ad
x
पुस्तक चर्चा

मातृभूमि प्रेमले भरिएको कृति ‘शाश्वत’

person explore access_timeजेठ १४, २०७९ chat_bubble_outline0

हरेक व्यक्तिका भोगाइका आआफ्नै अनुभूति हुन्छन् । ती अनुभूतिलाई शब्दपुष्पमा गुथेर साहित्य सिर्जना गर्ने व्यक्ति सीमित हुन्छन् । अझ आफ्ना हरेक अनुभूतिलाई विम्वात्मक रूपमा पाठकसमक्ष पस्कनु त्यति सहज छैन । कमै व्यक्तिले मात्र अनुभूतिको कलात्मक–विम्बात्मक अभिव्यक्ति दिन सक्छन् । तीमध्ये एक हुन्– कवि रवीन्द्रभक्त श्रेष्ठ । 


धनकुटाको माथिल्लो कोप्चेमा जन्मिएको रवीन्द्रभक्त श्रेष्ठ पेसाले फोटोग्राफर हुन् । तर जीवन निर्वाहका क्रममा उनी धनकुटा, काठमाडौं हुँदै अहिले अमेरिकाको भर्जिनियामा सपरिवार बस्दै आएका छन् । पिता नै आफ्ना पहिलो गुरु बताउने उनको कविता सिर्जनाको प्रेरणाको स्रोत भने पत्नी मीना जोशी रहेको बताउँछन् । भन्छन्, “मेरो कविताको पहिलो श्रोता मेरी श्रीमती रजनी श्रेष्ठ नै हुन्थिन् । उनले मलाई पनि साहित्यिक गोष्ठीहरूमा लान थालिन् । मलाई पनि कविता लेख्न अनुरोध गर्थिन् । समय पछ्याउँदै जाँदा मलाई पनि कविता लेख्न उत्सुकता जाग्दै गयो ।” यस क्रममा उनी ठाउँ ठाउँमा हुने कवि गोष्ठी, कविता प्रतियोगिता जस्ता कार्यक्रममा भाग लिन पुगे र यो कविता सङ्ग्रहको ठेली तयार भयो । 



विभिन्न समय र सन्दर्भमा आफ्ना अनुभूतिहरू कवितामार्फत् व्यक्त गर्दै जाँदा तथा साथीहरूले दिएको प्रेरणा र प्रोत्साहनस्वरूप उनले त्यसलाई कृतिको रूप दिए । त्यही कृति हो– शास्वत कविता सङ्ग्रह, जसलाई एपेक नेपाल, काठमाडौंले प्रकाशनमा ल्याएको छ । 



श्रेष्ठले यस कविता सङ्ग्रहको नाम उनको पहिलो कविताबाट राखेका छन् । यस कवितामा उनले मृत्युलाई सबैले स्वीकार्नै पर्ने र यसबाट कोही टाढा हुन नसक्ने भाव प्रस्तुत गरेका छन् । 



हरेक जीवन यात्रामा 
मृत्यु एक शाश्वत सत्य
जानी नजानी जीवन हतारमै कुदिरहन्छ
सबैभन्दा पहिला गन्तव्यमा पुग्न 
भागदौड गरिरहन्छ
कुन गन्तव्यमा पुग्छ यात्री
कुन गुफामा अलमलिन्छ
सबै अनभिज्ञ छ ।



मानिस हतारमा छ तर कहाँ दौडिरहेको आफैँलाई थाहा छैन भन्छन् कवि । मानिस जति दौडिए पनि टुङ्गिने त पूर्णविराममा नै हो भन्छन् उनी । 



परदेशमा बस्दा आफ्नो बाल्यकाल र मातृभूमिको  यादहरू धेरै आएको कुरा ‘क्षितिज पारीको पूर्व’ कवितामा प्रस्तुत गरेका छन् । आफू हुर्किएको समाज, संस्कृति र आमाबुबाको मायालाई विम्बात्मक रूपमा यस कवितामा प्रकट गरेका छन् ।  

वर्तमानलाई आमाको मजेत्रोले पोको पारी 
खोपीमा सुटुक्क लुकाएर
क्षितिजमा खाली खुट्टाले टेक्दै 
खुरुखुरु हिँड्न मन गर्दैछ
आफ्नै माटोमा रङ्गिँदै धुल्लिने मन गर्दैछ
गोठमै बाछासँगै आनन्दले 
ढल्केर सुत्ने इच्छा छ
बाबाले हत्केलाभरि नौनी दिँदा 
खाएर नअघाई हात चोटेको सम्झनाले...

समाज र संस्कृतिको चित्रण मात्र होइन, कविले ‘मेरो जन्मस्थानको सम्झना’ शीर्षकको कवितामा आफ्नो जन्मस्थान, जन्मभूमिको परिवेशको भावले मस्तिष्क छपक्कै भिजेको कुरा व्यक्त गरेका छन् । सल्लेरी, धनकुटा बजार, हुलाक टोल, तमोर नदी, खोलाको दोभान, माछाको सम्झनाले पनि उनलाई त्यतिकै सताएको छ । नेपालको प्रकृति, वनस्पति र जातजातिका संस्कारलाई यसरी प्रस्तुत गरेका छन् कविले । 

सुनगाभा फूलहरूको सुवासको मगमगी
कान्छी तामाङ्नीले सिलाबरे बटुकोमा 
दुई हातले सम्मानसँग दिएको जाँड पिउँदै
भरियाले गह्रुँगो बनाएको क्षण
गोधूलीको रसङ्गीन र रमणीय दृश्य....

यसरी नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक वातावरणको मिठासले कविलाई तानिरहेको छ । यहाँको खानपान र भेषभूषाप्रति अक्षुण्ण प्रेम छ उनमा ।    

विश्वको सबैभन्दा विकसित मुलुकमा बसे पनि कविलाई नेपालको माटो प्यारो लागेको छ । नेपालको गोबर, भकारो नै प्यारो लागेको छ । बाबाले दिएको नौनीको डल्ला नै कविलाई मीठो लागेको कुरा यस कवितामार्फत् व्यक्त गरेका छन् ।  

उनका कविता देशप्रेमले ओतप्रोत छन् । आफ्नो मातृभूमि नेपालको हिमाल, पहाड, तराईको भौगोलिक सुन्दरताको विम्बात्मक चित्रण गरेका छन् । त्यसको विशिष्ट उदाहरण हो, यस कविता सङ्ग्रहभित्र रहेको आमा कविता । यसमा कविले मातृभूमिलाई आमासँग तुलना गरी नेपालको परिचय गराएका छन् । 
मेरी आमा
अमर छौ
अटल छौ
त्यो पहाड
आमाको छाती ढाल बनेको छ
वात्सल्य प्यारमा 
त्यो मधेस, काख 
सुन्दर विशाल 
लाग्छ मेरो मनमा 
सेताम्मे हिमाल आमाको केशराशि
म देख्छु टल्किरहन्छ । 

यो मात्र होइन, उनका अधिकांश कविता मातृभूमिप्रति समर्पित छन् । उनको गुमनाम कविताले जनताको पीडा व्यक्त गरेको छ । जनताले तिरेको करमा रजगज गर्ने, जनताको पौरखमाथि जथाभावी गर्ने नेतालाई उनले तीखो व्यङ्ग्य गरेका छन् । राजनीतिको खोल ओडेर कहिले स्वतन्त्रता, कहिले प्रजातन्त्र, कहिले जातीय आधारमा देशको भौगोलिक विभाजन र कहिले गणतन्त्र भन्दै जनता झुक्याउने नेतालाई उनी गाली गर्छन् । 

‘आगो’ यस सङ्ग्रहको अन्तिम कविता हो । उनले आफ्नो सिर्जना कलमको निबबाट आगोझैँ फैलिरहेको र आफू त्यसैमा विलीन हुँदै गएको कुरा व्यक्त गरेका छन् । 

कवि रवीन्द्र श्रेष्ठ अमेरिकामा बसेर मातृभूमिप्रति अगाध प्रेम गर्ने कवि हुन् । यस कविता सङ्ग्रहमा उनको आफ्नो गाउँ, परिवेश, संस्कार, संस्कृति र भूगोलबारेका अनुभूतिहरू कवितामार्फत पोखिएर आएका छन् । यसले जहाँ बसे पनि आफ्नो भाषा संस्कृतिको सम्मान र आदर गर्नुपर्ने उनको विचार झल्किन्छ ।
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।