, ९, १२, १३, १४, १५, १८, २१, २२, २३, २४, २७, ३१ र ३२ गरी १८ वटा वडाध्यक्ष जितेको थियो । यस्तै ७३ वडा सदस्य जितेको थियो  । यस पटक एमालेले ६ वटा वडाध्यक्ष र २५ वडा सदस्य गुमाएको छ ।

०७४ मा एमालेका वडाध्यक्षका उम्मेदवारको मत ७३ हजार १०६ मत आएको थियो । यस पटक एमालेको १० हजार ३३५ मत घटेको छ ।  उसले ६२ हजार ७ सय ७१ मत पाएको थियो । काठमाडौंको १५ र २५ नम्बर वडामा एमाले तेस्रो भएको छ । १५ मा एकीकृत समाजवादी विजयी भएको छ भने दोस्रो मत काँग्रेसले पाएको छ । २५ नम्बरमा काँग्रेसले जित्दा एकीकृत समाजवादीले दोस्रो मत पाएको छ ।

काँग्रेसले पद र मत दुवै थप्यो

काँग्रेस १९ वडाध्यक्ष र ७४ वडा सदस्य जितेर पहिलो पार्टी बनेको छ । काँग्रेसले ६, ७, ८, ९, १०, ११, १२, १४, १६, १७, १८, २०, २४, २५, २६, २७, २८,  २९ र ३० गरी १९ वडाध्यक्ष हात पारेको  हो । महानगरका १२८ सदस्य मध्ये खुला, महिला र दलित महिला सदस्य गरी काँग्रेसले ७४ वटा जितेको छ ।

काँग्रेसले ५, ६, ७, ८, १०, ११, १६, १७, १९, २०, २५, २८, २९ र ३० गरी १४ वडाध्यक्ष जितेको थियो । यस पटक उसले पाँच वडाध्यक्ष थपेको छ । यस्तै काँग्रेसले ४६ वडा सदस्य जितेको थियो । अहिले काँग्रेसले ७४ वडा सदस्य जितेको छ । काँग्रेसले ५ वडाध्यक्ष र २८ सदस्य थपेको छ । उसको मत पनि विगतको भन्दा बढेको छ । ०७४ मा उसले ६५ हजार १४१ मत पाएको थियो । सबै वडाका वडाध्यक्ष (वडा नं. ३२ मा वडाध्यक्ष नहुँदा खुला सदस्य) उम्मेदवारले ६७ हजार ९ सय ९१ मत पाएका छन् । काँग्रेसले वडा नम्बर ३२ मा एकीकृत समाजवादीलाई समर्थन थियो ।

एकीकृत समाजवादीको इन्ट्री

काठमाडौं महानगरमा काँग्रेस र एमाले बाहेक नवगठित एकीकृत समाजवादीले पनि इन्ट्री मारेको छ । अन्य राजनीतिक दलले खाता खोल्न नसके पनि महानगरपालिका – १५ को वडाध्यक्षसहित एकीकृत समाजवादीले ४ सदस्य पनि जितेको छ ।

३२ मध्ये २० वडामा अध्यक्षका उम्मेदवार उठाएको समाजवादीले १४ हजार २ सय २५ मत पाएको छ । बाँकी १० वडामा कतै काँग्रेस र कतै माओवादी केन्द्रका उम्मेदवारलाई समाजवादीको समर्थन थियो । जनप्रतिनिधि र मत दुवैमा एकीकृत समाजवादी काठमाडौंमा तेस्रो पार्टी बनेको छ ।

माओवादी २ हजार मतमा सीमित

काठमाडौं महानगरपालिका १६ वटाको अध्यक्षमा उम्मेदवारी दिएको माओवादी केन्द्रले २ हजार २४३ मत पाएको छ । महानगरका ३२ वडामध्ये ३१ नम्बर वडामा मात्र माओवादीले तेस्रो मत पाएको छ । ०७४ मा ३२ वटै वडामा वडाध्यक्षका उम्मेदवार खडा गरेको माओवादी केन्द्रले १३ हजार ७३८ मत पाएको थियो ।

राप्रपाले थप्यो २ हजार मत, विवेकशीलको बिजोग

काठमाडौंका बत्तिसै वडामा उम्मेदवारी दिएको राप्रपाले १२ हजार ४५० मत पाएको छ । महानगरका ६ वटा वडामा मात्र अध्यक्षका उम्मेदवार उठाएको विवेकशील साझाले  ६६० मत पाएको छ ।  ०७४ मा राप्रपाले  ११ हजार १९७ मत पाएको थियो । राप्रपाले यसपटक १२५३ मत थपेको छ । यस्तै विवेकशील साझाको काठमाडौंमा यस पटक चुनावमा बिजोग भयो ।

गत निर्वाचनमा उत्साहजनक मत पाएका विवेकशील साझाको वडाध्यक्षमा ६६० मत मात्र पाएको छ । विवेकशील साझाबाट मेयरकी उम्मेदवार समीक्षा बाँसकोटाले पनि ६४७ मत मात्र पाएकी छन् । विवेकशील साझाका (तत्कालीन विवेकशील नेपाली दल) रञ्जु दर्शनाले २३ हजार ४३९ पाएकी थिइन् भने । यस्तै स्वतन्त्रमा चुनाव लडेर विवेकशील साझामा पुगेका किशोर थापाले १८ हजार ४ ९६ मत पाएका थिए ।

साझा र विवेकशील नेपाली दल मिलेर बनेको विवेकशील साझाबाट पछिल्लो समय रञ्जु दर्शना बाहिरिए पनि किशोर थापा पार्टीमै छन् । तर विवेकशील साझाले यस पटक हजार मत समेत कटाउन सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप