बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

चिनीको आपूर्ति सहज बनाउन सरकारलाई मञ्चको आग्रह

शुक्रबार, १३ जेठ २०७९, २१ : २४
शुक्रबार, १३ जेठ २०७९

राष्ट्रिय उपभोक्ता मञ्चले चिनीको आपूर्तिमा देखिन सक्ने अभावलाई समयमै सम्बोधन गर्न सरकार समक्ष आग्रह गरेको छ । मञ्चले प्रधानमन्त्रीलाई पत्र लेख्दै भारतले चिनीको निर्यात रोक्दा नेपालमा पर्ने आपूर्ति प्रभावलाई छिट्टै सम्बोधन गर्न आग्रह गरेको हो ।

‘भारतबाट नेपालको अधिकांश माग पूर्ति गर्दै आएको चिनीको निर्यातमा प्रतिबन्ध लाग्नासाथ नेपाली बजारमा चिनीको मूल्य स्वभाविक रुपमा बढ्ने निश्चित नै छ,’ मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, ‘खाद्य तेलको आपूर्ति तथा बिक्री वितरणमा गरेको सुधारले नेपालबाट तेलको अवैध चोरी निकासी हुने प्रवल सम्भावना बढेको छ ।’ जसकारण, नेपाली बजारमा यी पदार्थहरूको अभाव त हुन्छ नै अर्कोतिर सरकारले उठाउँदै आएको राजस्व पनि गुम्ने अवस्था आउनेछ ।

उपरोक्त विषयमा अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका साथै अन्य विभिन्न कारणले नेपाली बजारमा दैनिक उपभोग्य वस्तु तथा सेवामा अत्याधिक महँगी बढी रहेको छ । हरेक सेवा तथा वस्तुमा भएको मूल्यवृद्धिले नेपाली जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ । विशेषगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिले पीडा दिन थालेको यसैका कारण सारा विश्वलाई पिरोलिन थालेको कुरा सर्वत्र महसुस गरेकै हो ।

विश्वव्यापी रुपमा बढेको मूल्य वृद्धिलाई न्यूनिकरण गर्नका लागि विभिन्न देशले आफनो देश र जनताको आवश्यकताको आधारमा विभिन्न राहतका प्याकेजहरु घोषणा गर्दै जनतालाई सुविधा दिन थालिसकेको छ । उदाहरणकै रुपमा भर्खरै भारत सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको अन्तःशुल्क हटाउने निर्णय गरेको छ । खाद्य तेल (भटमास, वनस्पति र सनफ्लावर) तेलमा लाग्दै आएको आयात शुल्क शून्य दरमा झारेको, ५ प्रतिशत जिएसटी लाग्दै आएकोमा पूरै हटाएको र चिनीको निर्यातमा प्रतिबन्धात्मक व्यवस्था लागू गरेको छ । जसले भारतका आम नागरिकलाई ठूलो राहत पाउने भएको छ भने सोही कारणले नेपालमा अझै मूल्यवृद्धि हुने संकेत देखापरेको छ ।

यही कारण मञ्चले सरकारलाई बजारमा आपूर्ति व्यवस्था सहज बनाइ राख्नका लागि स्वदेशी उद्योगहरुलाई तत्काल नै विशेष सुविधा दिएर खाद्य तेल लगायत अन्य कृषिजन्य उत्पादन गर्न प्रोत्साहित गर्न सुझाव दिएको छ । त्यस्तै केही समयका लागि स्वदेशी उत्पादनमा लाग्दै आएको बिभिन्न करहरूमा पुनरावलोकन गर्ने र विदेशबाट आयत गरी आपूर्ति गर्नुपर्ने दैनिक अत्यावश्यकहरुमा करको दरमा सुधार गर्ने र हटाउने कार्य गरी उपभोक्तामुखी बनाउन समेत मञ्चले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप