शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

सेतो टिसर्ट लगाउने त्यो केटी

शनिबार, १४ जेठ २०७९, ०४ : ५४
शनिबार, १४ जेठ २०७९

एउटा सेतो टिसर्ट घरी पानीको जारतिर, घरी ग्याँस चुल्होतिर लाग्छ, घरी सोफामा आएर बस्छ । त्यो त्यही टिसर्ट थियो, जो हिजो बेलुका उनले लगाएर सुतेकी थिइन् । टिसर्ट थियो तर त्यो टिसर्ट लगाउने मान्छेको शरीर थिएन । टिसर्ट मात्रै यता र उता गरिरहेको थियो । यो भयानक दृश्यको सामना गर्नुपर्ला भनेर हामी दाजुभाइले कल्पनै गरेका थिएनौँ । हामी डरले एकै डल्लो पर्यौं ।

मेरो दाईको एकजना केटी साथी थिइन् सुन्दर, सुशील र व्यवहारिक । म दाईलाई ‘मेरो भाउजु उनै हुन् ?’ भनेर प्रश्न गर्थे तर दाइले साथी मात्र हो भन्थ्यो । तर ‘साथी मात्रै हो र ?’ भन्ने कुरामा उ आफै दोधारमा थियो । गर्लफ्रेन्ड भनौँ ‘आइ लभ यु, साइ लभ यु’ केही छैन । तर उनको केयर गर्ने स्वभाव कुनै प्रेमिकाको भन्दा कम नभएको दाइ सुनाउँथ्यो । अब यसलाई लभ पर्ने प्रक्रिया थियो भनेर बुझेका थियौँ हामीले । 

एकदिन दाईले उनलाई कोठामा लिएर आयो । हामी दाजुभाइको एक कोठा एक विस्तारा र त्यही कोठामा सानो किचन र्‍याक थियो । दाइले के सोचेर उसलाई कोठामा ल्यायो मैले सोच्नै सकिन । खबर गरेको भए म त्यो रात साथीको कोठामा गएर बस्दिन्थे । उसले केही नभनी कोठामा केटीसाथी लिएर आयो । मेरो मनमा धेरै पटक पराकम्पन आयो । यही कुरा सम्झेर सुत्ने कसरी हो, हामी तिनै जना एउटै कोठामा ? यिनी दाइकी साथीलाई हाम्रो डेरामा एउटा मात्र कोठा, एउटा मात्र खाट छ भन्ने थाहा थियो कि थिएन ? अनेकथरी सोच्दासोच्दै खाना तयार भयो । त्यो दिन उनैले खाना बनाइन्, मीठो बनाइन् । तर मेरो मनमा सुत्ने कुरालाई लिएर हुण्डरी खेल्न छोडिरहेको थिएन । 

उनी जिन्सको वेली पाइन्ट र सिर्ट लगाएर आएकी थिइन् । सुत्ने बेलामा उनलाई त्यो ड्रेस असहज भएको थियो । दाइले कुरा बुझेर आफ्नो सेतो रङको टिसर्ट लगाएर सुत्न भन्यो । उनले त्यसै गरिन् । दाइको टिसर्ट उनलाई वानपिस जस्तै देखियो । उनी अलि सानी कदकी दाइ अलि ठुलो ज्यान परेको । दाइको टिसर्ट लगाएपछि उनलाई अरु लुगा लगाउन परेन । लुगाको विषयलाई लिएर एकछिन् हामी सबैजना निकै हाँस्यौ पनि । 

दाइले डेराबारे सबै कुरा भनेर ल्याएको रहेछ । कोठामा एउटा लामो सोफा थियो, उनी एउटा ओढ्ने लिएर चुपचाप सोफामा गएर पल्टिन् । यत्रोबेर मेरो मनमा आएको हुण्डरी बेकार गयो । यसरी पनि त व्यवस्थापन गर्न सकिने रहेछ । दाइ र म सधैंझैं आफ्नै विस्तरामा सुत्यौ । बत्ती निभाएर पनि हामी तिनजना निकैबेर गफ गर्यौ तर कतिबेला निदाएछौ पत्तै पाएनौ ।  

सुतेको धेरै बेर भएको थिएन । उज्यालो भैसक्ने बेला भएको जस्तो पनि लागेको छैन । मलाई निद्रा पुगेकै थिएन, दाइले कानमा सानो स्वरमा ‘ओइ केटा उठ् न,’ भनेको जस्तो लाग्यो । मलाई यसरी सासले बोल्ने बानी मनै पर्दैन । उसलाई मेरो बानी थाहा थियो तर किन यसरी बोलायो ? दाइले त्यसरी नै दुइ तीन चोटी बोलाएपछि म ब्यँुझिए । दाइले मेरो मुख हातले बन्द गरिदियो  । सायद म नच्चियाओस् भन्ने उसको मनसाय हुनुपर्छ । अब यो आधा रातमा के तमासा गर्या होला भनेर मलाई रिस उठ्यो । उसले मलाई किचन र्याकतिर हेर्न लगायो । एउटा सेतो टिसर्ट कोठामा यता र उता गरिरहेको थियो । भूत हुन्छ भन्ने कुरा कहिले पत्यार लागेको थिएन । यसरी दिनमा पनि हामीसँगै खाएको बोलेको मान्छेले रातमा यो रूप देखाउला भन्ने आम मान्छेले कसरी सोच्ला ? घडी हेरेको समयले बिहानको ३ बजाएको थियो । 

त्यो अन्धकार रातमा कोठामा बत्ती नबालेर खानेकुरा पकाएर कसले खान्छ ? उनले के खानेकुरा पकाएर खाएकी थिइन् ? हिजो हामीसँग हाँस्दै, गफ गर्दै मीठो खाना पकाएर खुवाउने केटी खोइ ? त्यो सेतो टिसर्टले आधा रातमा चप्याक–चप्याक आवाज आउने गरी के चपाइरहेको छ ? हामीसँग कुनै प्रश्नको जवाफ थिएन । यतिविधि माया साधारण केटीले गर्नै सक्दैन भनेर दाइलाई मैले भनेकै थिएँ । सामान्य केटी मान्छेमा रिस हुन्छ, क्रोध हुन्छ, नोकझोक हुन्छ । यिनीसँग केही छैन, किन छैन ? मान्छे भए पो हुन्छ ? तर यो हदसम्मको आत्माकै फेला पर्ला मेरो दाइ भन्ने लागेको थिएन । मैले दाइका एक्स गर्लफे्रण्डहरु सम्झे । मर्नु न बाँच्नु बनाएर दाइले आजसम्म कुनै केटीलाई धोका दिएको त छैन ? छैन, छैन बरु मेरै दाइलाई छाडेर गएका हुन् पापिनीहरुले । मायाप्रेममा दाइ पीडित हो । 

यदि यसो हो भने यो आत्माले दाइको किन यसरी पिछा गरेकी ? यसले दाइलाई मात्रै मार्छे कि मलाई नि मार्छे ? हामीलाई आजै राती मार्छे कि अझै केही समय मायाको नाटक देखाएर मार्छे ? बस्, प्रश्नै प्रश्नले घेरेको थियो । दाजुभाइ डरले बोल्न सकेनांै । हाम्रो आवाज बन्द भएको थियो । उनले थाहा पाउलिन र केही दुर्घटना हुने होकि भन्ने डरले राम्रोसँग सास फेर्न पनि सकेनौ । उनीतिर फर्केर हेर्ने हिम्मत जुटाउन सकिएन । मरिएछ भनेपनि सँगै मरिएला भनेर दाजुभाइ एकै डल्लो परेर भित्तातिर फर्केर सुत्यौ । के सुत्यौ भन्नु सुते जस्तो गरियो । बिहानसम्म यो सेतो टिसर्टले जिउँदै राख्यो भने भोलि त्यसलाइ मारिदिन्छु, मनमा यस्तै कुराहरु खेलिरह्यो । डरले सीमा नाघेपछि रात कट्न समय लाग्ने रहेछ । बिहानको घडी धेरै ढिलो घुमे जस्तो लाग्यो । 

बिहान हामी दाजुभाइ सँगसँगै जसो उठ्यौं । के उठियो भन्नु, उठे जस्तो गरियो । उनले सेतो टिसर्ट चेन्ज गरेर आफ्नो लुगा लगाएर बसिरहेकी थिइन् । रातभरी हाम्रो सातो खाएकी उनी बिहानपख आफै पो रिसले क्रोधित थिइन् । हामीले उनलाई यो भन्दा अगाडि कहिल्यै रिसाएको देखेका थिएनौ । ‘यो हामी जस्तो सामान्य मान्छे होइन दाइ, कुरा गर’ भनेर मैले पछाडिबाट चिमोटे । 

दाइले सोध्यो, ‘नढाँटी भन, तिमी को हौ ?’

उनले रिसाउँदै भनिन्, ‘कस्तो को हौ, म म नै हुँ ।’

‘राती के गरेकी थियौ ?’ 

उनी अचम्म परेजस्तै गरिन् र भनिन्, ‘के गरे र मैलै ?’

दाइले रिसाउँदै भन्यो, ‘राती तिमी थिएनौ । मेरो टिसर्ट मात्र थियो, भन तिमी को हौ ?’

उनले बल्ल मेसो पाइन् । अन्धकार रातमा उनीहरुले मेरो शरीर देखेनछन् र सेतो टिसर्ट मात्र देखेछन् । उनीहरुको कुरा सुनेर उनी बेस्सरी हाँस्दै भनिन्, ‘मलाई रातीमा भोक लाग्छ । ब्यागमा चाउचाउ बोकेर ल्याएकी थिएँ । पकाउन अल्छी लाग्यो अनि पानीसँग खाए । तपाईंहरुलाई डिस्टर्ब होला भनेर बत्ती पनि बालिन ।’ 

उनको कुरा सुनेर ज्यानमा सास आएपनि रिस उठ्न भने छोडेन । कस्तो डंकिनी, बोक्सीनी, पिचास जस्ती आधा रातमा भोक लाग्ने ? मेरो साथी भएको उठ्ने बित्तिकै गालैगालामा चड्काइदिन्थे तर दाइको साथी भनेर हात बाँधेर बस्नु पर्यो । यस्ता थर्ड क्लासको मान्छेसँग दाइले के संगत गर्या होला ? बिहान उठ्ने बित्तिकै निस्केर जा किन नभनेको होला ? अब आइन्दा यो केटीलाई कोठामा बोलायो भने म छुट्टै डेरा लिएर बस्छु । अब यो केटीसँग संगतै गर्न दिन्न । 

रातभरी हाम्रो निद्रा हराम गरेर बिहान उनले अर्को चर्को आरोप हामी दाजुभाइलाई लगाइन् । भनिन्, ‘म यत्रो महिनादेखि आफ्नो प्रेम दर्शाइ रहेको छु । तर यो मान्छेले किन मेरो कुरा खाँदैन भन्ने कुरा आज आएर बल्ल बुझे । मेरो प्रेम किन स्वीकार हुन्न भनेको त केटी नै पो मन नपर्ने रहेछ तिमीलाई । हे भगवान्, कस्तो को पछि लागेछु, जसलाई केटी नै मन पर्दैन ।’ 

दाइले केही भन्न खोज्दै थियो । उनी अझ चर्किइन्, ‘तिमीहरु दाजुभाइ ‘गे’ रहेछौ । अंगालो हालेर एकै डल्लो परेर सुत्ने ? पार्टनर खोज्न गाह्रो भएर होला है दाजुभाइ नै एकै गाँठो पारेर सुतेको ? केटी मन परेन, त्यो आफ्नो ठाउँमा छ । कमसेकम दाजुभाइबीच त यस्तो सम्बन्ध बनाउन हुँदैन नि,’ यसो भन्दै उनले टाउकोमा हात राखिन् । 

उनको कुरा सुनेर हामी तीनछक्क पर्यौ । दाजुभाइ एकले अर्कोलाई हेर्दै आँखै आँखाले बोल्यौ र भन्यांै, रातभरी हामी भूतको डरले एकै डल्लो पर्यौ । ‘गे’ को आरोप लगाउने यिनलाई के थाहा, हामीलाई केटी नै मन पर्छ भन्ने कुरा । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप